सम्पत्तिका मालिक बन्दै महिला

सुर्खेत, २४ फागुन ।
घरखर्च धान्न अरुकै भर । परिवारमा सधैं दोस्रो दर्जाको नागरिकको रूपमा बस्नुपर्ने बाध्यता । आफ्नो नाममा कुनै पनि सम्पत्ति नहुने । हातमा ठेला बस्ने गरी काम ग¥यो, तर मेहेनतले कमाएको सम्पत्ति पुरुषलाई नै सुम्पनुपर्ने । आफैले जोडेको सम्पत्तिमा अधिकार नहुँदा महिलाहरू परनिर्भर हुनुपर्ने अवस्था । आर्थिक अधिकार नहुँदा घरेलुहिंसाको शिकार पनि बन्नुप¥यो ।
तर पछिल्लो समय महिलाहरूको अवस्थामा विस्तारै परिवर्तन आएको छ । सामाजिक चेतना र शिक्षामा भएको प्रगतिसँगै महिलाहरूको सम्पत्तिमा स्वामित्व बढ्दै गएको हो । कुनैबेला घरखर्चसमेत अरुसँग माग्नुपर्ने बाध्यतामा रहेका महिलाहरू हिजोआज मालिक बन्न थालेका छन् । महिलाहरूको घरजग्गामा स्वामित्व बढेपछि उनीहरूमाथि हुने हिंसामा पनि कमी आएको हो । वीरेन्द्रनगर नगरपालिकाको अवस्थालाई मात्र हेर्दा विगतको तुलनामा महिलाहरूको नाममा घरजग्गा नामसारी गर्ने क्रम बढेको छ । नगर क्षेत्रका महिलाहरूको नाममा घर र जग्गा पास हुने क्रम एकाएक बढेको छ । यसले पनि महिलाहरू विस्तारै सम्पत्तिका मालिक बन्दै गएको पुष्टी गरेको छ ।
चालु आर्थिक वर्षको साउन महिनादेखि फागुनसम्म नौ महिनाको अवधिमा वीरेन्द्रनगरमा दुई सय ८८ नयाँ घर निर्माण भए । जसमध्ये एक सय २० वटा घर महिलाको नाममा पास भएका छन् । वीरेन्द्रनगर नगरपालिका कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै महिलाको नाममा घर पास भएर निर्माण भएका छन् । कार्यालयका अनुसार अघिल्लो वर्ष नगरपालिका क्षेत्रमा निर्माण भएका घरमध्ये दुई सय ८२ वटा घर महिलाको नाममा पास भएका थिए । यो तथ्यांकले पनि सम्पत्तिमा महिलाको स्वामित्व बढेको देखाएको छ । नगरपालिकाले हरेक दिन घर निर्माणका लागि नक्सा पास र घर निर्माण भएपछि घर पास गर्न आउनेको संख्या बढेको जनाएको छ । यस्तै अघिल्ला वर्षहरूमा केवल पुरुषहरूको नाममा मात्र घर निर्माण हुने गरेको भन्दै कार्यालयले हिजोआज भने महिलाको नाममा पनि घर पास हुने क्रम बढेको जानकारी दिएको हो ।
नगरपालिका कार्यालयका अमिन मोहन कार्कीले राजस्वमा सहुलियत पाएपछि महिलाको नाममा घरजग्गा पास गर्नेको संख्या वृद्धि भएको बताए । उनले भने, ‘महिलाको नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट हुन्छ, छुट पाइने भएकाले पनि महिलाको नाममा पास गर्ने बढेका हुन् । अर्कोतर्फ अब महिलाहरू पनि आर्थिक रूपमा सवल बन्दै गएका छन्, अब महिलाको आफै सम्पत्ति जोड्ने हैसियत पनि बनेको छ ।’ उनका अनुसार अधिकांश पुरुषहरू रोजगारीका लागि विदेशमा रहेकाले पनि महिलाहरूको सम्पत्तिमा स्वामित्व बढ्दै गएको हो । उनले थपे, ‘अधिकांश पुरुषहरू घरबाहिर छन्, घरको सबै जिम्मेवारी महिलाको काँधमा छ । महिलाहरूले नै परिवार सञ्चालन गरिरहेका छन्, यस्तो अवस्थामा महिलाहरू नै अब सम्पत्तिका मालिक बन्ने नै भए ।’ नगर क्षेत्रमा मात्र होइन, जिल्लाका ग्रामीण क्षेत्रमा पनि महिलाहरू विस्तारै सम्पत्तिका मालिक बन्दै गएका छन् । घर, जग्गा, व्यवसाय र उत्पादनमा स्वामित्व बढेसँगै महिलामाथि हुने हिंसामासमेत कमी आएको छ ।
महिला अधिकारकर्मी मोहनमाया ढकाल भन्छिन्, ‘शासन व्यवस्था फेरिएको छ, महिलाहरूमा चेतनास्तर पनि बढेको छ । उत्पादनमा अर्थपूर्ण सहभागिता हुन थालेको छ, यसले आर्थिक रूपमा पनि महिलालाई सवल बनाउँदै छ ।’ सम्पत्तिमा समान अधिकार र स्वामित्व नहुँदासम्म महिलाहरूको सवलीकरण हुन नसक्ने उनको भनाइ छ । सम्पत्तिमा स्वामित्व भए महिलाहरूले कसैको हिंसा सहनु नपर्ने भन्दै उनले यसले हिंसामा पनि कमी ल्याउने बताइन् । जिल्ला मालपोत कार्यालयका अनुसार जग्गामा पनि महिलाहरूको स्वामित्व बढेको छ । कार्यालयका अनुसार अघिल्ला वर्षको तुलनामा महिलाको नाममा जग्गा पास हुनेक्रम वृद्धि भएको हो । महिलाको नाममा जग्गा पास भएपछि बेचबिखनमा समेत उनीहरूको अधिकार स्थापित भएको छ । यसले पनि महिलाहरूलाई सम्पत्तिको मालिक मात्र बनाएको छैन, त्यसको बेचबिखन गर्ने अधिकार समेत दिलाएको छ । सम्पत्तिमा स्वामित्व बढेसँगै सम्पत्तिकै कारण महिलामाथि हुने विभिन्न हिंसामा समेत कमी आएको अधिकारकर्मीको दाबी छ ।

प्रकाशित मितिः   २५ फाल्गुन २०७३, बुधबार १३:१०