पुनर्निर्माणको पर्खाइमा ‘इपिसेन्टर’

कमजोर संरचना निर्माणले धेरै क्षति

सुर्खेत:  गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडास्थित सिर्पाचौरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो । बर्सेनि बाढी र पहिरोजस्ता प्राकृतिक विपद्ले पिरोलीरहने कर्णालीमा ६ दशमलव चार म्याग्निट्यूडको भूकम्पले अर्को पीडा थप्यो । जाजरकोट र रूकुमपश्चिममा ठूलो जनधनको क्षति भयो । एक सय ५४ जनाले ज्यान गुमाए, तीन सयभन्दा बढी घाइते भए ।

भूकम्प गएको चार महिना बित्यो । तर प्रभावित क्षेत्रका नागरिक अझैं पनि पुनस्र्थापित हुन सकेका छैनन् । ठूलो संख्या अहिले पनि त्रिपालमै बसोबास गरिरहेको छ । पुननिर्माणको गति निकै सुस्त छ । सुस्त गतिकै कारण नागरिकले सास्ती खेपिरहेका छन् । अधिक प्रभावित क्षेत्रमध्येको एक, रूकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवी केसी पुननिर्माणको कामलाई गति दिन प्रदेश र संघीय सरकार गम्भिर हुनुपर्ने बताउँछन् । शनिवारदेखि वीरेन्द्रनगरमा सञ्चालित कर्णाली उत्सवको ‘इपिसेन्टर’ शीर्षकको सत्रमा सहभागी केसीले कार्यविधि नै नहुँदा पुननिर्माणमा ढिलाइ हुन गएको बताए । उनले भने, ‘हामीलाई प्रदेश र केन्द्र सरकारले तत्काल पुनर्निर्माणको लागि कार्यविधि दिन आवश्यक छ । हामी कार्यविधि र दोस्रो चरणको अनुदानको पर्खाइमा छौँ ।’

बहसमा सहभागी वक्ताहरूले जाजरकोट भूकम्पबाट पाठ सिकेर सरकारले नीति निर्माण गर्नुपर्ने धारणा राखेका छन् । ‘अब अग्लो घर होइन सुरक्षित घर कसरी बनाउन सकिन्छ भनेर सरकारले नीति बनाउन जरुरी रहेको छ’ नगर प्रमुख केसीको भनाइ थियो । यसको लागि कानुनी प्रावधान बनाउन जरुरी रहेको बताउँदै उनले सुरक्षित घरको लागि राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको जनाए ।

बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले भूकम्पपछि अब जुनसुकै प्रयोजनका लागि संरचना निमार्ण गर्दा पनि भूकम्प प्रतिरोधि बनाउनुपर्ने पाठ जाजरकोटको भूकम्पले सिकाएको बताए । उनले भने, ‘अब सुरक्षित नेपाल निमार्णको अभियानमा सरकार अघि बढ्नुपर्ने देखिन्छ ।’ अध्यक्ष गिरीका अनुसार भूकम्पले ठूलो क्षति निम्त्याउनुमा असुरक्षित संरचना मुख्य कारण हुन् । उनले बारेकोटकै उदाहरण दिँदै भने, ‘बस्ती तल छन् । माथिको जमिन सबै भासिएको छ । नागरिकहरू असुरक्षित अवस्थामा बसिरहेका छन् ।’

भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पबारे जनता शिक्षित नभएसम्म भूकम्पबाट हुने क्षति कम नहुने बताए । उनका अनुसार भूकम्पबारे अध्ययन नै राम्रोसँग हुने गरेको छैन । अझै पनि कतिलाई भूकम्प पनि जानसक्ने र भूकम्पले क्षति हुन्छ भनेर थाहा नपाएको बताए । नेपालमा भूकम्पसम्बन्धी २०७२ सालबाट नीति, नियम बनेपनि कार्यान्यवनको पाटो एकदमै कमजोर रहेको उनले बताए । अधिकारीले भने, ‘भूकम्पको केन्द्रविन्दुमा मानवीय क्षति छैन । भौतिक क्षति पनि कम छ । भूकम्प गएकै ठाउँमा क्षति बढी हुन्छ । अन्य ठाउँमा कम हुन्छ भन्ने सोच बनाउन हुँदैन । जाजरकोटको भूकम्पले बनाउँदै गरेका घरहरू भत्किएका कारण पो पटक नयाँ सिकाइ पनि भएको छ ।’

शनिवारदेखि सुरू भएको ‘कर्णाली उत्सव’ मा पहिलो दिन विपद् र व्यवस्थापनसँग सम्बन्धित सत्रहरूमा छलफल गरिएको छ । शनिवार नै ‘संकट र सेवा’ तथा ‘जोखिम र जुइन्या जुक्ति’ शीर्षकमा समेत छलफल भएको छ । त्यसबाहेक पहिलो दिनको अन्तिम सत्रमा कर्णाली कन्सर्टः साङ्गीतिक साँझको आयोजना गरिएको थियो । तीन दिन चल्ने उत्सवमा १३ वटा सत्र राखिएको छ ।

उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन् । उनले आर्थिक, राजनैतिक र भौतिक विकास निर्माणले मात्र प्रदेश समृद्ध नहुने भन्दै त्यसका लागि सामाजिक–सांस्कृतिक रूपान्तरणको अवस्थामा सुधार ल्याउनुपर्ने बताए । विचारको बहसले राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रूपान्तरणमा गति प्रदान गर्ने उनको भनाइ थियो । परियारले प्राकृतिक उपहारका रूपमा रहेका कर्णालीका सम्पदालाई विचारमन्थनको माध्यमबाट तीन तहका सरकारको समन्वय र सहकार्यमा अधिकतम् सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । यसबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी विगतदेखि स्थापित भाष्य उल्ट्याएर रोग, भोग र बेरोजगारलाई उन्मुलन गर्न सकिने उनको भनाइ थियो ।

प्रकाशित मितिः   ६ फाल्गुन २०८०, आईतवार ०९:३९