‘क्षेत्रीय अस्पतालको मुहार फेर्नेछौं’

वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा केही सुधारका संकेतहरू देखिएका छन् । विगतमा निकै आलोचित हुँदै आएको यो अस्पतालको सुधारका लागि वर्तमान अस्पताल विकास समितिले केही महत्वपूर्ण योजनाहरू पनि ल्याएको छ । अस्पतालमा अब विशेषज्ञ सेवाहरू पनि थप गर्ने कसरत भइरहेको छ । यसअघि सामान्य रोगका बिरामीलाई पनि जिल्ला बाहिर रिफर गर्दै आएको यो अस्पतालको सुधार र आगामी योजनाबारे सहकर्मी गीता थापाले अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सारांशः

हिजो आज के गर्दै हुनुहुन्छ ?
 हिजोआज त्यही समाज सेवाको काममा नै व्यस्त छु । सामाजिक हितका लागि निरन्तर जुटिरहेको छु । जनताको चासो र चिन्ताको काम गर्नमा नै व्यस्त छु ।

यहाँहरू नेतृत्वमा जानु भन्दा पहिला क्षेत्रीय अस्पतालको अवस्था कस्तो थियो ?
 हामी अस्पतालको व्यवस्थापनमा आएको दुई वर्ष बितेको छ । हामीले नेतृत्व लिनु भन्दा पहिला निकै अस्तव्यस्त नै थियो । अस्पतालमा फोहोर व्यवस्थापन, प्रशासन अस्तव्यस्त र बिरामीले केवल गुनासो मात्र गर्ने अवस्था थियो । अर्कोतर्फ अस्पतालका भवनहरू पनि जीर्ण थिए । व्यवस्थापनमा पनि राम्रो थिएन । बिरामीहरू पनि दैनिक उपचारको लागि कम मात्र नै आउने गर्दथे । सामान्य बिरामीलाई पनि उपचारमा समस्या थियो । विशेषज्ञ सेवा उपलब्ध थिएन ।

नेतृत्वमा आएपछि यहाँहरूले सुधार गरेका कामहरू के–के हुन् ?
 नेपाल सरकारले हामीलाई अस्पताल व्यवस्थापनको जिम्मेवारी दिएपछि केही सुधार गर्ने प्रयास गरेका छौं । पछिल्लो समयमा केही सुधार पनि भएको छ । अस्पतालमा हामीले सबैभन्दा पहिला त समस्याको पहिचान गर्दै कामको सुरुवात सरसफाइबाट ग¥यौं । पहिला अस्पतालको शौचालय जाँदा नाक थुनेर जानुपर्ने अवस्था थियो । तर अहिले अस्पताल क्षेत्र सफा छ । अस्पतालका जीर्ण भवनलाई पनि हामीले नयाँ भवन निर्माण गरेका छौं । बिरामीलाई बस्ने राम्रो व्यवस्था ग¥यौं । विगतका दिनमा कम आउने बिरामीहरू अहिले बाहिरी जिल्लाबाट पनि उपचारको लागि आउने गरेका छन् । दिनमा चार सय बिरामी उपचारका लागि आउने गर्छन् । अस्पतालमा लाइनमा बस्नुपर्ने समस्या समाधान भएको छ । सीसी क्यामेरा जडान गरेका छौं । पहिला आईसीयू र एनआईसीयू थिएन, अहिले त्यसको पनि व्यवस्थाका लागि पहल भइरहेको छ । यही महिनाभित्र सञ्चालनमा आउँदैछ ।

अस्पतालको सुधारका लागि अबको योजना के–के छन् ?
 अब सुर्खेतको वीरेन्द्रनगर प्रदेश नम्बर ६ को सम्भावित राजधानी बन्दैछ । त्यसकारण अस्पताललाई यो प्रदेशकै केन्द्रीय अस्पताल बनाउने हाम्रो पहिलो योजना हो । त्यसका लागि अस्पतालमा तीन सय ५० शैयाको भवन निर्माणको काम पनि हामीले सुरु गरिसकेका छौं ।

अस्पतालको सुधारमा मुख्य चुनौती के पाउनुभयो ?
 अस्पतालमा २४ जना डाक्टरको दरबन्दी छ । तर अस्पतालमा दक्ष डाक्टर नहुनु नै ठूलो चुनौती हो । अर्काे अस्पतालका लागि चाहिने स्रोतसाधन पर्याप्त मात्रामा छैन । सरकारले दिएको स्रोतसाधन पनि कार्यान्वयन हुन नसक्नु र प्रक्रिया झन्झटिलो हुनु झन् अर्काे चुनौती थपिएको छ । तर पनि अस्पताल प्रशासन र विकास समिति बीचमा समन्वय गरेर काम गरिरहेका छौं ।

यहाँहरूको कार्यकालमा नै अस्पतालको मुहार फेरिएला त ?
 अस्पतालको मुहार अहिले पनि धेरै फेरिएको छ । फोहोर र अव्यवस्थित अस्पताललाई हामीले सफा र व्यवस्थित बनाइसकेका छौं । जनताले कल्पना नै नगरेको आईसीयू र एनआईसीयूको व्यवस्था पनि गरिसकेका छांै । प्रदेश नम्बर ६ को केन्द्रीय अस्पतालको लागि समेत पहल थालिरहेका छौं । धेरै जसो काम हामी लगभग पूरा गरिसकेका छौं । त्यसकारण हामी यो अस्पतालको कायापलट गर्ने कसरतमै छौं ।

प्रदेशको केन्द्रीय अस्पताल बनाउने योजना कहाँ पुग्यो ?
 प्रदेशको केन्द्रीय अस्पताल बनाउने योजना सुरु भइसकेको छ । हामीले केन्द्रीय अस्पतालको रूपमा विस्तार गर्नको लागि तीन सय ५० शैयाको भवनको ठेक्का दिइसकेका छौं । काम पनि सुरु भइसकेको छ । दक्ष जनशक्ति व्यवस्थापनको लागि पनि काम भइरहेको छ । प्रशासनिक नियमावलीका लागि पनि मन्त्रालय पठाइ सकेका छौं । प्रक्रिया अघि बढीरहेको छ ।

बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने समस्या कहिले हट्छ त ?
 यो विगतको समस्या हो । तर हिजोआज अस्पतालमा उपचारका लागि आएका बिरामीलाई बाहिर रिफर गर्नेक्रम घटेको छ । स्रोतसाधन भएसम्म र अस्पतालमै उपचार गर्न सकेको खण्डमा बिरामीलाई 0बाहिर पठाउनु परेको छैन । अब यहाँ उपचार नै गर्न नसकिने र स्रोतसाधन नै नभएको खण्डमा भने बिरामीलाई रिफर गर्नैपर्छ । अब कुनै पनि बिरामीलाई यही अस्पतालमै उपचार सम्भव हुने गरी हामीले काम गरिरहेका छौं । आशा गरौं अब यो समस्या पनि टर्नेछ ।

अस्पतालमा स्वास्थ्यकर्मीको व्यवहार राम्रो छैन भन्ने गुनासो छ नि ?
 अस्पतालमा राम्रो व्यवहार हुँदैन भन्ने गुनासोमा केही सत्यता पनि होला । तर केही हल्ला पनि फैलाइएको छ । किनभने पहिलाको तुलनामा अस्पतालले दिने सेवा सुविधामा सुधार भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहार सुधारको प्रयास भइरहेको छ । व्यवहार परिवर्तन हुन केही समय लाग्छ । पछिल्लो समय अस्पतालमा बिरामी र बिरामीका कुरुवालाई गर्ने व्यवहारमा परिवर्तन आएको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
 अन्त्यमा, अब प्रदेश नम्बर ६ को केन्द्रीय अस्पतालको रूपमा विस्तारका लागि हामी लागिरहेका छौं । त्यसमा सञ्चार माध्यमहरूले पनि सकारात्मक रूपमा साथ र सहयोगका साथै सुझाव दिनको लागि आग्रह गर्दछु । यो अस्पतालको विकासका लागि सबैको साझा प्रयास र पर्यत्न आवश्यक छ । यसका लागि सबैले हातेमालो गरौं ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७३, शुक्रबार १२:४७