व्यावसायिक बन्दै आलुको बीऊ उत्पादन
सुर्खेत: कर्णाली प्रदेश सरकारले किसानलाई आत्मनिर्भर बनाउन व्यावसायिक आलुको बीऊ उत्पादन कार्यक्रम लागू गरेको छ । कार्यक्रममार्फत् समूह सहकारीलाई विभिन्न अनुदानका कार्यक्रम दिने गरिएको छ ।
कृषि विकास निर्देशनालय सुर्खेतले कृषि समूह वा सहकारीमार्फत् कार्यक्रम कार्यान्वयन गरिरहेको छ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडले व्यावसायिक रूपमा आलुको बीऊ उत्पादन थालेको छ । निर्देशनालयको आर्थिक सहयोगमा २०७३ सालबाट कृषकहरूले बीऊ उत्पादन गरिरहेका छन् । त्यतिबेला ४२ जना कृषकको ९२ रोपनी जग्गामा आलुको बीऊ उत्पादन गरिएको थियो । बर्सेनि क्षेत्र विस्तार गरेर बीऊ उत्पादन गर्ने गरिएको निर्देशनालयले जनाएको छ । प्रत्येक वर्ष कृषकलाई अनुदान दिने गरिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले बताए । उनले भने, ‘भेरीगंगा आलुको बीऊ उत्पादनको पकेट क्षेत्र मानिन्छ । प्रत्येक वर्ष अनुदानका कार्यक्रम राखेका छौँ ।’
हाल एक सयभन्दा बढी कृषकले आलुको बीऊ उत्पादन गरिरहेको सहकारीका पूर्वअध्यक्ष तथा लेखा समिति संयोजक ज्ञानु भुसालले बताइन् । कृषकलाई सहकारीको ५० प्रतिशत र कृषि विकास निर्देशनालय सुर्खेतको ५० प्रतिशत अनुदान दिने गरिएको छ । केही कृषक अनुदानमा समेटिएको भएपनि केही कृषकले आफ्नै लगानीमा आलुको बीऊ उत्पादन गरिरहेका छन् । नगरपालिकाको वडा नं. ५, १० र १२ का कृषकहरूले बीऊ उत्पादनका लागि व्यावसायिक रूपका लागेका छन् ।
प्रत्येक वर्ष क्षेत्र विस्तार गरेर बीऊ उत्पादन भइरहेको छ । ९२ रोपनीबाट सुरु गरिएको आलुको बीऊ उत्पादन अहिले दुई सय रोपनीमा फैलिएको छ । चिस्यान केन्द्रमा भण्डारण गरेर बीऊ बिक्री गर्ने गरिएको भुसालले जानकारी दिइन् । यो वर्ष निर्देशनालयले सहकारीलाई एक सय ४५ क्वीन्टल आलुको बीऊ उपलब्ध गराएको छ । यसैगरी मूल बीऊ दुई हजार दाना दिएको छ । कृषकले उत्पादन गरेको बीऊ सहकारीले खरिद गरेर बजारीकरण गर्ने गरेको छ । उत्पादित बीऊ भेरीगंगाका साथसाथै वीरेन्द्रनगरदेखि नेपालगञ्जसम्म खपत हुने गरेको छ ।
भेरीगंगा नगरपालिका वडा नं. ५ की केशरी ओलीले पाँच रोपनी जग्गामा आलुको बीऊ उत्पादन गरिरहेको बताइन् । सरकारी अनुदानले व्यावसायिक रूपमा खेती गर्न सहज भएको उनको अनुभव छ । आलुको बीऊ बिक्री गरेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले सुनाइन् । सरकारी अनुदानले लाभ पुगेको उनको भनाइ छ ।
आलु प्रवद्र्धन कार्यक्रम विस्तार
कृषि विकास निर्देशनालय सुर्खेतले आलुको बीऊ विस्तार कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षमा दुई पालिकामा क्षेत्र विस्तार गरिएको जनाइएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा यो वर्षदेखि आलु प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ । वडा नं. १ को तेलपानीमा दुई हेक्टर क्षेत्रफलमा आलुको बीऊ उत्पादनाका लागि क्षेत्र विस्तार गरिएको हो ।
यसैगरी सिम्ता गाउँपालिकाको वडा नं. ८ डाँडाखालीमा समेत क्षेत्र विस्तार गरिएको छ । करिब तीन हेक्टर क्षेत्रफलमा आलु प्रवद्र्धन कार्यक्रम सुरु गरिएको हो । आलुको बीऊ उत्पादनका लागि दुई पालिकामा तीन लाख अनुदान दिइएको निर्देशनालयका सूचना अधिकारी तिलक पाण्डेले बताए । उनका अनुसार यो वर्ष दुई वटा पालिकामा आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।
यस्तै जिल्ला कृषि विकास कार्यालय दैलेखले तीन वटा स्थानीय तहमा आलु प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । जिल्लाको नारायण तथा चामुन्डाबिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकामा आलु प्रवद्र्धन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम कार्यान्वयनका लागि २० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख दशरथ पाण्डेले बताए । उनका अनुसार तीन वटा पालिकाका चार वटा वडामा कार्यक्रम सुरु गरिएको छ । नारायण नगरपालिकाको वडा नं. १० र ११, भैरवी गाउँपालिकाको वडा नं. ६ र चामुन्डाबिन्द्रासैनी नगरपालिकाको वडा नं.२ मा कार्यक्रम सुरु गरिएको छ ।
चार वडाका आठ वटा कृषक समूह, सहकारी छनोट भएका छन् । आलु उत्पादनका लागि एक सय ५० रोपनी क्षेत्र विस्तार गरिएको कार्यालय प्रमुख पाण्डेले जनाए । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेको उनको भनाइ छ । दैलेखको गुराँस गाउँपालिकालाई आलुको पकेट क्षेत्र मानिएको छ । तर, कृषि विकास कार्यालयले यो वर्षदेखि अन्य क्षेत्रमा समेत पकेट क्षेत्रका रूपमा कार्यक्रम अघि बढाएको छ । कार्यालयको ७० प्रतिशत अनुदान र कृषकको ३० प्रतिशत लागत रहनेगरी कार्यक्रम सुरु गरिएको छ ।
प्रकाशित मितिः १३ माघ २०८०, शनिबार ०५:०५
रजनी याेगी ।