कर्णाली उत्सवको दोस्रो दिन: सामयिक विषयमाथि निरन्तर बहस
सुर्खेत: कर्णाली उत्सवको दोस्रो दिन आइतवार पनि विभिन्न विषयमा छलफल गरिएको छ । साहित्य, समाज र विकाससँग सम्बन्धित विविध शीर्षकका छलफल सत्र सञ्चालन गरिएको हो ।
आइतवारको पहिलो सत्रमा ‘लगानीको लगन’ शीर्षकमा बहस भयो । सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन क्षेष्ठ र नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल । मन्त्री सिंहले कर्णालीमा लगानीका लागि पर्याप्त सम्भावना रहेको बताए । यद्यपि पूर्णरूपमा लगानी मैत्री वातावरण बन्न बाँकी रहेको समेत स्वीकारे । ‘कर्णालीले संघीयतापछि जल, जंगल, जमिन उपभोगको यात्रामा छ,’ उनले भने, ‘ठूलो भूगोल र सिमीत स्रोतसाधनले गर्दा अहिले नै नागरिकले देखिने र महशुस गर्ने गरी लगानीमैत्री वातावरण बन्न नसकेको अवस्था होला । तर पनि साविकको मध्यपश्चिम र आजको ६ वर्षपछिको कर्णाली नागरिकले महशुस गर्न सक्छन् ।’
आगामी वैशाखमा कर्णाली लगानी विकास सम्मेलनको आयोजना गर्ने तयारी भइरहेको छ । यसले निजी लगानीको थप सम्भावनालाई उजागर गर्ने मन्त्री सिंहको दावी छ । उनले भने, ‘निजी क्षेत्रले आफ्नो लगानीको सुरक्षा, लगानीमैत्री वातावरण, लगानीयोग्य क्षेत्र पहिचान गर्ने गरी प्रस्ताव तयार गरेर त्यो सम्मेलनमा सहभागी बन्दैछौँ । दाताहरूले पनि लगानीको प्रतिफल र सुरक्षाको कुरा ग्यारेन्टी गर्ने गरी सम्मेलनको तय हुँदैछ ।’
व्यवस्था परिवर्तनपछि कर्णालीले विकासको जग बसालेको उनको भनाइ थियो । कर्णाली र भेरि करिडोर सम्पन्न भयो भने विकासको पूर्वाधारको जग पूर्ण हुने विश्वास उनको थियो । त्यसपछि लगानीमैत्री वातावरण सहज बन्न सक्ने उनले बताए । ‘सुन्दरता र आकर्षणको हिसाबले सबैभन्दा महŒव राख्ने भूमि कर्णाली रहेको छ,’ उनले भने, ‘कर्णालीमा लगानी गर्न चाहने निजी क्षेत्रको लागि सम्भावना धेरै छन् ।’
सत्रकै अर्का वक्ता नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष क्षेष्ठले पनि लगानीको लागि लगन कुरिराख्न पर्ने अवस्था नभएको बताए । ‘तर कर्णालीको चुनौती भौतिक पूर्वाधार रहेको छ,’ उनले भने, ‘कर्णालीमा भौतिक चुनौती प्रमुख कारण हो भन्ने मलाई लाग्छ । यहाँ लगानी गर्न खोज्ने उद्योगीले भौतिक चुनौती भोग्नु परेको मैले बुझेको छु ।’ व्यवसायका लागि पूर्वाधार ठूलो आधार भएकोले २०७४ पछि राजनीतिक परिवर्तन भएपनि उद्योग क्षेत्रले आश गरेको कुरा आर्थिक परिवर्तन हुन नसकेको बताए ।
नबिल बैंकका अध्यक्ष पौडेलले व्यावसायिक वातावरणले नै बैंकहरू आउने बताए । ‘बैंक भनेको पानी हो । जतातिर ओरालो र सम्भावना छ त्यतैतिर बग्छ । यसलाई कुलो बनाएर कर्णालीले ल्याउन सक्नपर्छ । त्यसको लागि व्यवसाय गर्ने वातावरण हुन जरुरी देखिन्छ । व्यवसाय भएपछि बैंकहरू आउँछन्,’ उनले भने ।
उत्सवको दोस्रो दिनको दोस्रो सत्रमा नेपालको मूलधारको राजनीतिमा कर्णालीलाई हेर्ने नजरमाथि बहस गरिएको छ । नेकपा (एमाले)का उपहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेस नेता प्रदीप पौडेल बहसमा सहभागी थिए । एमाले उपमहासचिव ज्ञवालीले पछिल्लो समय कर्णालीलाई हेर्ने नजर विस्तारै बद्लिँदै गएको बताए । कर्णाली पहिलेको तुलनामा परिवर्तन भएको पनि उनले बताए । ‘मानव विकास सूचकांकका हिसाबले कर्णालीसँगै मधेस र सुदूरपश्चिम प्रदेश निकै पछाडि छन्’ उनले भने, ‘अब हामीले पोलिसीहरू बनाउँदा यी ठाउँलाई बढी फोकस गरेर । रोजगारीका सिर्जनाहरू कसरी गर्न सकिन्छ ? उत्पादकत्वको वृद्धि कसरी गर्न सकिन्छ ? नागरिकको जिवनस्तर कसरीमाथि उठाउँन सकिन्छ भन्ने हिसाबले बनाउन जरुरी छ ।’ सम्भावनाको ढोका खुल्न लागेको तर उघ्रिनसकेको प्रदेशका रूपमा आफूले कर्णालीलाई बुझेको उनले बताए ।
कांग्रेस नेता पौडेलले कुनै पनि चिजलाई सहि ढंगले चिन्न आवश्यक रहेको बताए । उनले भने, ‘कर्णालीबासीले पनि कर्णालीलाई सहि ढंगले चिन्नुभएन । केन्द्र र प्रदेशले पनि कर्णाली जे हो त्यो ढंगबाट चिनेन । चामल पठाइदियो भने कर्णालीलाई सुविधा हुन्छ भन्ने संघको पहिलेबाटैको बुझाइ गलत छ ।’
कर्णालीमा उत्पादन हुने अन्न सबैभन्दा पौष्टिक भएपनि भाष्य गरिब र विपन्नले खाने हो भनेर बनाइएको बताए । कर्णाली गरिब नभएर गरिब हो भनेर चिनाइएको उनको भनाइ थियो । ‘कर्णाली कर्णालीलाई मात्र नभएर देशलाई समृद्ध बनाउँन सक्छ । यो देशमा सबैभन्दा बढी जलविद्युत उत्पादन कर्णालीमा हुन्छ’ उनी भन्छन्, ‘कर्णालीमा देशको सबैभन्दा उचाइको बस्ती छ । यो देशका धेरै रारा लगायतका तालहरू कर्णालीमा छन् । पर्यटहरू आकर्षित गर्ने प्राकृतिक बरदानका चिजहरू छन् । व्यवसायिक कृषि खेती गर्ने हो भने अनेकौँ सम्भावना छ । जडीबुटीको सम्भावना छ । भूगोललाई विकसित गर्ने हो भने अनेकौं सम्भावनाहरू छन् ।’
पौडेलले कर्णालीको स्रोत पहिचान गरी त्यसअनुसार योजना बनाएर अघि बढ्न सकियो भने कर्णालीलाई देशकै समृद्ध बनाउन सकिने औंल्याए । उनले संघीय व्यवस्थाले कर्णालीलाई समृद्ध बन्न अवसर सिर्जना गरेको बताए । कर्णालीमा राजनीतिक दलहरूले प्रतिवद्धता गरेअनुसार विकास भएको आभास आफूले गर्न नपाएको कांग्रेस नेता पौडेलले बताए ।
उत्सवमा यसबाहेक ‘कर्णाली क्याराभान’, ‘अपाङ्गताः पहुँच र पौरख’, ‘हाम्मो काली, हाम्मै कर्नाली, ‘अन्तरजातीय विवाहः रहर र कहर’ लगायतका शीर्षकमा समेत छलफल भएका छन् ।
प्रकाशित मितिः ७ फाल्गुन २०८०, सोमबार ०५:०३
कुडा कर्णालीका ।