नेपालका लागि विश्वकप–२०२७ को बाटो

 

सन् २०२३ को अक्टोबर–नोभेम्बरमा १३औँ विश्वकप क्रिकेट समापन भएसँगै सन् २०२७ को लागि छनोट नियमसहित तालिका प्रकाशित भएको छ । विश्वकप खेल्ने राष्ट्रको संख्या १० बाट बढाएर १४ पु¥याएपछि यस छनौट चक्रले आगामी संस्करणमा कम्तीमा दुई एसोसिएट राष्ट्रहरूको सहभागिता सुनिश्चित भएको छ । नेपालसमेत छनोट भएको टि–२० विश्वकप–२०२४ मा पनि सहभागी राष्ट्रहरूको संख्या १६ बाट २० पु¥याइएको छ । एसोसिएट राष्ट्रप्रति कठोर नीति लिएको भन्दै आइसीसीको छनोटलाई लिएर बेलाबखत आलोचना समेत हुने गरेको थियो । २०२७ को विश्वकपमा कूल ५४ वटा खेल हुने छन्, जसमा ४२ खेल लिग चरण, नौ खेल सुपर सिक्स, दुई सेमिफाइनल र एक फाइनल समावेश छन् । यसको लागि १४ टिमलाई दुई समूहमा बाँडिने छ र हरेकले एकआपसमा खेल्दा ६ वटा खेल खेल्ने छन् । दुवै समूहका शीर्ष तीनमा रहने टोली सुपर सिक्समा पुग्ने छन् । त्यहाँ अर्को समूहबाट आएका हरेक टोलीसँग खेलेपछि शीर्ष चारमा रहने टोलीहरू सेमिफाइनलमा पुग्ने छन् । अर्थात् लिगमा खेलेकाहरूसँग सुपर सिक्स चरणमा भेट हुने छैन । नेपालले भने विश्वकपमा पुग्न कम्तीमा दुई खुट्किला पार गर्नुपर्ने पक्काजस्तै छ ।

 

 

विश्वकप २०२७ को छनोट प्रक्रिया

आउने विश्वकप खेल्ने टोलीहरूको टुँगो विभिन्न चरणमा लाग्दै जाने छ । जसअनुसार आयोजकको हैसियतमा दुई, तोकिएको मितिमा शीर्ष आठमा परेका आयोजकबाहेक आठ र ग्लोबल क्वालिफाएरबाट उत्कृष्ट चार राष्ट्रहरू छनोट गरिने छन् । त्यसैले छनोट चरणमा सहभागी हरेक राष्ट्रहरूको लागि उत्तिकै अवसर रहेको छ ।

 

 

विश्वकप आयोजक सिधै छानिने

आइसीसीले विश्वकप आयोजना गर्ने राष्ट्रहरूलाई छनौट खेल्नु नपर्ने नियम बनाएको छ । १४औँ संस्करणको विश्वकप आयोजना दक्षिण अफ्रिका, जिम्बाव्ये र नामिबियाले संयुक्त रूपमा गर्दै छन् । त्यसैले आयोजकको कोटाबाट दक्षिण अफ्रिका र जिम्बाव्ये सिधै छनौट भइसकेका छन् । पूर्ण सदस्यता नभएकोले नामिबियाले भने आठ वटा राष्ट्र सम्मिलित आइसीसी लिग–२ मार्फत् शीर्ष चारमा पर्दै ग्लोबल क्वालिफायरमा पुग्नु पर्ने छ । त्यसपछि त्यहाँ शीर्ष ४ मा परेमा मात्रै उसले विश्वकप खेल्न पाउने छ । यसर्थ १४औँ विश्वकप आयोजकले समेत खेल्न नपाएको विश्वकपका रूपमा समेत चित्रित हुन सक्ने सम्भावना जिवितै छ । एक वा दुईभन्दा बढी राष्ट्रलाई सिधै छनौट गर्ने अभ्यास नरहेकोले पनि नामिबियाले उक्त अवसरबाट वञ्चित हुनु परेको देखिन्छ ।

 

वरीयताको अंकगणित

बाँकी रहेको १२ कोटामध्ये आइसीसीले जारी गर्ने एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सन् २०२७ मार्च ३१ को दिनसम्म वा त्यस दिनमा शीर्ष आठमा पर्ने टोलीहरू पनि उक्त विश्वकपको लागि सिधै छनोट हुनेछन् । त्यसैले यो विश्वकपमा पूर्ण सदस्यता प्राप्त तर पुछारमा रहेका राष्ट्रहरूले समेत कडा मेहनत गर्नु पर्ने देखिन्छ । यसअघि वरीयतामा माथि पर्न र जितको प्रतिष्ठाको लागि खेलिने अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट अब विश्वकप छनोटमा पनि महŒवपूर्ण हुन पुगेको छ । अर्को शब्दमा अब हुने दुई देशीय तथा त्री–देशीय क्रिकेटका एक दिवसीय सिरिजहरू वरीयता मापनका साथै विश्वकप छनोटका सुचकको रूपमा काम गर्ने छन् । यद्यपि, शीर्ष तीनमा रहेका राष्ट्रहरूका लागि त्यो केही कम चुनौतिपूर्ण मानिन्छ । आइसीसीले हरेक सिरिजपश्चात् तिनै ढाँचाका वरीयताहरू नियमित अध्यावधिक गर्दै आएको छ ।

 

आइसीसी लिग–२

आयोजकबाट दुई र शीर्ष आठमा परेर छनोट हुने बाहेक चार स्थानको लागि विश्वकप छनोट केही लामो रहेको छ । विक्रम संवत् २०८० फाल्गुन १, तदनुसार २०२४ को १३ फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको एक दिवसीय विश्वकप छनोटको खेल तालिका अनुसार आगामी चार वर्षमा आइसीसी लिग–२ अन्तर्गत आठ एसोसिएट राष्ट्रबीच २४ वटा सिरिज हुने छन् र कूल एक सय ४४ वटा एक दिवसीय अन्तराष्ट्रिय खेलहरू हुने छन् । छनोटमा सहभागी राष्ट्रले ५०% खेलहरू घरेलु मैदानमा र आधा विदेशी मैदानमा खेल्नु पर्ने छ ।

२०२७ को विश्वकपका लागि छनौटमा एकाध बाहेक खासै परिवर्तन गरिएको छैन । यसअघि ग्लोबल क्वालिफायरमा पुगेर विश्वकप खेल्न पाउने दौडबाट बाहिरिएको नेपालले आफ्नो पहिलो खेल सन् २०२४ फेब्रुअरी १५ मा नामिबियाबिरुद्ध खेल्दै छनौट प्रतियोगिताको सुभारम्भ गरेको छ । गत सिजनको आइसीसी लिग–२ ओमान र पप्पुवा न्यू गिनिबाट सुरुवात भएकोमा यस पटक आयोजक नामिबिया र नेपालबीचको खेलबाट उक्त लिग–२ औपचारिक रूपमै सुरु गरिएको छ । यस लिगको समापनमा शीर्ष चारमा पर्ने टोलीहरू ग्लोबल क्वालिफायरमा पुग्ने छन् । पुछारका चार टोलीले च्यालेन्ज लिगबाट आउने दुई टोलीसँग क्वालिफायर प्ले–अफ खेल्नु पर्ने छ ।

यसपटक आइसीसी लिग–२ मा साविकका राष्ट्रहरूः नेपाल, स्कटल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स, अमेरिका र आयोजक नामिबिया छन् । गत छनौटमा सुपर लिग खेलेको नेदरल्यान्ड र हालै एक दिवसीय मान्यता पाएको क्यानडा पनि लिग–२ मा रहेर छनोट खेल्दै छन् । पप्पुवा न्यू गिनिको भने प्ले–अफको खेलमा पुछारमा रहँदा एक दिवसीय मान्यता गुमेको थियो । गत लिग–२ को संस्करणमा अन्तिमका १२ मध्ये ११ खेल जितेको नेपाललाई बलियो दाबेदारका रूपमा लिइएको छ ।

 

च्यालेन्ज लिग

एक दिवसीय मान्यता नभएका राष्ट्रहरूमध्ये माथिल्लो क्रममा रहेका १२ राष्ट्रहरूबीच आगामी तीन वर्षसम्म च्यालेन्ज लिग खेलाइने छ । यस प्रतियोगितालाई लिस्ट–ए श्रेणीको क्रिकेट भनिएको छ । आइसीसी विश्वकप क्वालिफायर प्ले–अफ २०२३ को पुछारमा रहेका पप्पुवा न्यू गिनी र जर्सीले यो पटक च्यालेन्ज लिग खेल्ने छन् । यस्तै गत च्यालेन्ज लिगका ३–८औँ स्थानमा रहेका ६ टोली (डेन्मार्क, हङकङ, युगान्डा, केन्या, कतार र सिङ्गापुर) पनि यो पटक विश्वकप छनौट खेल्न च्यालेन्ज लिग खेल्ने छन् । च्यालेन्ज लिगका बाँकी चार टोलीको टुँगो भने आइसीसी च्यालेन्ज लिग क्वालिफायर प्ले–अफ प्रतियोगिताबाट लाग्ने छ । २०२४ आइसीसी च्यालेन्ज लिग क्वालिफायर प्ले–अफ प्रतियोगिता यहि २२ फेब्रुअरीदेखि ३ मार्चसम्म मलेसियामा हुँदै छ ।

च्यालेन्ज लिगका १२ टिमलाई दुई समूहमा बाँडिने छ । यसरी च्यालेन्ज लिगमा जम्मा १२ टिमले एक–दोस्रोसँग खेल्ने छन् । यो लिगमा कूल ९० खेल हुने छन् । च्यालेन्ज लिगको शीर्ष दुईमा रहने टोलीहरू आइसीसी विश्वकप क्वालिफायर प्ले–अफमा छनौट हुने छन् । उक्त प्रतियोगितामा राम्रो प्रदर्शन गरेमा एक दिवसीय मान्यतासमेत प्राप्त गर्न सक्ने छन् । अर्थात् आगामी तीन वर्ष राम्रो खेल खेलेमा ३२औँ स्थानमा रहेको राष्ट्र सिधै २०औँ स्थानमा पुग्न सक्छ । उच्च प्रदर्शन गरेमा विश्वकप २०२७ मा छनोट हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

 

 

आइसीसी विश्वकप क्वालिफायर प्ले–अफ

च्यालेन्ज लिगका शीर्ष दुई टोली र आइसीसी लिग–२ को पुछारमा रहने चार टोली गरी ६ टोली आइसीसी विश्वकप क्वालिफायर प्ले–अफ खेल्ने छन् । यसमा एकले अर्कोसँग खेलेपछि शीर्ष दुई टोली आइसीसी ग्लोबल क्वालिफायरमा छनोट हुने छन् । ग्लोबल क्वालिफायर प्ले–अफको शीर्ष चारमा रहने टोलीको आगामी सन् २०३१ सम्म एक दिवसीय मान्यता सुरक्षित रहने छ । पुछारमा रहने टोलीहरू च्यालेन्ज लिगमा घटुवा हुने छन् । यस्तै एक दिवसीय मान्यता पाएका टोलीहरू उक्त प्रतियोगिताको पुछारमा रहेमा सो समेत समाप्त हुने छ । गत सिजनमा पप्पुवा न्यू गिनिले पुछारमा रहेकै कारण एक दिवसीय मान्यता गुमाउँदा शीर्ष चारमा रहँदै क्यानडाले उक्त मान्यता पाएको थियो ।

 

आइसीसी विश्वकप ग्लोबल क्वालिफायर

सन् २०२७ मार्च ३१ सम्म शीर्ष आठमा नपरेकै कारण विश्वकपमा छनोट नभएका दुई पूर्ण सदस्य राष्ट्रहरू, आइसीसी लिग–२ का शीर्ष चार राष्ट्रहरू र आइसीसी क्वालिफायर प्ले–अफबाट शीर्ष चारमा पर्ने राष्ट्रहरू गरी १० टोलीबीच विश्वकप छनोट प्रतियोगिता हुने छ । सहभागी १० राष्ट्रहरूबाट शीर्ष चार टोलीले सन् २०२७ को विश्वकपमा स्थान सुरक्षित राख्ने छन् । अर्थात् नेपालले विश्वकप–२०२७ मा स्थान सुरक्षित गर्न आइसीसी विश्वकप लिग–२ मा राम्रो प्रदर्शन गर्दै ग्लोबल क्वालिफायरमा पुग्नुपर्ने हुन्छ । त्यहाँ अन्य नौ टोलीको भन्दा राम्रो गर्ने र कम्तिमा चौथो स्थानमा रहने गरी क्रिकेट खेल्नुको विकल्प छैन । यदि चौथो स्थानमा रहन सके सन् २०२७ मा अफ्रिका महादेशमा आयोजना हुने १४आँै विश्वकपमा पहिलो पटक नेपालले आफ्नो राष्ट्रिय गानमा झण्डा फहराउने छ ।

 

सारांश

आगामी विश्वकपको लागि १४ मध्ये १० राष्ट्रहरू सिधै छनौट हुने छन्, दुई वटा आयोजकको हैसियतमा र आठ वटा शीर्ष ८ को वरीयतामा रहेर । बाँकी रहेका चार वटा स्थानको लागि भने सिधै छनौट नहुने दुई वटा पूर्ण सदस्य राष्ट्रहरू तथा एक दिवसीय मान्यता पाएका नेपाल लगायत २२ एसोसिएट राष्ट्रहरूले छनोटका विभिन्न चरण पार गर्दै विश्वकप छनोटको ग्लोबल क्वालिफायर खेल्नु पर्ने छ । त्यस प्रतियोगिताले १४औँ विश्वकप खेल्ने अन्तिम चार टोलीको छिनोफानो गर्ने छ ।
यसअघिको लिग–२ चक्रमा सात एसोसिएट राष्ट्रहरूले एक आपसमा ६ वटा सिरिज अन्तर्गत कूल एक सय ४० खेल खेलेका थिए । गत विश्वकप छनोटमा सुपरलिग खेलेको नेदरल्याण्ड यसपटक लिग–२ खेल्दैछ । गत विश्वकपमा छनोटको आधार समेत मानिएको आइसीसी सुपर लिग यसपटकको छनोटमा हटाइएको छ । रोचक त यो छ कि, आयोजक भएर पनि नामिबियाले नेपालसँगै छनौट खेल्दै छ । कम्तीमा दुई राष्ट्रको स्थान सुनिश्चित रहेको छ । अघिल्लो विश्वकपको छनोटमा जस्तै प्रदर्शन दोहो¥याउन सके नेपाल एक दिवसीय विश्वकपमा छनोट हुँदै अर्को इतिहास रच्न सक्छ । केवल यसर्थमा नेपालका लागि आगामी विश्वकप सुनौलो अवसरका रूपमा रहेको छ ।

प्रकाशित मितिः   ५ फाल्गुन २०८०, शनिबार ०५:०४