त्रिपालकै भरमा भूकम्पपीडित: सकसमा गर्भवती र सुत्केरी
सुर्खेत: हिउँदयाम सुरु भएसँगै भूकम्प पीडितहरूलाई चिसोले सकसमा पार्न थालेको छ । दिनानुदिन चिसो बढ्दै जाँदा भूकम्प पीडित दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी तथा गर्भवती र बालबालिका समस्यामा परेका छन् ।
भूकम्प गएको करिब डेढ महिनासम्म पनि सरकार र सरोकारवाला निकायले उचित व्यवस्थापन नगर्दा चिसोले कठ्यांग्रिनु परेको पीडितहरूको दुखेसो छ । सबै भन्दा बढी चिसोले भूकम्प पीडित सुत्केरीको बिजोग भएको छ । रूकुमपश्चिमको आठबीस नगरपालिका वडा नं. १२ की कमला पुन २० दिनकी सुत्केरी हुन् । त्रिपालमुनिको बसाइमा रहेकी उनलाई चिसो थेग्न निकै मुस्किल भइरहेको छ । शिशुलाई निमोनिया र आखा पाक्ने रोगको समस्या देखिएको छ । सामान्य औषधि लिन समेत तीन घण्टाको पैदल हिँड्नुपर्ने हुँदा उपचारमा समेत समस्या भइरहेको उनले सुनाइन् । ‘न्यानो ओछ्यान छैन । पोषिलो खाना छैन । पालमुनिको बसाइमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन्’ उनले भनिन्, ‘अहिलेसम्म राहतको नाममा एउटा त्रिपाल बाहेक केही पाइएको छैन ।’ चिसो बढ्दै जाँदा आगोको भरमा बाचीरहेको उनले बताइन् । सरकारले आफूहरूको उचित व्यवस्थापन नगर्दा स्वास्थ्यमा थप समस्या भइरहेको उनको दुखेसो छ ।
यस्तै आठबीस नगरपालिका वडा नं. ११ की मिना विक कार्तिक १७ गतेदेखि नै त्रिपालमुनी बस्दै आएकी छन् । भूकम्पले उनको घर पूर्णरूपमा क्षति भएको छ । सात महिनाकी गर्भवती मिनालाई स्वास्थ्यमा समस्या देखिन थालेको छ । ‘हातखुट्टा सुनिने, चक्कर लाग्ने, पेट दुख्नेजस्ता समस्या देखिएका छन्’ उनले भनिन्, ‘आठ जनाको परिवारले एउटा त्रिपाल मात्र पाएका छौँ । खाना र बस्न कै लागि समस्या छ ।’ एकसरो पालमा चिसोले कठ्यांग्रिनु परेको विक बताउँछिन् ।
आठबीस नगरपालिका वडा नं. १ की सदिका बुढाले खाने अन्नपात र चिसो धान्ने बास नहुँदा बाल बच्चालाई चिसोबाट कसरी बचाउने भन्ने पीर परेको बताइन् । सुत्केरी सदिका कार्तिक १७ गतेबाटै त्रिपालमुनि बसिरहेकी छिन् । लामो समयसम्म चिसोसँग लड्दै खुला आकाशमुनिको त्रिपालमा बास बसिरहँदा स्थानीय सरकारले समेत चासो नदिएको उनको दुखेसो छ । उनले भनिन्, ‘दिनानुदिन चिसो बढिरहेकाले थप समस्या भइरहेको छ । सरकारले उचित बासको व्यवस्थापन गर्नुपर्यो ।’
जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ चिउरीकी मोतीकला महरले त्रिपालमुनिको बसाइ निकै कष्टकर बनेको बताइन् । कार्तिक १७ गते राति गएको भूकम्पले घर भत्किएपछि तीन महिनाको शिशुलाई काखमा च्यापेर मोतीकला त्रिपालमुनि बस्न बाध्य छिन् । त्रिपालबाट चुहिने शीत र नदीको किनारबाट चल्ने सिरेटोबाट आफू र बच्चालाई कसरी जोगाउने भन्ने चिन्ताले मोतीकलालाई पिरोल्न थालेको छ ।
यतिबेला सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडाका साथै पोषिलो खानेकुराको आवश्यकता रहेको छ । महिला अधिकारकर्मी पवित्रा शाहीले भूकम्पपछि त्रिपालमा बस्नुपर्दा लक्षित वर्ग थप प्रभावित बनेको बताइन् । ‘भूकम्प पीडितलाई चिसोबाट जोगाउन आवश्यक छ’ उनले भनिन्, ‘लक्षित वर्गका लागि अस्थायी संरक्षण केन्द्र निर्माणमा सरकारले ध्यान दिनुपर्यो ।’
चिसोका कारण जोखिम समूहमा रहेका जाजरकोट र रूकुमपश्चिमका ३४ हजार चार सय ७३ नागरिकलाई ज्यान जोगाउन समस्या पर्न थालेको छ । त्यस्तै एक हजार आठ सय १५ भर्खरका सुत्केरी त्रिपालको चिसोमा बस्न बाध्य छन् । चिसोकै कारण जाजरकोटमा २० जना र रूकुमपश्चिममा तीन जना गरी २३ जनाले ज्यान गुमाई सकेका छन् । एक हजार भन्दा बढी बिरामी परेका छन् ।
एकीकृत जनस्वास्थ्य अभियान
प्रदेशको सामाजिक विकास मन्त्रालयले एकिकृत जनस्वास्थ्य अभियान सञ्चालन गर्ने जनाएको छ । दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सहजताका लागि अभियान थालिनेछ । यसअघि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, आवश्यक जनशक्ति परिचालन गर्ने र जाजरकोटको कुसे र बारेकोटमा घुम्ती विशेषज्ञ सेवा सञ्चालन भएका थिए ।
पछिल्लो समय बिरामी बढ्न थालेपछि एकिकृत जनस्वास्थ्य सेवा सञ्चालन गर्न लागिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत अमृता ज्ञवालीले बताइन् । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा थालिएको यो तेस्रो अभियान हुनेछ । विशेष गरेर वृद्धवुद्धा, सुत्केरी, गर्भवती र बालबालिकाको स्वास्थ्य चेकजाच गरिनेछ ।
पुनर्निर्माणका कामहरू निरन्तर
आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारका तर्फबाट राहत तथा पुनर्निर्माणका कामहरू निरन्तर भइरहेको बताए । उनले अस्थायी आवास निर्माण गर्ने, मृतक परिवारलाई बीमा वापतको रकम उपलब्ध गराउने, सडक, खानेपानी, स्वास्थ्यचौकी, विद्यालय लगायतका संरचनाको पूर्वाधार निर्माण जस्ता काम भइरहेको जानकारी दिए ।
उनका अनुसार बिमा रकम प्रति मृतक दुई लाखका दरले एक सय ६ जनाका परिवारलाई वितरण गरिएको छ । अन्य व्यक्तिका परिवारलाई रकम वितरण गर्ने कार्य जारी छ । चिसोले भूकम्प प्रभावितको जनजिवन कष्टकर बन्दै गएको भन्दै मन्त्री जिसीले पुनर्निर्माणका कामलाई तीव्र पारिएको जानकारी दिए । उनले भने, ‘आवश्यकता अनुसार सबै जनशक्ति परिचालन गरेर पुनर्निर्माणका कामलाई अघि बढाइएको छ ।’
प्रकाशित मितिः २७ मंसिर २०८०, बुधबार ०५:०५
रजनी याेगी ।