दलित बस्तीमा छायो खुशीयाली
छोइछिटोको पीडाबाट मुक्ति, गाग्री बोक्नुपर्ने बाध्यता टर्यो,
महिलाहरू हर्षित, रातको समयमा संकलित पानीले सिँचाइ
सहारे (सुर्खेत), २९ फागुन ।
गाउँदेखि टाढा रहेको एक मात्र पानीको मुहान । सबैलाई उछिनेर मुहानमा नपुगे पानी भर्ने पालो नपाइने । समयमै पुगेर पानी भर्दा आफ्नै छिमेकीले नै छोइछिटो गर्ने । त्यतिमात्र होइन, पहिले नै पानी भरेको दिन त छिमेकीको दुव्र्यवहार सहनुपर्ने बाध्यता । सुर्खेतको सहारेस्थित दमारगाउँमा रहेको दलित बस्तीले खानेपानीका लागि वर्षौसम्म यो भन्दा ठूला पीडा भोग्यो ।
घण्टौ लगाएर मुहानमा पानी लिन पुगे पनि दलित भएकै कारण गैरदलितहरूले सहज रूपमा पानी भर्न दिएनन् । पानी छोएको, कुवा धमिलो बनाएको र आफूहरू भन्दा पहिले नै मुहानमा आएको भन्दै छिमेकीले दुव्र्यवहार मात्र गरेनन्, मुहानको पानी नै बहिस्कार गर्थे । तर वर्षौंपछि यो दलित बस्तीले पानीकै लागि छिमेकीले गर्ने दुव्र्यवहार र छोइछिटोबाट भने मुक्ति पाएको छ । कारण अहिले दलित बस्तीमै खानेपानीका धारा निर्माण भएका छन् । छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेको दलित वस्तीको अहिले मुहार नै उज्यालो बनेको छ । एक महिनादेखि आफ्नै आँगनमा धाराको पानी भर्न पाएपछि दलित बस्तीमा खुशीयाली छाएको हो ।
‘एक घण्टा लगाएर पानी ल्याउनुपथ्र्यो, पानीका लागि छिमेकीसँग सधैं झगडा हुन्थ्यो’ दमारगाउँ निवासी जैसरा कामीले भनिन्, ‘हामीले पहिला नै पानी भरेको दिन त छिमेकीले पानी नै बहिस्कार गर्थे, मुहानमा छोएको र धमिलो बनाएको भन्दै गाली गर्थे ।’ हिजोआज आँगनमै धारा बनेको र पानीका लागि धाउनुपर्ने बाध्यता टरेको भन्दै उनले खुशीका दिन सुरु भएको बताइन् । आँगनमै रहेको धारामा पानी भर्दै गरेकी उनले थपिन्, ‘दलित भनेर हेला गर्थे, पानी भर्न निकै मुस्किल हुन्थ्यो । अहिले त हाम्रो बस्तीमा तीन वटा धारा बनेका छन्, अब पानीका लागि कसैसँग झगडा गर्नुपर्ने अवस्था छैन ।’ बस्तीका सबैले पानीका लागि निकै कष्ट भोगको सुनाउँदै उनले आफूहरूका सुखका दिन फिरेको भन्दै सबैभन्दा महिलाहरूलाई सजिलो भएको उल्लेख गरिन् ।
यो दलित बस्तीमा अहिले २० परिवार बसोबास गरिरहेका छन् । उत्पादन नहुने र खानेपानीकै लागि संघर्ष गर्दै आएको दलित बस्तीमा तीन वटा आधुनिक धारा निर्माण गरिएको छ । ती धारामा दुवैतर्फ पानी भर्न मिल्ने सुविधा रहेको छ । स्थानीय ममता चुनाराले भनिन्, ‘पानीका लागि धेरै दुःख पायौं, गाग्री बोकेर घण्टौसम्म धाउनुपथ्र्यो । अहिले भने आँगनमै धारा छन्, बारीमा तरकारीलाई सिँचाइ गर्न समेत पुगेको छ ।’ विगतमा आफूहरूले पानीकै लागि धाउँदा घरको अन्य काम छुट्ने गरेको र बालबालिकालाई स्कुलको साटो पानीको जोहो गर्न पठाउने गरेको उनले स्मरण गरिन् । ‘म मात्र होइन, पुरै बस्ती नै पीडित थियो’ धारामा पानी भर्न पाउँदा खुशी हुँदै उनले भनिन्, ‘अहिले त आफ्नै धारा छन्, कसैसँग झुक्नु परेको छैन । हामी पीडाबाट मुक्त भएका छौं, अहिले पुरै बस्तीको मुहार नै उज्यालो भएको छ ।’
खानेपानीका लागि धेरैले आश्वासन दिए । चुनावमा मत माग्न आउनेहरू पनि बस्तीमा फिर्ता भएनन् । पुरुषहरू मजदुरीका लागि भारत जाने भएकाले गाउँमा महिला र बालबालिका मात्र । कसैले आफ्नो पीडा नसुनेपछि स्थानीय महिलाहरूको नेतृत्वमा गाविसमा धारा माग गरे । गाविसको सहजीकरणमा सुन्दर नेपाल संस्थाले खानेपानीको लागि आर्थिक सहयोग उपलब्ध गरायो । संस्थाको एक लाख ९६ हजार रकम र स्थानीयकै जनश्रमदानको बलमा बस्तीमा खानेपानी आएको हो । स्थानीयकै सक्रियतामा तीन वटा धारा, पानी संकलन गर्ने ट्यांकी र अन्य पूर्वाधार निर्माण गरिएको छ । तिरतिरेपाखा बहुउदेश्यीय खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयको मुहारमा खुशीयाली छाएको छ । अहिले रातको समयमा संकलन भएको पानी स्थानीयले पालैपालो तरकारी खेतीमा सिँचाइ गर्दै आएका छन् । यसले तरकारी उत्पादनमा समेत वृद्धि भएको छ ।
जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदायहरू बढी जोखिममा रहेको र आफूहरूले दलित बस्तीमा खानेपानी आयोजना सम्पन्न गर्न सहयोग गरेको सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले बताए । उनका अनुसार स्थानीयले माग गरेपछि सहयोग उपलब्ध गराइएको हो । अनुकूलन परियोजना अन्तर्गत खानेपानी आयोजना सम्पन्न भएको भन्दै कँडेलले धारा निर्माण भएपछि दलित बस्तीमा खानेपानी संकट टरेको जनाए । खानेपानीको समस्या समाधान भएसँग यो बस्तीको शिर ठाडो बनेको उनको भनाइ छ । उनका अनुसार खानेपानी र सिँचाइमा प्रयोग गर्न मिल्नेगरी आयोजनाको काम सम्पन्न भएको हो । खानेपानीको सहजतासँगै स्थानीयले आयआर्जनका काममा सहभागिता जनाउन थालेका छन् । यसले उनीहरूको आयस्रोतसमेत बढेको उनले दाबी गरे ।
साझा बिसौनी ।