सिटी हल निर्माणको काम अलपत्र
सुर्खेत: वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको काम अलपत्र परेको छ । नक्कली कागजपत्र पेस गरेर ठेक्का पाएको निर्माण कम्पनीसँग सम्झौता रद्द गरिएपछि बाँकी रहेको काम अलपत्र परेको हो ।
२०७८ मा मजदुर पी.एस जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि चार करोडमा ठेक्का सम्झौता गरेको थियो । २०७९ असारसम्म निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको कम्पनीको कागजपत्र नक्कली भएका पाइएपछि उक्त ठेक्का रद्द गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० भदौमा ठेक्का तोडेको हो ।
पहिलो चरणको काम २३ करोड रूपैयाँको लागतमा सम्पन्न भएपनि दोस्रो चरणको काम अलपत्र परेको छ । पहिलो चरणको काम सम्पन्न गरी भवन डिभिजन कार्यालय सुर्खेतले २०७७ फागुनमा वीरेन्द्रनगर नगरपालिकालाई सिटी हल हस्तान्तरण गरेको थियो । नगरपालिकाको मातहतमा आइसके पनि पालिकाले त्यसको संरक्षण र व्यवस्थापनमा चासो नदिएको पाइएको छ । निर्माण कम्पनीको ठेक्का तोडिसक्दा पनि थप प्रक्रिया थालिएको छैन ।
ठेक्का तोडिएको चार महिना बितिसक्दा समेत नयाँ प्रक्रिया अघि बढ्न सकेको छैन । सम्झौता रद्द हुनुअघि उक्त कम्पनीले ५५ प्रतिशत काम भने गरिसकेको छ । यद्यपि, कम्पनी कालोसूचिमा परेका कारण रकम भुक्तानी नभएको भवन डिभिजन कार्यालय सुर्खेतका प्रमुख रामकृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीको कार्यसम्पादन जमानतसमेत कार्यालयको खातामा तानिएको छ । फर्जी कागजपत्र पेस भएकाले अहिलेसम्म एक रूपैयाँसमेत कम्पनीले पाएको छैन । अहिले दोस्रो चरणको काम अलपत्र परेको छ । ‘नयाँ ठेक्का लगाउने प्रक्रियाका लागि सहरी विकास तथा भवन निर्माण विभागको निर्देशन आएको छैन,’ प्रमुख आचार्यले भने, ‘नगरपालिकाले समेत चासो दिएको छैन । ४५ प्रतिशत काम बाँकी छ ।’ बनेका संरचनासमेत जीर्ण बन्दै गइरहेको उनको भनाइ छ । उनले भने, ‘केही सामान टुटेका छन् । व्यवस्थापनमा ध्यान पुगेको देखिँदैन ।’
एकतर्फ सिटी हल निर्माण सम्पन्न भएको छैन भने अर्कोतर्फ बनेका संरचना जीर्ण बन्दै गएका छन् । बैठक कक्ष र पर्खाल निर्माण, साउन्ड बक्स, बसाइ व्यवस्थापनलगायतका काम प्रभावित भएको छ । सात सय ८० जना अट्ने क्षमताको सभाहल, एक सय ५० व्यक्ति अट्ने दुुई वटा बैठक कक्ष निर्माण भइसकेका छन् । सिटी हलको डेकुरेसनको काम बाँकी रहेको छ । सभाहल, बैठक कक्षभित्र साउन्डबक्स जोड्न बाँकी छ भने आवश्यक कुर्सी व्यवस्थापन गनुपर्नेछ । सबै खालका कार्यक्रम गर्नका लागि उपयुक्त सजावटको कामसमेत बाँकी छ ।
संरक्षण र रेखदेखको जिम्मा पाएको वीरेन्द्रनगर नगरपालिकाले चासो नदिँदा निर्माणको काम अघि बढ्न सकेको छैन भने भएका संरचना समेत जीर्ण बन्दै गएका छन् । सभाहल सञ्चालनमा ल्याउने दायित्व नगरपालिकाको हो । नगरप्रमुख मोहनमाया ढकालले सभागृह जुन उद्देश्यले निर्माण गरिएको थियो सो उद्देश्य बमोजिम प्रयोगमा आउन नसकेको बताइन् । उनका अनुुसार केही काम गर्न बाँकी छ । ‘ठेकेदारका कारण एक वर्षमा सम्पन्न गर्नुपर्ने काम लम्बिएको छ’ ढकालले भनिन् ‘बाँकी काम अघि बढाउन पहल थालेका छौँ ।’
नगरपालिकाले मापदण्ड निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी गरेको उनले बताइन् । करोडौं रकम खर्चेर निर्माण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्नेे राजनीतिकर्मी मुकुन्दश्याम गिरी बताउँछन् । ‘सुविधा सम्पन्न सभाहल बनेर प्रयोगमा नआउनु नगरपालिकाको लज्जाको विषय पनि हो’ गिरीले भने, ‘अहिलेको नेतृत्वले यथाशीघ्र उक्त सभागृह सञ्चालनमा ल्याउन जरुरी छ ।’ नगरपालिकाले छुट्टै समिति गठन गरेर सिटी हल सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । उनले सभागृह सञ्चालनमा आए कुनै कार्यक्रमको आयोजना गर्नुप¥यो भने चर्को शुल्क तिरेर होटेलमा जानुपर्ने बाध्यता हट्ने बताए । सिटी हल आन्तरिक आयस्रोतको माध्यम बन्नसक्ने भएकाले व्यापारिक भवन निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको समेत माग छ ।
प्रकाशित मितिः ६ पुष २०८०, शुक्रबार ०५:०५
साझा बिसौनी ।