प्रदेश सरकारको वर्ष समीक्षाः सामाजिक विकास मन्त्रालय

बजेट कार्यान्वयनमा अगाडि

पहिलो चौमासिकमा २० प्रतिशत बजेट कार्यान्वयन

सुर्खेत: प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म २० प्रतिशत बजेट कार्यान्वयन गरेको छ । दोस्रो कार्यकालको पहिलो एक वर्षमा अन्य मन्त्रालयको तुलनामा सामाजिक विकास मन्त्रालय बजेट कार्यान्वयनमा अगाडि देखिएको छ । कूल बजेटको २० दशमलव तीन प्रतिशत बजेट खर्च गरेको छ ।

मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले गत वर्षकै तुलनामा बजेट कार्यान्वयन भएको भन्दै उनले दोस्रो चौमासिकमा अझ प्रभावकारी बनाइने बताए । मन्त्रालयले शिक्षा, स्वास्थ्य, रोजगार, युवा, खेलकुद, बालबालिका, महिला, मानवअधिकारलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम कार्यान्वयनका लागि नीति निर्माण लगायतका काम गरिएको जनाइएको छ । शिक्षा पूर्वाधार, जनशक्ति बाँडफाड लगायतका काम निरन्तर रूपमा अघि बढाएको छ । स्वास्थ्यतर्फका जनशक्ति परिचालनदेखि औषधि उपलब्धतासम्मका काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

 

नयाँ कार्यक्रमको सुरुवात

मन्त्रालयले यो वर्ष प्रदेश रंगशाला निर्माण र प्रदेश अस्पतालको पूर्वाधारमा जोड दिएको छ । यसैगरी केही नयाँ कार्यक्रम समेत सुरुवात भएका छन् । नयाँ कार्यक्रमका रूपमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको सुरुवात गरेको छ ।

नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम निकै प्रभावकारी रहेको मन्त्रालयको दाबी छ । यो वर्षदेखि सार्वजनिक शिक्षा सुधारको कार्यक्रम अघि बढेको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन गरिएको मन्त्रालयका सचिव काफ्लेले बताए । उनका अनुसार नागरिक स्वास्थ्य परीक्षण र सार्वजनिक शिक्षा सुधारको कार्यक्रम सञ्चालनका लागि नयाँ कार्यविधि २०८० निर्माण गरिएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षदेखि प्रदेश प्रमुख ‘सामाजिक रूपान्तरण अभियान’ कार्यक्रम सञ्चालन गरेको छ । बालविवाह, बहुविवाह, बोक्सी प्रथा, मानव बेचविखन जस्ता सामाजिक विकृतिका विरुद्ध टोलस्तरीय सामाजिक रूपान्तरण समिति गठन गरी प्रदेश प्रमुख सामाजिक रूपान्तरण कार्यक्रम सञ्चालन गरिने भएको हो । सामाजिक रूपान्तरणमा उल्लेखनीय काम गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्ने र बालविवाहमुक्त, लैंगिकमैत्री स्थानीय तह घोषणाका लागि वडा तहमा समन्वय सहकार्य गरिने सचिव काफ्लेले जानकारी दिएका छन् । कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माण भइरहेको उनले बताए । उनले भने, ‘यो कार्यक्रम सञ्चालनका लागि मुख्यमन्त्रीसहित बसेर छलफल गरिएको छ । कार्यविधि निर्माण अन्तिम चरणमा भएकाले अब कार्यान्वयनमा जान्छ ।’

यस्तै मन्त्रालयले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई निरन्तरता दिएको छ । राउटे समुदायको संरक्षण र सम्वद्र्धन गर्नका लागि आवश्यक योजना निर्माण गरिएको छ । अपाङ्गता भएका नागरिकको सहज जीवनयापनका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा पँहुच वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको मन्त्रालयका सचिव काफ्लेले बताए । युवाको नेतृत्व विकास, खेलकुद लगायतका क्रियाकलापका लागि प्रोत्साहन गर्ने, खेलकुद, योग, ध्यान कार्यक्रमलाई विद्यालयमा सञ्चालन गर्ने, छात्रालाई आत्मरक्षा तालिम सञ्चालन गर्ने जस्ता कार्ययोजना निर्माण गरिएको छ ।

मन्त्रालयले नागरिकसँग जोडिएका विषयमा सेवा प्रवाह गरिरहेको सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले बताए । सामाजिक आर्थिक सशक्तिकरणका कार्यक्रमसँगै पूर्वाधार निर्माणका कार्यक्रममा जोड दिएको उनको भनाइ छ । मन्त्री पोखरेलले शिक्षाको गुणस्तर वृद्धिदेखि शैक्षिक पूर्वाधारसम्मका कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । यो वर्ष मन्त्रालयले नागरिकको स्वास्थ्य परीक्षणदेखि स्वास्थ्य पूर्वाधार निर्माणसम्मका कामको थालनि गरेको छ । स्वास्थ्यतर्फ औषधिको उपलब्धता र जनशक्ति, शिक्षातर्फ निःशुल्क गुणस्तरीय शिक्षाको उपलब्धता, भौतिक संरचना, शिक्षक दरबन्दीको अवस्था, महिला सशक्तिकरणका लागि रूपान्तरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । अपाङ्गता भएका व्यक्तिका आवश्यकता, युवा स्वरोजगारका विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । यस्तै, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस भएको छ ।

मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा औषधि उपलब्धता, स्वास्थ्य जनशक्ति परिचालन र भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा प्रवाह गरेको छ । गत कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरेको मन्त्रालयले जनाएको छ । बढी प्रभावित पालिकाहरूमा विशेषज्ञ सेवा दिइएको जनाइएको छ ।

प्रकाशित मितिः   २ माघ २०८०, मंगलवार ०५:०५