प्रसूति र पितृसत्ता
सिंजा सभ्यताको उद्गमस्थल, परापूर्वकालको समृद्ध कर्णाली विस्तारै–विस्तारै पछाडि पर्दै गएछ । पछि पर्दापर्दै पनि कर्णालीले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ भन्ने मेरो ठम्याइ छ । विगतका तीन दशकको तथ्यांक केलाउने हो भने यति कुरा त स्पष्ट नै हुन्छ । बाल मृत्यु दर, मातृ मृत्यु दर, रक्त अल्पताको परिमाण आदिलाई स्वास्थ्य स्थितिको केही सूचकका रूपमा लिन सकिन्छ । पहिले हाम्रो प्रादेशिक संरचना नभएकाले प्रदेशगत रूपमा पुरानो तथ्यांक उपलब्ध छैन, यसर्थ पुरानो तथ्यांकसँग दाँजेर प्रगति यकिन गर्न गाह्रो हुन्छ, तैपनि मैले मध्यपश्चिम र सुदूरपश्चिमको औसत तथ्यांक लिएर विगत करिब ३० वर्षको प्रगति हेर्ने जमर्को गरेकी छु ।
विक्रम सम्वत २०५३ ताका (तीन दशक अगाडि) यो भेगमा जन्मेका हजार बालबालिकामध्ये करिब ६५ जनाको एक महिनाभित्रै मृत्यु हुन्थ्यो, ११९ जनाको एक वर्षभित्रै, अनि पाँच वर्ष पुग्दा नपुग्दै १७८ जनाको मृत्यु भइसक्थ्यो । यसको एक दशकपछि, २०६३ ताका, नवजात शिशु मृत्यु दर सुधार हुँदै ६५ बाट ४५ मा झ¥यो, एक वर्षभित्र हुने मृत्यु ११९ बाट ८५ जति भयो, अनि पाँच वर्ष पुग्दा नपुग्दै हुने मृत्यु १७८ बाट घटेर १११ जति भयो । यसको करिब १५ वर्षपछि बालस्वास्थ्य अवस्थामा थप सुधार हुँदै गएको देखिन्छ, तैपनि यो प्रदेशको बाल मृत्यु दर राष्ट्रिय औसतभन्दा बढी नै छ । दुई वर्ष अगाडिको प्रतिवेदन अनुसार यो प्रदेशको नवजात शिशु मृत्यु दर हजारमा २६ छ (राष्ट्रिय औसत २२), एक वर्षभित्र हुने मृत्यु हजारमा ३६ (राष्ट्रिय औसत २८), पाँच वर्षभित्र हुने मृत्यु हजारमा ४६ (राष्ट्रिय औसत ३३) रहेको छ । अनि निरक्षर आमाका पाँच वर्ष मुनिका हजार बालबालिकामध्ये ५० जनाको मृत्यु हुँदा माध्यमिक तहसम्म पढेका आमाहरूको पाँच वर्ष मुनिका हजार बालबालिकामध्ये ६ जनाको मात्रै मृत्यु हुँदो रहेछ । कति फरक, महिला शिक्षाले कति राम्रो प्रभाव पार्ने रहेछ !
तर कर्णालीमै बालविवाह गर्ने र माध्यमिक शिक्षा नलिने जनसंख्या पनि ठुलै छ । राष्ट्रिय जनगणना अनुसार एक वर्षमा प्रजनन् उमेरका (१५–४९ वर्ष) महिलाको १२९७६ मृत्युमध्ये ६५३ मातृमृत्यु थिए । नेपालमा औसतमा प्रति एक लाख जीवित जन्ममा १५१ आमाहरू ले ज्यान गुमाउँछन्, तर कर्णालीमा प्रति एक लाख जीवित जन्ममा १७२ जना आमाको मृत्यु हुन्छ । शहश्राव्दी विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृमृत्यु ७० सम्म झार्ने नेपालको लक्ष छ । यो ठूलो लक्ष हासिल गर्न प्रयास पनि धेरै ठूलो चाहिन्छ ।
चुनौतिहरू हुँदाहुँदै पनि कर्णाली प्रदेश प्रगति उन्मुख छ, तीन दशक पहिलेको तुलनामा धेरै राम्रो हुँदै छ । यहाँको युवा साक्षरता दर ८२ प्रतिशत (राष्ट्रिय ८५ प्रतिशत), अपेक्षित आयु ६७ वर्ष (राष्ट्रिय ६९.७), मानव विकास सूचकांक ०.४२७ (राष्ट्रिय ०.५७४) छ, अनि ९२% घरपरिवारमा बिजुली जडान भएको छ, ९६% मा शौचालय छ । ३८% जनतासँग इन्टरनेटको पहुँच छ, ७३% को हातमा मोबाइल फोन छ, तर यो तथ्यांकलाई खण्डिकरण गरेर हेर्ने हो भने महिलाको पहुँच कम नै छ ।
कर्णालीमा स्वास्थ्य संस्थाहरूको संख्या चार सय ३३ रहेको छ, दुई सय ७४ बर्थिङ्ग सेन्टर रहेका छन् । साथै प्रदेश अस्पताल, मेडिकल कलेज, आयुर्वेद अस्पतालसमेत रहेको यो प्रदेशमा संख्याको हिसाबले स्वास्थ्य संस्थाको उपलब्धता राम्रै छ । तर सेवाको सुनिश्चितता, गुणस्तर र पहुँचमा सुधार गर्नु पर्ने कुराहरू धेरै छन् । नेपालको औसत हेर्ने हो भने ४९ प्रतिशत जनसंख्या ३० मिनेटभित्र स्वास्थ्य संस्थामा पुग्न सक्ने अवस्था छ, तर यहाँका २३.६ प्रतिशत जनसंख्या मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्थामा पुग्न सक्छन् । कतिपय ठाउँमा बजार र अस्पताल जोड्ने पुल नबन्नाले दुई मिनेटमा पुग्न सकिने अस्पताल पुग्नै आधा घण्टा लाग्छ ।
निकट विगतका वर्षहरूमा सुस्तरी विकासको पथमा लम्किँदै गर्दा र आफ्नै विगतसँग तुलना गरेर हेर्दा यहाँको प्रगति राम्रो नै छ, तर राष्ट्रिय औसतसँग तुलना गर्दा यो प्रदेश धेरै पछि परेको देखिन्छ । तुलना गरेपछि आफ्नो प्रदेशलाई प्रतिस्पर्धामा अगाडि लैजाने सकारात्मक प्रयासहरू हुनेनै छन्, भइरहेका पनि छन् । यहाँका नेताहरूले व्यक्त गर्नु भएका भावना– कर्णाली ब्युँझिएको मात्रै होइन, जुर्मुराएर उठेको छ, दौडेर अरुलाई जित्न तम्तयार भैरहेको छ, भन्ने कुरा यो प्रदेशको स्वास्थ्य योजना पढ्दा थाहा हुन्छ । मैले सर्सर्ति हेर्दा र गहिरिएर मनन् गर्दा यहाँ प्रगति भइरहेको देख्छु, तैपनि गर्नु पर्ने काम धेरै छन्, तिनलाई प्राथमिकिकरण गरेर लैजानु उचित हुन्छ; यसो गर्दा श्रोतको प्रभावकारी उपयोग हुन्छ ।
म स्वयम् एक महिला र आमा भएको नाताले, धेरै वर्ष महिलाहरूलाई स्वास्थ्य सेवा पु¥याउँदै गर्दा तिनका पीडासँग परिचित भएकाले महिलाका विषय मेरा लागि प्रिय छन् । नेपालमा नारीवादी आन्दोलनले महिलाको अधिकार, सम्मान र स्वतन्त्रताको वकालत गरिरहेको छ; यसो भन्दै गर्दा मैले पुरुषप्रति आक्षेप या विभेद गरिरहेको छैन । बहुसंख्यक पुरुषले अधिकार, सम्मान र स्वतन्त्रताको उपभोग गरिनै रहेका छन् । महिला उत्थानका केही पक्षमा धेरै पुरुषहरूको अथक प्रयास र सक्रिय सहयोग रहेको छ । हाम्रो गुनासो नियन्त्रणमुखी र विभेदकारी पितृसत्ता प्रति छ जसका कारण महिलाको प्रजनन् स्वास्थ्यका समस्याहरू निराकरण गर्न सकिएको छैन ।
महिलाले नै हो आमाको समेत भूमिका निर्वाह गर्दै घरपरिवार, बालबच्चा सबैको हेरचाह गर्ने, तिनीहरूलाई शिक्षित र सुसंस्कृत बनाउने । मेरो बुझाइमा महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुन्छ, अनि समाज र देश कमजोर हुन्छ । कर्णाली पछि परेमा समग्र नेपाल पछि नै परिरहन्छ । नेपाली महिलाले हाम्रो संविधान प्रदत्त स्वास्थ्य अधिकार र प्रजनन् स्वास्थ्य अधिकार उपभोग गर्ने क्रममा समग्र नेपालका र विशेष गरी कर्णालीका महिला पछाडि पारिए भने नेपालले आँटेको दीगो विकास लक्ष हासिल हुनै सक्दैन ।
म यहीँको गाउँठाउँको एउटा उदाहरण पेस गर्न चाहन्छु– भर्खर १४ वर्ष टेकेकी सुन्तली कामीको २४ वर्षका सन्तोषसँग विवाह भयो । सुन्तली साक्षरसम्म थिइन् । आर्थिक अवस्था कमजोर र धेरै छोराछोरी भएका उनका मातापिताले सानै उमेरमा उनको विवाह गरिदिनु उचित ठाने । समाज साक्षि बस्यो, केहीले भोज खाए, रमाइलो गरे । १६ वर्ष हुँदा उनी गर्भवति भइन । स्वास्थ्य संस्थामा जँचाउन लैजान परिवारले आवस्यक ठानेन । तीन दिनसम्म व्यथाले च्याप्दा पनि बच्चा नजन्मिएपछि बल्लतल्ल नजिकैको स्वास्थ्य संस्थामा लगियो । त्यहाँ नहुने भएपछि हेलिकोप्टर बन्दोबस्त गरेर स्थानीय स्वास्थ्य संस्थाले उनलाई नेपालगञ्ज पठाइदियो । नेपालगञ्जमा शल्यकृया गरेर पेटभित्रै मरिसकेको बच्चा निकालियो । अत्यधिक रक्तश्राव भएर सुन्तलीको पनि ज्यान गयो ।
सुन्तली प्रतिनिधि पात्र मात्रै हुन्, नेपालमा हरेक दिन उनीजस्ता दुई जना महिलाले ज्यान गुमाउँछन् । नेपालमा भएका मातृमृत्युमध्ये ३३ प्रतिशत गर्भावस्थामा, ६ प्रतिशत सुत्केरी हुँदा र ६१ प्रतिशत सुत्केरी भइसकेपछि हुन्छ । यहाँ ४० प्रतिशत महिला र बालबालिकामा रक्त अल्पता छ । गर्भवति अवस्थामा न्यूनतम् चार पल्ट गर्भजाँच गर्नु पर्छ, स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्छ, यो कुरामा केही प्रगति भएको छ । तर सुत्केरीको हरेचाहमा धेरै कमी कमजोरी छन्, त्यसैले सुत्केरी भएको ४५ दिनभित्र धेरै आमाहरूको मृत्यु हुन्छ । गर्भावस्थादेखिनै रगत कम भएको महिलाको सुत्केरी हुँदा कम रगत बगे पनि उनको अवस्था नाजुक हुन सक्छ, अनि खानेकुराहरू बार्ने पुराना कुरीतिहरूले उनको कमजोरी बढ्छ, कतिपय अवस्थामा विभिन्न संक्रमणले पनि ज्यान लिन्छ ।
के नेपालको संविधानले, अनि हाम्रो नयाँ लोकतान्त्रिक गणतन्त्रले सुन्तलीको र उनीजस्ता यावत महिलाहरूको अधिकारको लागि सुनिश्चित गरेको भविष्य यस्तै हो त ? निश्चय नै पनि होइन । अनि किन यस्तो भयो ? हामी कहाँ कहाँ चुक्यौ अनि किन निरन्तर चुक्दै छौँ ? एकछिन सोचौँ ।
म सोच्छु, आमा हुन लाग्दा किन सुन्तली मरिन्, म चाहीँ आमा हुँदा किन मरिन ? के कर्णालीमा जन्मेकै भएर सुन्तलीले मृत्यु वरण गर्नु परेको हो ? कर्णालीको भूगोल निश्चय पनि विकट छ, तर त्यति मात्र कारण होइन । हामी धेरै ठाउँमा चुकेका छौँ । हामी चुक्यौँ, सुन्तलीलाई पढाउन, आत्म निर्भर बनाउन । हामी चुक्यौँ बालिग भएपछि मात्रै उनको विवाह गरिदिन, उनलाई पोषणयुक्त खानेकुरा दिन, हामी चुक्यौँ उनको गर्भ जाँच गराएर समयमै जटिलता पत्ता लगाउन, अनि हामी चुक्यौँ उनलाई समयमै स्वास्थ्य संस्था पु¥याउन ।
हामी चुक्यौँ, हो, तर किन हामी चुक्यौँ ? यो प्रश्नको उत्तर नखोजेसम्म हामी पटकपटक चुक्छौँ, अनि सुन्तलीजस्ता अन्य धेरै बालिका र महिलालाई बचाउन सक्दैनौँ । किन चुक्यौँ भन्ने प्रश्नको उत्तरले समाधानका उपाय पनि देखाउँछ भन्ने लाग्छ मलाई । पितृसत्ताको नकारात्मक असर र स्वास्थ्य प्रणालीका कमी कमजोरीमा कारण हामी सुन्तलीलाई न्याय गर्न चुक्यौँ ।
नेपालमा विद्यमान पितृसत्ताले महिलाको जीवनलाई मूल्यवान ठान्दैन । भ्रुण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन । नेपालका १२ जिल्लामा एक सय जना छोरी जन्मदा एक सय १० भन्दा बढी छोरा जन्मिन्छन्, जबकी नेपालमा कानुनी रूपमा भ्रुणको लिङ्ग हेरेर गर्भपतन गराउन पाइँदैन । बहुसंख्यक परिवारमा महिलाले छोरा नपाएसम्म सन्तान जन्माइ रहनु पर्ने बाध्यता छ, आफ्नो जीवन बारम्बार जोखिममा पारेर । सामान्यतया छोरालाई राम्रो खाना, शिक्षा, खेलकुद गर्न छुट, औषधिमुलो दिन सक्ने बाआमाले छोरीलाई घरको काम, भाइबहिनी हेर्ने, गाइवस्तु हेर्ने काम लगाउँछन्, पराइधन ठानेर उसमाथि लगानी गर्न चाहँदैनन्, छाउगोठमा उसको मृत्य हुँदा दैवको लिला ठान्छन्, अनि यस्तो कुरीति यद्यपि निरन्तर छ ।
समाजको सबै जसो कुरामा अग्र स्थानमा रहन चाहने पुरुष, पत्निको मृत्यु भयो भने अपवादबाहेक लाचारजस्तो हुन्छ, आफ्नो र छोराछोरीको स्याहार गरिदिन अर्की पत्नि खोज्छ । तर कुनै कारणवस पतिको मृत्य भयो भने महिलाले बाबु र आमा दुवैको भूमिका निर्वाह गर्छिन् । आर्थिक रूपमा सवल नभएपनि महिलाले दुखजिलो गरेर नाबालिग सन्तान हुर्काउँछन् । तर त्यहीँ महिलाले निरन्तर हेपाइ र हेला सहन्छिन् । कतिपय अवस्थामा बोक्सीको आरोप र प्रताडनासमेत सहन बाध्य पारिन्छिन् ।
आफ्नी आमाले भोग्ने गरेको घरेलु हिंसा प्रत्यक्ष देखेकी बालिकाले पछि गएर हिंसालाई समान्य रूपमा लिन्छे, प्रतिकार गर्न सक्दिन । प्रतिकार गरी भने पनि उसको सुरक्षा, साथ, सहयोग दिने परिवार, समाज या राज्य उसले पाउँदिन । परनिर्भर महिलाका लागि मौन रही हरेक अन्याय सहनुको विकल्प हुँदैन, बुहार्तन र विभेद उसका जीवन–यथार्थ हुन पुग्छन् । भेदभावपूर्ण हुर्काइ भोगेकी बालिका पछि गएर आफैं पितृसत्तालाई बढावा दिने सासु बन्छे । उसको छोरालाई सकभर सबै राम्रो दिन्छे, छोरीबुहारी प्रताडित नै रहन्छन् । निरपेक्ष गरिबी, अशिक्षा, जातीय एवम् सामाजिक प्रचलन आदिले पनि विभेदपूर्ण समाजको निरन्तरतालाई मलजल गर्छन् । अनि अर्को पुस्ताकी छोरी, बुहारीले पनि यो पुस्ताकी सुन्तलीकै नियति भोग्नु पर्छ, चाहे त्यो कर्णालीमा होस् या नेपालका अन्य प्रदेशमा ।
बच्चा जन्माउँदा सुन्तलीको मृत्यु भयो; अन्य कति महिला छन् जसले निसन्तान हुनुको पीडा खेपेका छन् । आफ्नो प्रजनन् अंगमा कुनै खराबी नभएपनि बाँझो हुनाको आक्षेप सहेका छन्, सौता बेहोरेका छन् । अन्य कति नवजात शिशु मृत्यु हुँदा आफै मरेझैं भएका छन् । प्रसूतिका जटिलताका कारण दिसापिसाब चुहिने, आङ्ग खस्ने समस्याले पीडित छन् । बुढ्यौलीका अनेकन समस्या आँसु पिउँदै पचाएर, लुकाएर बसेका छन् । महिला हिंसाको त कुरै नगरौँ, पतिलाई नसोधी घरबाट निस्केको कारणले, भात डढेको निहुँजस्ता समान्य कारणका लागि पनि महिलाहरूले हिंसा बेहोरेका छन् । आफ्नो स्वास्थ्यका बारेमा आफैले निर्णय गर्न पाउने र स्वास्थ्य संस्थासम्म जान पाउने महिलाको संख्या पनि कम नै छ ।
हामी सबैले गम्भीर भएर सोच्नु पर्छ, नेपालमा महिला शिक्षा, महिला सशक्तिकरणका प्रयास नभएका होइनन्, महिलाले राजनीतिक अधिकार पनि उपभोग गर्दै छन्, तर पनि महिलाको अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन । महिला नेताहरूले, समाज परिवर्तनको संवाहक बन्न चाहनुहुनेहरूले, पनि आफ्नै घर परिवारबाट परिवर्तनको सुरुवात गर्न सक्नु भएको छैन । अनि हाम्रो समाजका सहृदयी पुरुषहरूले पनि वर्तमान नेपाली युवाहरूको समानताको चाहना बुझ्न सक्नु भएको छैन ।
पहिले घरहरू सम्पूर्णरूपमा पितृ सत्तात्मक थिए, अर्थात् घरमुली पुरुष हुन्थे, आर्थिक व्यवस्थापनको जिम्मा उनीहरूको हुन्थ्यो, महिलाको भूमिका घरभित्र मात्रै सीमित थियो, तर अहिले महिला, पुरुष दुवै घरभित्र र बाहिर पनि काम गर्छन्, आर्थिक उपार्जनमा दुववैको सहभागिता छ । अझ नेपालका १३ लाख ३० हजार अर्थात् ३२.४ प्रतिशत परिवारमा महिलाहरू नै घरमूलि छन् । यति हुँदाहुँदै पनि किन वर्तमान नेपालको पितृसत्ता जडसूत्रवादी छ– पुरुषको प्रधानता कायम राखी महिलाहरूप्रति निकृष्ट निर्दयी व्यवहार देखाउने खालको ।
पितृसत्ताको निरन्तरतामा के व्यक्तिको र उसको परिवारको मात्रै भूमिका हुने हो ? हाम्रो समाज र राज्यको भूमिका छैन र ? छ नि, तर यिनले प्रभावकारी भूमिका खेल्न सकेको भए यस्ता कुरीति हट्दै जाने थिए । घरका पुरुषले, टोल छिमेक, समाजले छोरी पढाउन प्रोत्साहन गरेमा, छोरा र छोरी दुवैले समान अवसरसहित हुर्किन पाएमा, छाउपढीजस्ता कुरीति निरुत्साहित गरेमा, सरकारले स्कुलकलेजमा सबैको पहुँच र सिकाइको गुणस्तर सुनिश्चित गरेमा, बालविवाह रोक्ने कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरेमा, हिंसापीडितको संरक्षण र पीडकलाई सजाय गर्ने विषयमा विभेद नगरेमा, महिलाका विचार व्यक्त गर्ने मञ्च र सुन्ने धैर्य भएमा हाम्रो समाजमा व्याप्त कुरीतिहरू विस्तारै घट्दै जानेछन्, तर यसो हुन सकिरहेको छैन ।
वैदेशिक रोजगारीका कारण भइरहेको सामाजिक तथा पारिवारिक विखण्डन, सामाजिक सञ्जालको कुप्रभाव, नैतिक शिक्षाको अभाव आदिले पनि आगोमा घ्यू थप्ने काम गरेका छन् । यसरी विभिन्न खाले विभेद खेपेका सुन्तलीहरूले अनाहकमा ज्यान गुमाउँदैछन् । यसो नहोस् भन्नका लागि नेपालको घरमूली (मातृसत्ता या पितृसत्ता) समानताको पक्षपाति अर्थात् आफ्ना सबै सन्तानलाई समान अवसर दिएर तिनलाई आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने बनाउन लागि पर्ने सच्चा अभिभावक चाहिएको छ, नियन्त्रक होइन ।
थुप्रै स्वास्थ्य समस्याहरू जनचेतना र जीवनशैली परिवर्तनका माध्यमबाट रोकथाम गर्न सकिने किसिमका हुन्छन् । यसका लागि समुदायको सहभागिता आवश्यक हुन्छ । अनि करिब ८०–९० प्रतिशत रोगहरू तल्लो तहका स्वास्थ्य संस्थाबाट उपचार गरेमा नीका हुने खालका हुन्छन् । नेपाल सरकारले सम्पूर्ण नेपाली जनतालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने कानुनी प्रावधान छ । युनिभर्सल हेल्थ कभरेजको अवधारणा अनुरूप निःशुल्क सेवाका अतिरिक्त सामाजिक स्वास्थ्य सुरक्षा (बीमा) कार्यक्रममार्फत् पनि थप उपचारको व्यवस्था गरिएको छ ।
सामान्यतया १०–२० प्रतिशत रोगलाई मात्र उच्च तहको विशेषज्ञ सेवा चाहिन्छ । सेवाको उपलब्धता, पहुँच र गुणस्तर सुनिश्चित गर्नका लागि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रणालीलाई वित्तीय व्यवस्थापन, जनशक्ति, सूचना प्रविधि, सुशासन, सेवा प्रवाह र समुदायको सहभागिता बलियो खम्बाहरू मार्फत् सुदृढीकरण गर्ने सल्लाह दिन्छ । नेपालको स्वास्थ्य नीति र रणनीतिहरूले पनि यी कुराहरूलाई प्राथमिकतामा राखेका छन् ।
तर हाल नेपालको स्वास्थ्य क्षेत्रमा भएको कूल लगानी मध्ये ५० प्रतिशतभन्दा बढी व्यक्ति स्वयम्को खल्तिबाट भइरहेछ । यसले गर्दा विपन्न वर्ग ठूलो मर्कामा छन् । कर्णाली प्रदेशमा मात्रै पनि परिवारको कूल आम्दानीको १३ प्रतिशतभन्दा बढी खर्च अपर्झट आइपर्ने स्वास्थ्य समस्याका लागि प्रयोग हुने रहेछ । भएका जायजेथा बिक्री गरी उपचार गराउँदा गरिब झन् झन् गरिब हुँदैछन् ।
आमा सुरक्षा कार्यक्रमबाट प्राप्त निःशुल्क सेवाले निकै भरथेग गरेको छ, तर पर्याप्त छैन । सरकारले स्वास्थ्य क्षेत्रमा गरेको ठूलो लगानी अनावश्यक निर्माण, प्रयोग नहुने उपकरण खरिद आदिमा खेर गइरहेको छ । भ्रष्टाचार निर्मूल गर्दै आवश्यक औषधि उपकरण र स्वास्थ्यकर्मीको उपलब्धता गराउन सकेमा २४सै घण्टा सजिलोसँग राम्रो सेवा पाउने कुरा सुनिश्चित गर्न सकिन्छ ।
जनशक्तिको कुरा गर्दा यहाँ ठूलो विरोध भाषपूर्ण स्थिति छ । एकातिर चिकित्सक, नर्सलगायतका स्वास्थ्य कर्मी नपाएर नेपालको स्वास्थ्य सेवा प्रभावित छ भने अर्कोतर्फ उत्पादित जनशक्ति जागिर नपाएर विभिन्न खाले शोषणको शिकार भएको छ, दक्ष जनशक्ति विदेश पलायन भइरहेको छ । बर्थिङ्ग सेन्टरहरू पूर्णरूपमा सञ्चालित छैनन्, सबैतिर दक्ष सेवा प्रदायक पनि छैनन् । कमजोर पूर्वाधारका कारण कर्णाली प्रदेशमा करिब ४२ प्रतिशत स्थायी दरबन्दी रिक्त छन्, खासगरी विशेषज्ञ चिकित्सकहरूको । अन्य धेरै सेवा करारका कर्मचारीले धानेका छन् । यहाँको दरबन्दीमा जागिर खाने तर अन्यत्रै काम गर्ने समस्या पनि छ ।
सूचना प्रविधिको कुरा गर्दा यहाँ तथ्यांक संकलन र विश्लेषण राम्रै भएको देखिन्छ तर तथ्यांकको प्रचार प्रसार र प्रयोगमा थप मेहनत गर्नु पर्ने अवस्था रहेछ । उदाहरणका लागि– बालस्वास्थ्यमा तौल नापजाँच गर्ने बालबालिकाको संख्या हरेक वर्ष निकै कम देखिन्छ, तर ती तौलजाँचमा नआएका बालबालिका समक्ष पुग्ने खालका प्रभावकारी कार्यक्रम नपुगेजस्तो छ । यति भन्दै गर्दा टेलिमेडिसिनका माध्यमबाट दुर्गम क्षेत्रसम्म पुग्ने पहलकदमीलाई राम्रो मान्नु पर्छ, तर यो सेवाको प्रभावकारिताको मुल्यांकन हुनु जरुरी छ ।
गुणस्तरयुक्त सेवा प्रवाहका लागि सक्षम नेत्रित्व, व्यवस्थापनको राम्रो सीप र आवश्यक पूर्वाधार सबै चाहिन्छन् । समुदायको सहभागिता र खबरदारीको ठुलो महŒव छ । कर्णाली प्रदेशमा यी सबैकुरा क्रमशः सुधार हुँदै गएको देख्दा खुसी लागेको छ । यो सुधारको प्रक्रिया अझ द्रुत गतिमा अघि बढाउन सकेमा सुनमा सुगन्ध थपिने छ ।
मातृ मृत्युका प्रमुख कारणहरूमध्ये तीन ढिलाइ मुख्य कारक हुन् । पहिलो ढिलाइ स्वास्थ्य जाँच र सेवा लिने निर्णय गर्न ढिलाइ, दोस्रो ढिलाइ निर्णय गरेता पनि स्वास्थ्य संस्थामा पुग्न ढिलाइ, तेस्रो ढिलाइ– स्वास्थ्य संस्थामा पुगेपनि उपचार पाउन ढिलाइ । यी सबैलाई सम्बोधन गर्न आफ्नो अनुभवका आधारमा केही सुझाव दिन चाहन्छु ।
१. परिवारले गर्भवति महिलाले स्वास्थ्य सेवा पाउनै पर्छ भन्ने सोच राखेर आर्थिक व्यवस्थापन लगायतका पूर्व तयारी गरिराखेमा सेवा लिने निर्णय गर्न ढिलाइ हुँदैन, महिला समयमै स्वास्थ्य संस्था पुग्छिन्, अनि आमा र बच्चा दुवैको ज्यान बचाउन सजिलो हुन्छ । साथै सुत्केरीको हेरचाहमा विशेष ध्यान पु¥याएर मातृ–नवजात शिशुको स्वास्थ्य समान्य राखी मृत्यु हुनबाट जोगाउनु पर्छ । सकेसम्म नर्सद्वारा होम भिजिट गराएर सुत्केरीको ज्वरो, संक्रमण र रक्तचाप जाँचका साथै नवजात शिशु जाँच गरिनु पर्छ ।
२. प्रदेशमा रहेका हजारौँ महिला स्वास्थ्य स्वयम्सेविका, सैयौं गैरसरकारी संघसंस्था र वडा वडामा रहेका जनप्रतिनिधिका सञ्जालमार्फत् व्यापक रूपमा स्वास्थ्य चेतना जगाउने, छोरा र छोरीलाई समान व्यवहार गर्ने, बालविवाह निरुत्साहित गर्ने, महिला शिक्षा र स्वरोजगार, रक्त अल्पता मुक्त बालबालिका र महिला, स्वस्थ जीवनशैली र खानपान आदिबारे जागरण अभियान चलाएर कर्णालीलाई रोगमुक्त बनाउँदै यसको पुरानो गरिमालाई पुनस्र्थापित गर्न सकिन्छ ।
३. स्वस्थ रहनु आफ्नो जिम्मेवारी भन्ने बुझी सबैले सरसफाई, पोषण र महिलाको प्रजनन् स्वास्थप्रति विशेष चनाखो रही स्वच्छ जीवनशैली अपनाउन जरुरी हुन्छ । जीवनशैलीमा आधारित रोग पुरुषमहिला दुवैलाई लाग्न सक्ने हुनाले शारीरिक श्रम गर्ने, दुव्र्यषन मुक्त रहने, तनाव मुक्त रहने, सकारात्मक सोच राख्ने, सन्तुलित खाना खाने र समय समयमा चिकित्सकसँग परामर्श र आवश्यक परीक्षण गराइ रोग लाग्नै नदिने, र लागि हालेमा पनि छिटो निदान र उपचार लिने गर्नु पर्दछ ।
४. सेवा प्रवाहको प्रक्रिया बारे सम्पूर्ण जनतालाई सुसूचित गर्ने । नेपाल सरकारले सम्पूर्ण जनताका लागि व्यवस्था गरेको आधारभूत सेवा घर नजिकैको स्वास्थ्य संस्थाबाट लिने हो, त्यो निःशुल्क पाउनु पर्छ । त्योभन्दा माथिको सेवा चाहिने रहेछ भने तल्लो तहको स्वास्थ्य संस्थाले सिफारिश गरी पठाएमा मात्र माथिल्लो संस्थामा जाने हो । यसो गर्दा माथिल्लो स्वास्थ्य संस्थामा अनावश्यक चाप कम भइ बीमालगायतका कार्यक्रममार्फत् जनताले सहज रूपमा सेवा लिन सक्ने छन् । थोरै संख्यामा रहेर असंख्य बिरामीको सेवा गर्नु पर्ने चिकित्सक र स्वास्थ्यकर्मीले पनि कडाखालका रोग लागेका बिरामीको लागि पर्याप्त समय दिएर सेवाको गुणस्तर सुधार्न सक्ने छन् ।
५. बर्थिङ्ग सेन्टरले मात्रै जटिलताको व्यवस्था गर्न सक्दैनन्, यसर्थ स्थानीय र प्रदेश सरकारको सहकार्यमा जटिल सुत्केरी समस्याको उपचार गर्ने व्यवस्था गर्दै समुदायलाई पायक पर्ने हिसाबले निजी र सरकारी अस्पतालको प्रेषण सञ्जाल बनाउनु उपयुक्त हुन्छ । सञ्जाल अस्पतालसम्म पुग्न आवश्यक एम्बुलेन्स, सञ्चार सुविधा, आर्थिक स्रोतको सुनिश्चितता गरिनु पर्दछ । प्रेषणका लागि वर्तमान हेलिकोप्टर उद्धार कार्यक्रममा देखिएका व्यावहारिक समस्या हटाउँदै लगिनु पर्छ ।
६. स्वास्थ्य संस्थामा दक्ष सेवा प्रदायक, औषधि, उपकरणहरूको कमी छ । ती कमीहरूको पूर्ति गरिनु पर्दछ । मेडिकल कलेज, प्रदेश अस्पताल, जिल्ला अस्पताल, स्थानीय स्वास्थ्य संस्थाहरू विभिन्न तहका सरकारअन्तर्गत सञ्चालन हुने हुँदा यी सबै तहका सरकारबीच राम्रो सहकार्य हुनु जरुरी छ । त्यसो भएमा प्रदेशभरी छरिएर रहेका जनशक्तिलगायत अन्य स्रोतको उचित प्रयोग गराएर तिनीबाट प्रदेशका सबै जनताले उचित प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
७. माथि उल्लेख गरिएका वित्तीय व्यवस्थापन, जनशक्ति, सूचना प्रविधि, सुशासन, समुदायको सहभागिता र सेवा प्रवाह बलिया खम्बाहरूको निरन्तर अनुगमन र सुदृढीकरण गरिनुपर्छ । सुदृढ प्रणालीले मातृ स्वास्थ्य मात्र नभइ सबै जनताको स्वास्थ्य उपचार सहज, सफल र किफायति बनाउँछ ।
अन्त्यमा,
एक पुरुष लेखकको उत्तम विचार कविताका केही हरफ सापटी लिएर आफ्नो भनाइलाई बीट मार्न चाहन्छु
चौको छोडी उठ अब तिमी आँट नौलो लिएर
बोक्ने छैनौ कहर मनमा अश्रुधारा पिएर ।
नारी नै हुन् असुरवधनी दिव्य काली समान
नारी श्रष्टा अचल धरणी सृष्टिकी हुन् मुहान ।
सृष्टिका मुहान नारी जातिको स्वास्थ्यको महŒव सर्वाधिक उच्च छ भन्दा फरक नपर्ला, किनभने नारी जातिले नै मातृत्वको स्नेहद्वारा देशका भावी सन्ततिको लालनपालन गर्छन्, शिक्षादीक्षा दिएर देश विकास गर्न सक्षम एवम् सुसंस्कृत नागरिक तयार पार्छन् ।
यति मात्र नभएर आमा र नवजात शिशुको स्वास्थ्यस्थितिले कर्णाली प्रदेशको स्वास्थ्यको यथार्थ चित्र देखाउँछ, अनि कर्णालीको चित्र जोडेपछि मात्र समग्र देशको स्वास्थ्य र विकासको तस्विरले पूर्णता प्राप्त गर्छ । देशको तस्विरलाई पूर्णताको उज्यालो दिन कर्णालीको स्वास्थ्यका लागि र पितृसत्ताले थोपरेका नकारात्मक असर हटाउनका लागि जिम्मेवारी पूर्वक सबैले आ–आफ्नो दायित्व निर्वाह गरौँ । यसो भएमा कर्णाली प्रदेशले स्वास्थ्य सेवामा सफलताको उच्चतम् उदाहरण दिँदै पूर्वजले कायम गरेको ऐतिहासिक गरिमालाई थप उचाइमा लैजान सफल हुनेछ भन्ने मेरो विश्वास छ ।
-डा. सुधा शर्मा (पूर्वसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रसूति तथा स्त्रीरोग विशेषज्ञ)
प्रकाशित मितिः ६ फाल्गुन २०८०, आईतवार ०९:३४
कुडा कर्णालीका ।