‘बारीको तरकारी चोरेर छिमेकीलाई बाँड्थें’

हेमराज विष्ट जिल्ला वन कार्यालय सुर्खेतका जिल्ला वन अधिकृत हुन् । वि.सं. २०३० कात्तिक ५ गते बुबा दयानन्द विष्ट र आमा कौशल्यादेवी विष्टको माइला छोराको रूपमा उनको जन्म दार्चुलामा भयो । वि.सं. २०५५ सालदेखि जिल्ला वन अधिकृतको रूपमा सरकारी सेवा गरिरहेका उनको बाल्यकाल रमाइलोसँग बित्यो । धेरै दुःखकष्ट व्यहोर्नु परेन । पढाइमा अब्बल नै थिए । मेहेनती पनि थिए । उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ः

हाम्रो ठूलो परिवार थियो, चार भाइ र पाँच दिदीबहिनी । म माइलो हुँ । म चलाख पनि थिएँ रे । घरको काम गर्नुपर्दा पढेको बहाना गर्थें । बुबाआमाले पत्याउनुहुन्थ्यो । म भने पढेजस्तै गरेर काम ठग्थें । सानैदेखि मेरो पढाइ राम्रो थियो । त्यसैले पनि ‘पढाइमा राम्रो छ । यसको पढाइ बिर्गानु हुँदैन’ भनेर मलाई काममा लगाउनु हुँदैनथ्यो । कहिले काहिँ काम लगाउँदा म किताब समाएर पढेको नाटक गरेर बस्थें ।
कक्षा ८ सम्म मैले अमरिकन शिक्षकसँग पढेको हुँ । सधैं होमवर्क सकेर मात्र अरु काम गर्थें । पढ्नुपर्छ भन्ने सोच थियो । मलाई विद्यालय, घर र छिमेकमा सबैले माया गर्नुहुन्थ्यो । पढाइमा राम्रो भएको कारणले पनि होला । कक्षामा सधैं प्रथम हुन्थें । शिक्षकहरूले माया गर्नुहुन्थ्यो । मैले माध्यमिक शिक्षा गोकुलेश्वर माविबाट पूरा गरें । पढाइमा जान्ने छ भनेर साथीभाइहरू पनि माया गर्थे । हामीसँगै घरमा हजुरआमा र हजुरबुबा पनि बस्नुहुन्थ्यो । उहाँहरूले पनि धेरै माया गर्नुहुन्थ्यो । हजुरआमाले साँझतिर हामीलाई कथा सुनाउने गर्नुहुन्थ्यो । विशेष गरेर राक्षस र देवताहरूको कथा सुनाउने गर्नुहुन्थ्यो । देवता जस्तै सबैको प्यारो बन्नुपर्छ, राम्रो काम गर्नुपर्छ भनेर उहाँहरूले भन्नुहुन्थ्यो । त्यसकारण पनि सबैको प्यारो बन्न मन लाग्थ्यो । हाम्रो परिवार मध्यम खालको थियो । त्यसकारण अभाव कहिले पनि भएन । खान लाउन पुग्थ्यो ।

त्यतिबेलाको समाज पछौटेपनले ग्रस्त थियो । माछा मार्ने काम दलित समुदायको मात्र हो भन्ने गलत सोच हावी थियो । म भने साथीभाइहरूलाई लिएर माछा मार्नको लागि खोलामा जान्थें । माछा मार्न जाने नेतृत्व मैले नै गर्थें । गाउँको नजिकै चमेलिया नदी थियो । हामी पासो थापेर, बम पड्काएर माछा मार्ने गथ्र्यौं । माछा मार्न गएको थाहा पाएपछि बुबाले मेरो कुलमा जन्मिएर जात फाल्ने भइस भनेर पिट्नुहुन्थ्यो । खुब गाली गर्नुहुन्थ्यो । बुबाले जति गाली गरे पनि, पिटे पनि मैले माछा मार्न छोडिनँ । माछा मार्न जाँदा नदीमा पौडी पनि खेलिन्थ्यो, साथीहरूसँग रमाइलो नै हुन्थ्यो ।
बाल्यकालमा छिमेकीहरूको केही विगार गरिनँ । बरु आफ्नै बारीमा भएको तरकारी चोरेर छिमेकीलाई दिन्थें । अरुको घरमाभन्दा हाम्रो घरमा तरकारी धेरै हुन्थ्यो । मलाई गाउँमा सबैले माया गर्नुहुन्थ्यो । माया पाउँछु भन्ने सोचले पनि तरकारी लिएर दिन्थें । बिहान आमाले करेशा बारीबाट कसले तरकारी चोरेछ भनेर भन्नुहुन्थ्यो तर मैले चोरेर छिमेकीलाई लगेर दिएको थाहा नै पाउनु हुँदैनथ्यो । गाउँघरमा पहिले हुक्कामा तमाखु राखेर खान्थे । बुबाले पनि खानुहुन्थ्यो । उहाँले तमाखुको खेती नै गर्नुभएको थियो । मैले तमाखु चोरेर छिमेकीलाई लगिदिन्थें ।
बुबाको अलि डर लाग्थ्यो । आमाको डर लाग्दैन्थ्यो । आमा निरक्षर हुनुहुन्थ्यो । मैले त्यसको फाइदा उठाएँ । त्यसबेलामा इन्डियन तालामा दुई वटा साँचो हुन्थ्यो, चाइनिज तालामा तीन वटा साँचो हुन्थ्यो । मैले आमालाई इन्डियन ताला भनेर चाइनिज ताला किनेर दिन्थें । एउटा साँचो आफैसँग राख्थें । पैसा आवश्यक प¥यो भने कसैले थाहा नपाउने गरेर झिक्थें । त्यो साँचो अझै पनि म सँगै छ, घरमा । पैसा खर्च गर्ने ठाउँ त धेरै हुँदैनथ्यो । मिश्री, चमेना बिस्कुट, डालीमा बिस्कुट किनेर खाइन्थ्यो । एक पटकमा पाँच÷सात रूपैयाँ चोर्थें । कहिले काहिँ आवश्यक प¥यो भने मात्र झिक्थें । मैले पैसा चोरेको कसैले पनि थाहा पाउँदैनथे । बरु म भाइबहिनीहरूले घरमा कतै चोरेका छन् की भनेर निगरानी राख्थें । त्यसकारण पनि मैले पैसा चोरेको कसैले पनि थाहा पाउनु हुँदैन्थ्यो । हाम्रो घरमा मौरी पनि थियो । घरको भित्तामामौरीको घार हुन्थे । मैले घारबाट नै मह चोरेर खान्थे । मह निकाले पनि काठमा माटोले लिपिदिन्थे । अनि धुलो माटो ल्याएर हालिदिन्थें । घरमा मौरीले मह नै दिँदैन भन्नुहुथ्यो । तर मैले मह चोरेर खाएको थाहा पाउनु हुँदैन्थ्यो ।
घरमा धानको भकारीमा भेली राख्नुहुन्थ्यो । केटाकेटी हुदाँ धेरै गुलियो चिजहरू खान मन लाग्ने । भेली माग्यो भने थोरै दिनुहुन्छ भनेर चोरेर खान्थ्यौं । लामो सुइरोले भकारीमा कहाँनिर भेली राख्नुभएको छ भनेर पत्ता लगाउने र भेली खोजीखोजी खान्थ्यौं । हाम्रो तीन ठाउँमा घर थियो । बेशीमा, अलि जाडो हुने ठाउँमा र अलि पहाडमा थियो । एक दिन साथीहरूसँग काँक्रा चोर्न जाउँ भनेर सल्लाह भयो । काँक्रा चोर्न त आफ्नै पहाडको घरमा पुगेछौं । पछि हजुरबुबाको बोली सुनेर भागेर आयौं । भलिपल्ट हजुरबुबाले काँक्रा चोर्न आएका थिए म भएर चोर्न पाएनन् भन्नुभयो । त्यो घटना सम्झिँदा अहिले पनि रमाइलो लाग्छ ।
ठूलो दाइ पढ्नको लागि इन्डिया जानु भएको थियो । घरमा अरु भाइबहिनी । मैले भाइहरूलाई काम गराए भने मानिहाल्थे । त्यसकारण पनि मैले घरको काम करले गर्नुपरेन । कहिले काहिँ रहरले काम गरिन्थ्यो । खरबारी थियो । गाइवस्तु लिएर खरबारीमा चराउन लैजान्थ्यौं । खरबारीमा गाईवस्तु छोड्दिने गथ्र्यौं । साथीहरू जम्मा भएर खेल्न जान्थ्यौं । खेलकुद धेरै खेल्ने गथ्र्यौं । कहिले काहीँ साथीभाइहरूमा समान्य झगडा पनि हुन्थ्यो । सानोमा हाने पनि चोट लाग्छ भन्ने पनि सोचिएन् । म अलि बलियो नै थिएँ । एक दिन साथीहरूसँग सामान्य झगडा भएको थियो । मैले मुड्कीले साथीको निधारमा
हानें । उसलाई धेरै चोट लागिहाले छ । त्यस दिन मात्र थाहा पाएँ यसरी हाने पछि त धेरै चोट लाग्ने रहेछ भनेर ।
गाउँघरमा सबै पढेलेखेका मानिसहरू हुँदैनथे । पढेलेखेहरू कोही कमाउनको लागि इन्डिया जान्थे । उनीहरूले आफ्नो घरमा चिठि पठाउँथे । मैले उनीहरूका आफन्तहरूलाई चिठ्ठी पढेर सुनाउने गर्थे र चिठ्ठी लेखेर हुलाकसम्म पु¥याइदिन्थें । आफूलाई धर्म कमाएको जस्तो लाग्थ्यो । बाल्यकाल रमाइलोसँग नै बित्यो । विशेष गरेर पढाइमा नै धेरै समय गयो । मेहनत गरेर पढ्यो भने सफल भइन्छ । प्रगति गरिन्छ भन्ने सोच आउँथ्यो ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७३, सोमबार १३:०१