‘गणितमा जान्ने थिएँ, अंग्रेजीमा कमजोर’

सीता नेपाली सांसद हुन् । वि.सं. २०७० को संविधानसभा निर्वाचनमार्फत् समानुपातिकतर्फबाट उनी सांसद बनेकी हुन् । यसका साथै उनी नेकपा माओवादी केन्द्रकी राजनीतिक परिषद् सदस्य समेत छिन् । विद्यार्थीकालदेखि नै राजनीति सुरु गरेकी नेपालीले पार्टीको महिला संगठन, जिल्ला तह हुँदै केन्द्रमा पुग्न सफल बनिन् । वि.सं. २०३१ माघ १७ गते वीरेन्द्रनगर–७ ईत्राममा बुबा लोकबहादुर नेपाली र आमा सोवीसरा नेपालीको कान्छी छोरीको रूपमा जन्मिएकी नेपालीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेकी छिन् ः

मेरो जन्म एउटा समान्य किसान परिवारमा भयो । हाम्रो ठूलो परिवार थियो । बुबा कट्वाले काम गर्नुहुन्थ्यो । सानोमा दुःख भोग्नु परेन । खेतीले खाने पुगिहाल्थ्यो । हामी ६ भाइबहिनी थियौं । म सबैभन्दा कान्छी हुँ । बाल्यकाल रमाइलोसँग बित्यो । सानो छँदा धेरै बिरामी हुन्थें रे । पाँच वर्षको हुने बेलासम्म बिरामी भएर आमालाई सताएँ । मलाई निमोनिया हुन्थ्यो रे । बिरामी हुँदा धेरै पटक अस्पताल बस्नुपरेको आमाले भन्नुहुन्थ्यो । मलाई पनि सम्झना छ । बिरामी भएर १७ दिनसम्म अस्पतालमा बसेको ।
६ वर्ष पुगेपछि विद्यालय पढ्न सुरु गरें । अंगे्रजी विषय बाहेक अरु विषयमा पढाइ राम्रो थियो । कक्षा ४ बाट मात्र अंग्रेजी पढाइ हुन्थ्यो । त्यसकारणले पनि होला अंग्रेजी भनेपछि पढ्न मन जाँदैनथ्यो । अंग्रेजी पढाउने सर कडा स्वभावको हुनुहुन्थ्यो । गणितमा भने जान्ने थिएँ । विद्यालय पढ्दा मैले श्रीकृष्ण संस्कृत तथा साधारण मावि ईत्रामा पढेको हुँ । १ कक्षामा पढ्दाको याद अझै पनि आउँछ । त्यसबेला लिखित हुन्थेन् । मौखिक परीक्षा हुन्थ्यो । सरले मलाई हाम्रो देशको राजा को हो भनेर प्रश्न सोध्दा मैले श्री ५ वीरेन्द्रविक्रम… हो भनेर धेरै पटक विक्रम भनेको याद आउँछ । कक्षा पाँचसम्म दिदी र मसँगै पढेको थियौं । म कक्षा पाँचमा फेल भएँ । खासमा दिदी फेल भएर म पास भएको थिएँ रे । दिदी म भन्दा ठूलो भएकोले उहाँलाई पास गराउनु परेर मलाई फेल गराएको भनेर अंकलले सम्झाउनुभयो । मेरो अकंल सोही विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । मैले फेरि दिदीलाई सात कक्षामा भेटाएँ । शिक्षा क्याम्पसबाट टिचिङ्गका लागि विद्यार्थीहरू जान्थे । उनीहरूले शैक्षिक सामग्रीहरू प्रयोग गरेर पढाउँथे । उनीहरूले पढाउँदा अलि बुझेको जस्तो लाग्थ्यो । ४५ दिनसम्म उनीहरूले पढाउँथे । कक्षा ४ मा पढ्दा हो । सामाजिक शिक्षा पढाउने सरले ४५ दिनपछि परीक्षा लिनुभयो त्यसबेला म र एक जना साथी प्रथम भएका थियौं । सरले हामीलाई बराबर अंक आएको कारण प्रथम भएको भन्नुभयो । कपी पुरस्कार दिनुभयो । सरले हाम्रो फोटो पनि खिचिदिनुभएको थियो । प्रथम हुँदा अझै मेहेनत गरेर पढ्नुपर्छ भन्ने प्रेरणा जागेको थियो ।
विद्यालयमा रहँदा हामी स्काउटमा आवद्ध थियौं । स्काउटमार्फत् विभिन्न कार्यक्रमहरूमा भाग लिने गथ्यौं । स्काउटको डे«स लगाउँदा गर्वको महसुस हुन्थ्यो । विशेष गरेर राजाको जन्मोत्सवको बेला र राजाको सवारीको बेलामा कार्यक्रममा सहभागी हुन्थ्यौं । २०४५ सालमा सुर्खेतमा राजाको सवारी हुँदा नजिकबाट देख्न पाउँदा खुशीको सीमा नै थिएन् । मार्चपास गरेर देखाउनुपथ्र्यो । राजाको नाममात्र सुनेका थियौं । यसरी राजाको अगाडि मार्चपास र पिटी खेल्दा आफूलाई धेरै ठूलो काम गरेको जस्तो लाग्थ्यो । त्यसबेला अहिलेको जस्तो टिभीको जमाना थिएन । राजा आउँदा डकुमेन्ट्री देखाउने गर्थे हामी हेर्नका लागि जान्थ्यौं ।
हाम्रो परिवार कृषक भएकाले हाम्रो बारीमा तरकारी हुन्थ्यो । आमा सधैं तरकारी बेच्नको लागि बजार आउनुहुन्थ्यो । म पनि आमालाई सघाउन उहाँसँगै आउने गर्थें । म गणितमा जान्ने भएकोले हिसाब–किताब गरिदिन्थें । कहिले काहीं आमा नआएको बेलामा एक्लै हटियाचौकमा आएर तरकारी बेचेर जान्थें । तरकारी किन्नको लागि मेरो सरहरू पनि आउनुहुन्थ्यो । मेरो साथीहरू सरहरूसँग बोल्न लाज मान्थे । म भने सरहरूसँग केही नमानेर नमस्कार भनेर बोलिहाल्थें । नराम्रो काम गरेको छैन भन्ने सोच्थें अनि तरकारी बिक्री गर्थें । सरहरूले पनि मेरैबाट तरकारी किनेर लैजानुहुन्थ्यो ।
कहिले काहीं तरकारी बारीमा केराउ चोरेर खाने गर्दथ्र्यौं । त्यही पनि भाइबहिनी मात्र मिलेर । आफ्नै बारीको । सानो छँदा दुई वटा गल्ती गरेको छु । हाम्रो घर धुम्रपानरहित परिवार थियो । कसैले पनि चुरोट रक्सी केही खानु हुन्थेन । एक दिन छिमेकी अकंल चुरोट खाँदै हाम्रो घर आउनुभएको थियो । उहाँले चुरोट ननिभाएर म नजिक फाल्नुभयो । मलाई आमा कहाँ हुनुहुन्छ भनेर घरभित्र जानुभयो । चुरोट खाएपछि कस्तो हुने रहेछ भनेर उत्सुकता जाग्यो । उहाँ जानेबित्तिकै मैले चुरोट समाएर खान के थालेको थिएँ अंकल आइहाल्नु भयो । केटाकेटी भएर चुरोट खाने भन्दै बेसरी झपार्नुभयो । मलाई जीवनमै ठूलो गल्ती गरेको छु जस्तो लाग्यो । घरको एकसय मिटरको दूरीमा गोठ थियो । हामी त्यही सुत्थ्यौं । चुरोट खाएको भनिदिनुहुन्छ भन्ने डरले म भागेर गोठमा सुत्न गइहालें । पछि मेरो खोजाखोज भएछ । साँझ आमाले
गोठमा भेटाउनुभयो । सुतेको रहिछे मात्र भन्नुभयो । अरु केही भन्नु भएन् । अकंल भनिदिनुभएको रहेनछ भन्ने सोचें । डर अलि कम लाग्यो ।
मैले नजानेर अर्को गल्ती पनि गरें । काँसको अम्खरा थियो । बारीमा पानी पु¥याएर घर फर्किदा खसेर फुट्यो । घरमा गाली गर्नुहुन्छ भन्ने धेरै डर लाग्यो । अम्खरालाई जस्ताको तस्तै मिलाएर म स्कुल गइहालें । मैले नै फुटाएको भनेर कसैले थाहा पाउनुभएन । म गल्ती लुकाउन सकेकोमा ढुक्क भएँ । खेल्न धेरै रुचि थियो । ग्रुफ बनाएर कपर्दी, डण्डीबियो, खुट्टे, डोरी खेल्थ्यौं । कहिले काहीं त साँझपर्दा घर जान पनि झुल्थें । परिवार ठूलो भएको कारण कसले खाना खायो भन्ने पनि थाहा नहुने । साँझ प¥यो भने घरबाट खोज्न गएपछि बल्ल घर जान थाहा हुन्थ्यो ।
मैले राजनीति सानै उमेरदेखि सुरु गरें । हामी कक्षा ८ मा पढ्दै थियौं । त्यसबेला बहुदल व्यवस्था आउन थालेको थियो । पञ्चायतको चौतर्फी विरोध भएको थियो । रेडियो सुन्ने । सरहरूसँग जिज्ञासा राख्ने गर्दथ्यौं । रुखहरूमा कालो कपडाहरू टाँगेका हुन्थे । एक दिन पिपलको रुखमा कालो झण्डा टाँगेका रहेछन् । मान्छेहरू धेरै जम्मा भएका थिए । हामीले सरलाई किन त्यहाँ मान्छेहरू जम्मा भएको भनेर सोथ्यौं । सरले त्यहाँ कालो गोमन सर्प छ भन्नुभयो । कालो गोमन सर्प कस्तो हुन्छ भनेर हामी हेर्न गयौं । तर त्यहाँ कालो झण्डा टाँगेका रहेछन् । पछि सरले पञ्चायत व्यवस्थाको विरोध गर्नका लागि कालो झण्डा टाँगेको बताउनुभयो । घरमा पनि बुबाआमा दाइहरूले बहुदल व्यवस्थाको कुराहरू गर्नुहुन्थ्यो । नेविसंघले विद्यार्थीहरूलाई सदस्यता वितरण सुरु गरेको थियो । ९ कक्षामा दिदीहरू पढ्नुहुन्थ्यो । अंकल मसालमा हुनुहुन्थ्यो । मसाल पार्टीले जातभात मान्दैन्, दिदीबहिनी मान्दैन् र ६० वर्ष पुगेकाहरूलाई गोली हान्छ भन्ने हल्ला थियो । पछि अकंलले र पार्टीका मान्छेहरूले स्पष्ट पारे । दिदीबहिनी मान्दैन र ६० वर्ष पुगेकालाई गोली हान्छ भन्ने त हल्लामात्र रहेछ । पार्टीको जनवादी गीत र जातीय छुवाछुत विरोध गर्ने भएकोले म प्रभावित भएको थिएँ । हामी पछि अखिल छैठौंमा आवद्ध भयौं । जनवादी गीत सुन्ने गर्दथ्यौं । समाजमा छुवाछुत धेरै नै थियो । सार्वजनिक धाराहरू हुन्थे । धारामा पानी भर्न जाँदा हामीलाई तल्लो जाति भनेर छुन दिदैंन्थे । यदि केही गरेर उनीहरूको भाँडा हामीले छोइहालेमा सुन पानी हालेर घाममा सुकाउँथे । त्यसबेला हामीलाई किन यस्तो गरेका होलान् जस्तो लाग्थ्यो । भित्र–भित्र कता उनीहरूप्रति विद्रोह आउँथ्यो । मानिस एउटै हुन तर पनि किन हामीलाई विभेद गर्छन् ? किन समान व्यवहार गर्दैन भन्ने लाग्थ्यो । घरमा आएर आमालाई सोध्दा हामी तल्लो जाति त्यसैले हामीले उनीहरूको भाडा छुन दिँदैन भन्नुहुन्थ्यो । उनीहरूले गरेको व्यवहारले विभेदको अनुभूति हुन्थ्यो । त्यसकारण पनि समाजमा परिवर्तन ल्याउनुपर्छ भन्ने सोच आउँथ्यो । र विद्यार्थी राजनीतिमा लागे । कक्षा ८ पढ्दादेखि नै राजनीति सुरु गरें । पार्टीको कार्यक्रममा जाने पनि गर्दथ्यौं । पछि जनयुद्ध सुरु भएपछि माओवादी केन्द्रमा आएको हुँ । बपचनको सुख, दुःख र चकचकी सम्झदा अहिले पनि रमाइलो लाग्छ ।

प्रकाशित मितिः   ३० फाल्गुन २०७३, सोमबार १६:५७