क्रसर उद्योगले बस्ती नै जोखिममा

इजाजतविनै उद्योग सञ्चालन, टेर्दैनन् पालिकाको निर्देशन

सुर्खेत: सुर्खेतमा अझै पनि इजाजत विनानै क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ । पटकपटक बन्द गर्न आग्रह गर्दा पनि अटेरी गरेको पालिकाहरूले जनाएका छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजतविनै सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले दिएको जानकारी अनुसार हिमाल बालुवा प्रशोधन उद्योग, देउतीमाता बालुवा प्रशोधन उद्योग, राम जानकी प्रशोधन उद्योग र केसी बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् । यसअघि सञ्चलानमा रहेको स्टार बालुवा प्रशोधन उद्योग भने अहिले बन्द रहेको जनाइएको छ ।

अवैध उद्योग सञ्चालनले भेरी नदी किनारको बस्ती नै जोखिममा परेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए । उनका अनुसार करिब चार सय घर जोखिममा छन् । थापाडेरा, पाग्म, रानीघाट, डोप्काका गरी करिब चार सय घर जोखिममा परेका हुन् । नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गर्न बारम्बार भनिएता पनि अटेरी गरेको उनले बताए । जिल्ला प्रशासन र जिल्ला समन्वयबाट पटक–पटक अनुगमनमा आएपनि कुनैपनि कारबाही प्रक्रिया अघि बढ्न नसकेको गाउँपालिकाले जनाएको छ । जिल्लाको टोलिले अनुगमन गर्न बाहेक कुनैपनि कानुनी प्रक्रियामा नगएको अध्यक्ष भण्डारीले बताए । नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गर्ने पक्षमा पालिका रहेको उनले स्पष्ट पारे । भण्डारीले भने, ‘एक वर्षदेखि उत्खनन् बन्द भएको छ, अहिले निकालिएको सामान मात्र बिक्री भइरहेको हो । विभिन्न शैलीमा उत्खनन् भइरहन्छ ।’

पालिकाले गिट्टी, बालुवा बिक्री गरेर आन्तरिक आम्दानी गर्ने गरेको छ । चोरी हुने डरले टेण्डर खोल्न नसकिएको अध्यक्ष भण्डारी बताउँछन् । प्रशासनबाट नियमन प्रभावकारी नभएको उनले बताए । पालिकालाई क्रसर उद्योग हटाउन अधिकार भएपनि जनशक्ति नहुँदा समस्या भएको छ । अहिले पनि रातीमा विभिन्न शैलीमा उत्खनन् भइरहेको उनले बताए । भण्डारीले भने, ‘पालिकालाई क्रसर उद्योग हटाउन अधिकार छ । जनशक्ति छैन । कि हामीलाई जनशक्ति दिनुप¥यो । होइन भने जिल्ला समन्वयलाई कानुनी अधिकार दिनुपर्छ ।’

यस्तै, पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. १, ८ र ९ मा तीन वटा क्रसर उद्योग अवैध रूपमा सञ्चालन भइरहेका छन् । कारबाही गर्ने निकाय नहुँदा खुलेयाम क्रसर उद्योग सञ्चालन भइरहेको नगरप्रमुख उमेशकुमार पौडेलले बताए । नगरपालिकाको वडा न. १ मा सञ्चालित भेरी बालुवा प्रशोधन उद्योग, वडा नं. ८ मा रहेको पञ्चकोशी बालुवा प्रशोधन उद्योग र वडा नं. ९ मा रहेको देउती बालुवा प्रशोधन उद्योग सञ्चालन भइरहेका छन् ।

नगरपालिकाले पटक–पटक सचेत गर्दासमेत उद्योगहरूले अटेरी गरेको प्रमुख पौडेल बताउछन् । अनुगमन टोलि आएको पाँच÷सात दिन उद्योग बन्द गरेजस्तो गर्ने पुनः सञ्चालन हुनेगरेको नगरपालिकाले जनाएको छ । प्रशासनलाई यसबारे धेरै पटक जानकारी गराइएको भएपनि अनुगमन गर्ने बाहेकका कानुनी प्रक्रिया नभएको नगरप्रमुख पौडेलले बताए । पालिकासँग अनुगमन तथा नियमनको उचित किसिमको संयन्त्र नहुँदा कारबाही प्रक्रिया अघि बढाउन समेत चुनौती रहेको उनको भनाइ छ । लेकवेशीमा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका उद्योगहरूले रातीको समयमा ढुङ्गा, गिट्टीहरूको लुकीछिपी उत्खनन् तथा प्रशोधन गरिरहेको नगरपालिकाले जनाएको छ ।

नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बेला–बेला अनुगमन गरी बन्द गर्न भनिएको भएपनि अटेर गर्दै आएको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताए । उनले सुर्खेतमा ११ वटा इजाजत विनै सञ्चालनमा आएका उद्योगहरू रहेको पाइएको जानकारी दिए । कारबाही गर्ने अधिकार नहुँदा आवश्यक निर्देशन मात्र दिने काम भइरहेको उनको भनाइ छ । कारबाहीको सिफारिसमा परेका र दर्ता भएका उद्योगहरूको विवरणको खोजीमा समन्वय समिति लागेको सुनारले जानकारी दिए ।

नदीजन्य पदार्थमा आधारित उद्योग तथा त्यसको उत्खनन, संकलन र बिक्री–वितरणको समेत अनुगमन गरी मापदण्डविपरीत गतिविधि भए कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । यसबीचमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले फाट्टफुट्ट अनुगमन गरेको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन । विभिन्न समयमा अनुगमन पश्चात उद्योगलाई कारबाहीका लागि परिपत्र गर्ने गरिएको प्रशासन कार्यालयका सूचना अधिकारी सूर्यबहादुर थापाले बताए ।

प्रकाशित मितिः   ११ पुष २०८०, बुधबार ११:१६