हिउँबिनाका हिमाल

हिउँदमै हिउँ छैन, काला भए हिमाल

जुम्ला:

हिउँ आयो पुस, बुढाबुढी रुस
हिउँ आयो माघ, बुढाबुढी भाग

यी रमाइला टुक्का जुम्लामा जनजनको जिब्रोमा झुण्डिएका छन् । हिमपातसँग जोडिएका रमाइला वाक्य जब हिउँ पर्न थाल्छ, बालबालिकादेखि युवायुवतीले रमाउँदै अभिव्यक्त गर्छन् । वृद्धवृद्धालाई जोडेर पुस र माघ महिनामा हिउँ पर्नासाथ गाउँघरमा यिनै रमाइला टुक्काद्वारा हिउँलाई स्वागत गर्ने गरिन्छ ।

हिमपात हुने मुख्य सिजन भनेकै पुस र माघ महिना हुन् । त्यसैले यि टुक्कामा दुई महिनाको नाम जोडिएको छ । तर केही वर्षयता हिमपात नै कम भइरहेको छ । यो वर्षसमेत पुस दोस्रो सातासम्म हिउँ परेको छैन ।

हिउँदे याममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रुखा र सुख्खा देखिन थालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । हिमालको शोभा घटेको छ । पहिले चाँदी झैँ टल्कने हिमाल अहिले उराठलाग्दा देखिन थालेका छन् । सामान्यतया चिसो मौसममा हिमपात हुन्छ । पुस र माघ महिनामा बढी हिमपात हुन्छ । विगतको जस्तो पुस–माघमा हिउँ नपर्नु, पानी नपर्नु, असोज–कार्तिकमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयहरू बताउँछन् । पहिले बाक्लो हिउँ पथ्र्यो, वनजंगल हिउँले थुनिएपछि गाउँबस्तीमै जंगली जनावर पुग्थे । तातोपानी गाउँपालिका–७ सर्मीका ८० वर्षीय करे कुँवर यसका साँची हुन् । ‘विगतमा मान्छे डुबाउने हिउँ पथ्र्यो, बालीनाली पनि सप्रन्थ्यो । यतिबेलासम्म त बापाखा र खेतबारी हिउँले सेताम्य हुन्थे । वनजंगल हिउँले थुनिएपछि मृगहरू आहाराको खोजी गर्ने क्रममा गाउँमा समेत पुग्थे, अहिले त हिउँ नै पर्न छाड्यो, परेपनि अलिअलि मात्रै पर्छ’ उनले भने । हिमपातपछि पशुबस्तु चराउन सकस हुन्थ्यो तर अन्नबालीका लागि निकै राम्रो हुन्थ्यो । उनका अनुसार खोला नालामा पानीको बहाब घट्दै गएको छ, भने पानी मुलहरू सुक्दै गएका छन् ।

१२ वर्षको उमेरबाट ट्रेकिङ गाइड गर्दै आएका पातारासी गाउँपालिका–७ पठमाराका सीप बुढा हिमालमा हिउँ नभएका कारण हिमालहरूको सौन्दर्य हराउँदै गएको बताउँछन् । जलवायु परिवर्तनको असरले हिमालहरूको प्राकृतिक सौन्दर्य गुम्ने चिन्ता हुन थालेको उनले बताए । ‘हिमालै हिमालको देशमा हिमपातमा व्यापक बदलाव हुनु पर्यटनका लागि दुर्भाग्यको कुरा हो’ बुढाले भने, ‘१५÷२० वर्ष पहिलाजस्तो हिउँ बाक्लो हिउँ पर्न छाडेको छ ।’

बाह्रै महिना सेताम्मे हुने हिमालमा हिउँ छैन । जुम्लाका पातारासी हिमाल, भुरिचुला, चिमारा मालिका, डाँफेलेकजस्ता क्षेत्रमा समेत हिउँ देखिन्न । चन्दननाथ–१० का नरेन्द्र भण्डारीले भने, ‘भर्खरै हामी जुम्लाको चिमारा मालिकाको चुचुरो पुगेर फर्कियौँ, त्यहाँबाट जुम्ला र आसपासका हिमालको दृश्यावलोकन गर्न सकिन्छ, पहिलेजस्तो हिमालमा हिउँ छैन । हिमाल काला देखिन्छन् ।’ अन्नबालीसहित जडिबुटी उत्पादनमा समेत असर हुने उनले बताए । वैशाखदेखि असार पहिलो सातासम्म यार्सागुम्बा संंकलन गरी जीविका चलाउने स्थानीयलाई हिउँ नपर्दा चिन्ता बढेको छ । पर्याप्त हिउँ नपरे यार्सासमेत कम पाइने स्थानीयहरू बताउँछन् ।

जुम्लामा लगाइएका हिउँदेबाली सुक्न थालेको भन्दै किसान चिन्तित भएका छन् । हिउँदेबालीका लागि सिँचाइ नभएको ठाउँमा हिउँको विकल्प नभएको किसान मन्नु खड्काले बताइन् । स्याउ र ओखरका लागि समेत हिउँ अत्यावश्यक रहेको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले बताए । ‘हिमपात नहुँदा स्याउलाई चिलिङ (माइनस तापक्रममा माटोमा पानीको मात्रा) पुग्दैन । जाडो मौसममा स्याउका विरुवा एक हजार घण्टा सुसुप्त अवस्थामा पुग्नुपर्छ, हिमपात नहुँदा पछि फूल तथा दाना झर्ने समस्या हुन्छ । उत्पादनमा गिरावट आउने खतरा हुन्छ’ स्याउ सुपरजोनका प्रमुख शाहीले भने । हिमालय क्षेत्रका जलवायु परिवर्तनको असरका बारेमा गम्भिर हुनुपर्ने बेला आएको उनले बताए ।

प्रकाशित मितिः   १६ पुष २०८०, सोमबार ०५:०५