माथिल्लो कर्णालीका लागि लगानी स्वीकृत
सुर्खेत: माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी गर्न डेढ खर्ब बजेट स्वीकृत भएको छ । लगानी बोर्डले एक खर्ब ६२ अर्ब ४९ करोड लगानी गर्न स्वीकृति दिएको हो ।
विदेशी लगानीकर्ताले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न लगानी बोर्डबाट स्वीकृति लिएका छन् । बोर्डले १२ वर्षको अवधिमा विभिन्न २८ वटा जलविद्युत, सौर्यलगायत ऊर्जासम्बन्धी आयोजनामा लगानीका लागि स्वीकृति दिएको हो । लगानी बोर्डले ६ अर्बभन्दा बढी लागत लाग्ने आयोजनाको हकमा विदेशी लगानी स्वीकृत गर्दै आएको छ । त्योभन्दा कम लागतका आयोजनाको विदेशी लगानी उद्योग विभागले स्वीकृत गर्छ । जसअनुसार माथिल्लो कर्णालीलगायत ठूला आयोजनाका लागि लगानी स्वीकृत गरेको हो ।
नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) सकिएको छ । यद्यपि, लगानीको सुनिश्चितता नहुँदा निर्माण कार्य रोकिएको छ । पटक–पटक म्याद थप गरेपनि आयोजना अघि बढ्न सकेको छैन ।
निर्माणको जिम्मा पाएको जीएमआरले १६ वर्षदेखि माथिल्लो कर्णाली जलविद्युत आयोजना होल्ड गर्दै आएको छ । २०६४ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अछामको भैरवस्थानमा विद्युत गृह रहने गरी जीएमआरसँग निर्माणको सम्झौता गरेको थियो । त्यतिबेला सात वर्षमा काम सक्ने जनाइएको थियो । त्यसपछि २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा परियोजना विकास सम्झौता (पीडीए) मा पुनः हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा २०७३ असोज ३ गतेभित्र आयोजनाका लागि आवश्यक लगानी जुटाइसक्ने उल्लेख छ ।
सम्झौता भएको १६ वर्षसम्म पनि उक्त कम्पनीले लगानी जुटाउन सकेको छैन । पटक–पटक म्याद थप्दा पनि लगानी जुटाउन नसकेपछि सम्झौता रद्ध गर्न स्थानीयले माग गरेका छन् । यतिका वर्षसम्म जलविद्युत आयोजनाको लाइसेन्स खारेजी गर्नुको साटो सरकारले पुनः दुई वर्ष म्याद थप गरेको छ ।
प्रकाशित मितिः २३ माघ २०८०, मंगलवार ०५:०१
साझा बिसौनी ।