पकेट क्षेत्रमा बन्दैछन् चिस्यान केन्द्र
सुर्खेत: कर्णाली प्रदेश सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणमा जोड दिएको छ । सोहीबमोजिम ठाउँ–ठाउँमा चिस्यान केन्द्र बनिरहेका छन् ।
वीरेन्द्रनगरमा बनिरहेको चिस्यान केन्द्र निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्डस्टोर निर्माण गरिएको हो । कृषि विकास निर्देशनालय सुर्खेतको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ लाटीकोइलीमा चिस्यान केन्द्र निर्माण थालिएको हो । निर्देशनालयको ७० प्रतिशत र साना किसान कृषि सहकारी संस्था लिमिटेडको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । निमार्ण कार्य अन्तिम चरणमा पुगेको संस्थाकी अध्यक्ष शान्ति सिंहले जानकारी दिइन् । उनका अनुसार चिस्यान केन्द्र निर्माणको ९८ प्रतिशत काम सम्पन्न भएको छ । विद्युतको ‘थ्री फेज’ लाइन जोड्ने काम भइरहेको उनले बताइन् ।
दुई सय मेट्रिक टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । पाँच सय मेट्रिक टन भार क्षमताको विस्तार गरेर प्रदेशस्तरीय बनाउने लक्ष्य राखिएको भएपनि हाल दुई सयबाट सुरुवात गर्ने जनाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण थालिएको थियो । करिब चार वर्ष लगाएर चिस्यान केन्द्र सञ्चालनको तयारी थालिएको छ । कृषि विकास निर्देशनालयको दुई करोड, साना किसान कृषि सहकारी संस्थाको डेढ करोड लागतमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । अबको एक महिनामा चिस्यान केन्द्र सञ्चालन गर्ने बताइएको छ । संस्थाका अध्यक्ष्य सिंहका अनुसार विद्युत सर्वेको कामसमेत सकिएकाले थ्री फेज लाइन जोड्ने काम भइरहेको छ । उनले भनिन्, ‘फलफूल, तरकारी शित भण्डारण गर्नका लागि छुट्टाछुट्टै स्थान तयार पारिएको छ । चिस्यान केन्द्र निर्माण भएपछि आलुको बीउ, फलफूल भण्डारणका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।’
पूर्वी सुर्खेतमा पनि बनाइँदै
पूर्वी सुर्खेतको गुर्भाकोटमा बनिरहेको चिस्यान केन्द्र निमार्ण कार्यसमेत अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत काम सकिएको जनाइएको छ । कृषिजन्य उत्पादनलाई बढावा दिन कर्णाली प्रदेश सरकारको लगानीमा गुर्भाकोट नगरपालिका वडा नं. ९ बोटेचौरमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । ८५ मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
२०७८ वैशाखबाट निर्माणको काम थालिएको थियो । कृषि विकास निर्देशनालय सुर्खेतको एक करोड ३५ लाख ६८ हजार, गुर्भाकोट नगरपालिकाको दश लाख र श्री कोटमाझ खर्क सामुदायिक कृषि सहकारी संस्थाको ५८ लाख १५ हजार रकममा निर्माण कार्य भइरहेको छ । चिस्यान केन्द्र निर्माणको ९० प्रतिशत काम सकिएको कोटमाझ खर्क सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष गिताराम थापाले बताए । उनका अनुसार ३०÷३० मेट्रिक टनका दुई वटा, १५ मेट्रिक टनको एउटा र दश मेट्रिक टनको एक गरि कूल चार वटा चेम्बर रहेको चिस्यान केन्द्रमा बीउविजनसँगै तरकारी तथा दुग्धजन्य वस्तुको चिस्यान गरिनेछ ।
आउँदो फागुनभित्रै कम्पाउण्डवाल, फिल्ड निर्माण र विद्युत जोडेर चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको थापाले जानकारी दिए । उनले जनुसुकै समयमा उत्पादन गरिएको तरकारी, फलफुलजन्य उत्पादनलाई भण्डारण गरेर मौषमअनुकूल बिक्री वितरण गर्ने लक्ष्य रहेको बताए । अब कोल्ड स्टोरेज भवनको रंगरोगनलगायत करिब दश प्रतिशत मात्रै काम बाँकी रहेको भन्दै निर्माण कार्य धमाधम भइरहेको जानकारी दिए ।
उनले चिस्यान केन्द्रको अभावमा कृषि तथा दुग्धजन्य भण्डारणका लागि बाँकेको कोहलपुरलगायतका सहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको जनाए । ‘पूर्वी सुर्खेतमा चिस्यान केन्द्र नहुँदा कृषकले उत्पादन गरेको तरकारी भण्डारण गर्न पाएका छैनन् । बाहिर जिल्लामा राख्दा लागत बढ्छ, आफ्नै गाउँमा चिस्यान केन्द्र बनेपछि त भण्डारण गरी बेमौसममा पनि बिक्री गर्न पाएमा मूल्य राम्रो पाइन्छ’ उनले भने, ‘सञ्चितीकरण भएपछि बजारको समस्या भएन । किसानमा उत्साह थपिन्छ र उत्पादन बढ्छ । स्थानीय किसानहरूलाई सहकारीमा आबद्ध गराई चिस्यान केन्द्रबाट लाभान्वित गराइनेछ ।’
अन्य ठाउँमा पनि निर्माण हुँदै
विभिन्न ठाउँमा चिस्यान केन्द्र बनिरहेकाले आउँदो वर्षदेखि आधुनिक एसी प्रविधिबाट कर्णालीका वस्तुलाई चिस्यान दिइने कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालय र सहकारीको लगानीमा निर्माण भएका चिस्यान केन्द्रमा आधुनिक एसी प्रविधिबाट वस्तुलाई चिस्यान दिइने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताए । उनले पूर्वी सुर्खेतको बोटेचौर, वीरेन्द्रनगर र लेकवेशी नगरपालिकामा निर्देशनालयको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण भइरहेको बताए ।
किसानले उत्पादन गरेका दुग्धजन्य, बीउविजन, तरकारी, फलफूलका साथै जडिबुटीलाई समेत राखिने बताए । चिस्यान केन्द्रले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भइ प्रतिफल वृद्धि हुने उनको विश्वास छ । ‘चिस्यान केन्द्र कृषि क्षेत्रको रूपान्तरणको एउटा महŒवपूर्ण कडी हो,’ उनले भने, ‘कृषिलाई व्यवसायिकरण गरी किसानलाई आम्दानीमुखी बनाउने उद्देश्यले निर्माण गरिएको हो ।’ रोकायका अनुसार सिजनमा उत्पादन गरेर मूल्य नपाइए बेमौसममा पनि बिक्री गर्न सकिने हुँदा सस्तोमा बिक्री गर्नु पर्ने झन्झट अब हट्नेछ ।
प्रकाशित मितिः ७ माघ २०८०, आईतवार ०५:०५
रजनी याेगी ।