इतिहास संरक्षणको प्रयास

कर्णाली प्रदेशमा २९ प्रतिशत दलित समुदायको जनसंख्या छ । तर यो समुदाय उपेक्षित छ । प्रतिनिधित्वको हिसाबले सार्वजनिक निकायहरूमा उपस्थिति न्यून छ । दलित अधिकारका लागि आवश्यक कानुन निर्माणमै ढिलाइ हुने गरेको छ । दलित अधिकारसम्बन्धीको विधेयक मुख्यमन्त्री कार्यालयमा रोकिएको छ । विधेयकको मस्यौदा बनेको साढे पाँच वर्षसम्म पनि संसद्सम्म नपुग्नु दलित समुदायका लागि दुखद कुरा हो । सरकारको गैरजिम्मेवारीपनको उदाहरण पनि हो । सधैँ उपेक्षामा पर्दै आएको समुदायको अधिकार संरक्षणका लागि छुट्टै कानुन आवश्यक भएपनि त्यसलाई सरकारले गम्भिरतापूर्वक लिएको देखिँदैन । अर्कोतर्फ दलित समुदायको इतिहासको संरक्षणमा समेत ध्यान पुगेको देखिँदैन । यद्यपि, पछिल्लो समय दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन संग्रहालय निर्माण थालिएको छ । पहिचान संरक्षणसँगै ग्रामीण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न दलित संग्रहालय निर्माण थालिएको हो ।

भेरीगंगा नगरपालिका वडा नं. ८ डुमकोटमा संग्रहालयको भवन बनिरहेको छ । दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले संग्रहालय निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ । हाल संग्रहालयको भवन र कम्पाउन्ड निर्माणको काम धमाधम भइरहेको छ । उक्त संग्रहालयबाट दलित समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्न र उनीहरूको सीपबाट थप उद्यम सिर्जना गर्न सकिने लक्ष्य राखिएको छ । संग्रहालयलाई औद्योगिक क्षेत्रको रूपमा पनि विकास गर्ने लक्ष्य लिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोड २० लाख लागतमा संग्रहालयको भवन निर्माण भइरहेको छ । २०७८ असोज १० गते बाट संग्रहालयको भवन निर्माणको काम थालिएको होे । २०७८ असोज १० गतेदेखि २०८० असार ३० गतेसम्म भवन निर्माण सम्पन्न गर्नेगरी नेपाल मेगा, लामा प्रगति, सुवास जेभी वीरेन्द्रनगरसँग ठेक्का सम्झौता गरिएको थियो । जेभीसँग नगरपालिकाले तीन करोड २० लाख ७३ हजारमा भवन निर्माणको सम्झौता गरेको हो । दुई वर्षमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारीलगायतका कारण ढिलाइ भएको जनाइएको छ । तर अहिले भवन निर्माणको काम धमाधम भइरहेको छ । भवन निर्माणको भौतिक प्रगति ४५ प्रतिशत भएको छ । यस्तै, वित्तीय प्रगति ४१ प्रतिशत हासिल भएको छ ।

कुनैबेला पूर्वी सुर्खेतका केही भाग दलित समुदायको राज्य थियो । साविकको मैनतडा र मेहेकुना क्षेत्रमा दलित समुदायका राजाले राज्य गर्ने गरेको इतिहास रहेको जानकारहरू बताउँछन् । सातौँ शताब्दी अघिको दलित राज्यमा अहिले संग्रहालय बनाउन थालिएको हो । यसले दलित समुदायको इतिहास संरक्षण तथा अध्ययन–अनुसन्धानमा समेत ठूलो सघाउ पु¥याउनेछ ।

प्रकाशित मितिः   १८ फाल्गुन २०८०, शुक्रबार ०५:०३