अलपत्र योजना

सहरी क्षेत्रका योजनाहरूको एकीकृत रूपमा विकासका लागि संघीय सरकारको सघन सहरी विकास कार्यक्रम ल्यायो । झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने भन्दै सरकारले सघन सहरी विकासको योजना बनाएको थियो । एकीकृत ढंगको सडक पूर्वाधार निर्माण गर्न देशैभरका ५४ पालिकामासंघीय सरकारले कार्यक्रम सुरु गरेको हो । सोही कार्यक्रमअन्र्तगत वीरेन्द्रनगर नगरपालिका पनि छनोटमा परेको छ । तर गत वर्षबाट सुरु भएको कार्यक्रम अन्योलमा परेको छ । बजेट कटौती भएपछि कार्यान्वयनमा अन्योलता देखिएको हो ।

एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम बनाएर वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १३ सम्म सडक स्तरोन्नति र कालोपत्रेसम्मको काम थालिएको छ । १३ वटा वडाका ४७ वटा टुक्रे सडकका योजनालाई एकै ठाउँमा राखेर काम थालिएको हो । तर अहिले बजेट अभावले सडक स्तरोन्नति तथा कालोपत्रेको काम अन्योलमा परेको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । ४७ वटै सडकको स्तरोन्नतिका लागि सम्झौता भएको छ । २०७९ माघ १० गते खड्का के. एस बाँकेले सघन सहरी विकास कार्यक्रम अन्र्तगतको एकीकृत सहरी पूर्वाधार विकासका सडक निर्माणको जिम्मा लिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले खड्का के. एस बाँकेसँग ३० करोडमा साना–ठूला गरी ४७ योजनाको ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार २०८१ भदौ ७ गते ४७ योजना निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, काम सुरु भएको दोस्रो वर्षमै बजेट कटौती भएपछि काम अघि बढाउन समस्या भएको हो । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमका लागि गत आर्थिक वर्ष २०७९÷०८० मा सरकारले १८ करोड बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा तीन करोड मात्र बजेट छुट्याइएको छ ।

४७ सडक योजना निर्माणको आधाभन्दा धेरै काम बाँकी छ । तर, बजेट नहुँदा कुनैपनि नयाँ काम अघि बढ्न सकेका छैनन् । योजनाहरू अघि बढाउन अर्थ मन्त्रालयसँग थप १२ करोड बजेट माग गरिएको छ । तर बजेटको सुनिश्चितता भइसकेको छैन । यो वर्ष ठूलो संख्यामा विकास बजेट कटौती भएको छ । त्यसभित्रै सघन सहरी विकास कार्यक्रमको बजेटसमेत कटौतीमा परेको छ । पूर्वाधार विकासका योजनाहरूमा बजेट अभावको समस्या रहँदै आएको छ । निर्माण सुरु भइसकेका योजनाहरूमा रकम कटौती हुँदा ति योजना पुरा हुन पाउँदैनन् । अधुरै रहन्छन् र नागरिकले सुविधा पनि पाउँदैनन् । यस्तो अवस्थाको अन्त्य गर्न योजनाहरूको छनोट र बजेटको व्यवस्थापनमा विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ ।

प्रकाशित मितिः   २० पुष २०८०, शुक्रबार ०५:०३