राष्ट्रिय सभा निर्वाचन: कर्णालीबाट ६ जनाको उम्मेदवारी
सुर्खेत: राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशबाट ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । तीन पदका लागि ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । गठबन्धनभित्रका तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक÷एक सदस्य भागबन्डा गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धन दलकातर्फबाट अन्यमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले उम्मेदवारी दिएका छन् । कांग्रेसको कर्णाली प्रदेश महामन्त्रीसमेत रहेका रोकाय रूकुमपश्चिमका हुन् ।
विद्यार्थी राजनीतिबाट मूलधारको पार्टी राजनीतिमा प्रवेश गरेका उनी नेपाल विद्यार्थी संघ रूकुमको संस्थापक अध्यक्ष पनि हुन् । त्यसपछि २०५३ सालदेखि २०५७ सम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भए । महाधिवेशन प्रतिनिधि हुँदै जिल्लाको पार्टी सचिव बनेका रोकाय २०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रदेश सभा निर्वाचनमा समेत उम्मेदवार बनेका थिए । तर दुवै पटक पराजित भए । यसपटक उनी राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।
गठबन्धनले कर्णालीबाट दलित कोटातर्फ माओवादी केन्द्रका विष्णु विकलाई उम्मेदवार बनाएको छ । कालीकोटका विक २०४६ सालमा शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । नेपाल मजदुर किसान पार्टीबाट आफ्नो राजनीतिक यात्रा थालेका विक २०४९ तत्कालीन मालकोट गाविसको अध्यक्ष निर्वाचित भएका थिए । पछि माओवादीमा प्रवेश गरेका उनी २०५४ सालदेखि भूमिगत भएका थिए । विक अहिले माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य तथा कालीकोट जिल्ला इञ्चार्ज हुन् ।
महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्लले उम्मेदवारी दिएकी छिन् । उनी दैलेखकी हुन् । मल्ल दैलेखको नारायण नगरपालिकाको पूर्वउपप्रमुख हुन् । २०४३ सालमा नेपाल मजदुर किसान पार्टीबाट मल्लले राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०५४ सालमा जिल्ला विकास समिति दैलेखको सदस्य बनिन् । एमाले विभाजनपछि समाजवादीतर्फ लागेकी मल्ल पार्टीको केन्द्रीय सदस्य तथा दैलेख इञ्चार्ज हुन् ।
सत्ता गठबन्धनसँगको प्रतिस्पर्धाका लागि एमालेले पनि तीन जनालाई चुनावी मैदानमा उतारेको छ । एमालेले दलित कोटामा दैलेखका हिक्मतबहादुर विकलाई उम्मेदवार बनाएको छ । महिलातर्फ हुम्लाकी विमला शाही र अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्टले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट एमालेको कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।
हिक्मत २०४६ सालबाट एमालेमा आवद्ध भएका हुन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनका बेला जिल्ला परिषद् सदस्यमा मनोनित भएका थिए । गाउँ कमिटी, इलाका कमिटी, जिल्ला कमिटी हुँदै उनले एमालेको कर्णाली प्रदेश कमिटीसम्मका जिम्मेवारीमा रहेर काम गरेका छन् ।
एमालेबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनेकी शाही चंखेली गाउँपालिकाको पूर्वउपाध्यक्ष हुन् । २०६० सालबाट एमालेको सदस्यता लिएकी उनी अहिले पार्टीको जिल्ला कमिटीमा उपसचिव छिन् ।
दुवैतर्फका उम्मेदवारहरूले सोमवार ¥यालीसहित प्रदेश निर्वाचन कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । राष्ट्रिय सभाको निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । यसअघि निर्वाचित सदस्यहरूको कार्यकाल सकिँदैछ । सोही पदमा निर्वाचन हुन लागेको हो । कर्णालीबाट प्रतिनिधित्व गर्ने तीन जनाको कार्यकाल सकिँदैछ ।
रिक्त रहने तीन पदका लागि ६ जनाले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा कूल मतभार पाँच हजार ८४ रहेको छ । त्यसमध्ये प्रदेश सभातर्फ ४० मतदाता छन् । उनीहरूको मतदार दुई हजार एक सय २० छ । स्थानीय तहअन्र्तगत एक सय ५६ मतदाताको कूल मतभार दुई हजार नौ सय ६४ रहेको छ । प्रदेशसभा सदस्यसहित पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले निर्वाचनमा मतदान गर्नेछन् ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ ।
साझा बिसौनी ।