फन्डा
‘नमस्कार । डमरु शर्मा होइन त हजुर ?’
‘हजुर हो । तपाईंले होकि फोन गरेको ?’
‘हो नि । मेरो नाम मुकुन्द खरेल हो । सामाजिक अभियन्ता हुँ । समाजमा घट्ने विभिन्न घटनालाई टिपेर उजागर गर्ने गरेको छु । तपाईंको बारेमा पढेको थिएँ मैले एउटा पेपरमा । त्यसैले भेट्न मन लागेको मलाई….।’
‘ए ! ल आउनुस त यतै बसौँ ।’
‘हुन्छ, ठिक छ । अनि दाजु यस्तो काम गर्नुभएको स्वतस्फूर्त रूपमा होकि कसैको करकापमा परेर हो ?’
‘आँफै भनौं कि के भनौँ ! यसो गर्न पाए त्यो आत्मालाई पुन्ने पनि मिल्दोहो कि कसो होला भनेर मैले रामहरिसँग कुरा गरेकै हुँ । तपाईंको कुरा मनासिब छ दाइ, काम गरे हुन्छ पार्टीमा कुरा गरेर लागेको पैसा र दुखेसो त निकालौलानी पनि भन्नू भएकै हो केरे अहिले अब …।’
‘अहिले के भन्छन् त रामहरिले’
‘के भन्नू ! मैले सकिन दाइ, हामी तल्ला तहका मान्छेका कुरा पार्टीले सुन्दोरहेन छ भने । दिक्क लाग्यो ।’
‘यस काममा तपाईंको कतिजति खर्च भयो होला दाइ ?’
‘त्यस्तै डेढ लाख जति भयोकी !’
‘आ, छोराको बिहा होर ! त्यत्रो पैसा त खर्च भएन गाँठे ।’
‘एक लाख त भयो भयो ।’
‘एक लाख पनि भएन होला ठान्छु है म त ।’
‘आउने मान्छेलाई पानी फलफूल खान दिन प¥यो । कोही कसैलाई भातै पनि खुवाउनु प¥यो …।’
‘तिनीहरूसँग रकमको बारेमा तपाईंको कुराकानी भएको थियो कि थिएन, जसको काम तपाईंले निष्ठा पूर्वक सम्पन्न गरिदिनुभयो ?’
‘नाइँ नाइँ उनीहरूसँग मेरो सम्पर्क भेटघाट र पैसाका कुरा केही भएन । मन लोभी हुँदोरहेछ हजुर, अलिकति लोभियो गल्ती त्यही भयो ।’
‘अहो ! यसो भन्नुभयो भने तपाईं झन तल पर्नुहुन्छनी । अब आइन्दा कसैसँग बोल्दा पाँचलाख रूपैयाँको आश्वासन थियोे तर रकम पाएको छैन भन्नुपर्छ । बुझ्नुभो ?’
‘हँ ! नभएको कुरा त कसरी बोल्नु ? पाप लाग्ला केरे ।’
‘फन्डा ! यसो भनेपछि पो मान्छेको सहानुभूति तपाईंमाथि खनिन्छ र पैसा ओइरिन्छ । हिजो तपाईं पनि त्यो काममा लोभिएर फन्डा नै त गरेको रहेछनी । फन्डाका गुरुलाई मैले धेरै के सिकाइ रहनुपर्लार !’
‘फन्डा ? खाइ न पाई छालाको टोपी लाई । फन्डाले ज्वरो निकाली रहेको छ हजुर । रातदिन कचकच गरेर यो श्रीमती भनाउँदिले बस्नखान देकिछैन ।’
उनीहरूको वार्तालाप चल्दै गर्दा कोहीले क्यामेरा कोहीले क्यामेरास्ट्यान्ड र झोला बोकेर बाहिर तीन जना मान्छे आए । भित्र बाहिरका सबै जना मिलेर आगन छेउमा कुर्सीहरू राखे कुर्सीका दुरिमा नापेर क्यामेरा मिलाए ।
‘दर्शकवृन्द ! आज हामीसँग हुनुहुन्छ मृत्यु संस्कारमा कोरा बारेर क्रिया बसेका चर्चित क्रियापुत्री डमरूप्रसाद शर्मा र एक जना सुपरिचित सामाजिक अभियन्ता मुकुन्द खरेल । तपाईंहरू दुवैजनालाई हाम्रो कार्यक्रममा स्वागत छ ।’
‘नमस्कार ! धन्यवाद छ ।’
‘कम्युनिष्टका ती उच्च नेताले आफ्नो बाबु मर्दा खुट्टाबाट छालाको जुत्ता खोलेनन् कपाल खौरिएनन् र नून पनि बारेनन् । उनको सट्टामा तपाईं क्रिया बस्नुभयो । के सर्तमा क्रिया बस्नु भएको हो डमरूजी तपाईं ?’
‘राजकाजको कामले आफुलाई फुर्सद नभएको हुँदा नेताजी ले सट्टामा क्रिया बसिदिन भनेपछि आत्मालाई मोक्ष मिल्ला र धर्म पनि लाग्ला भनेर नाइँ नास्ती गर्नै सकिएन… ।’
‘गणतन्त्रको उपादेयता होकि के हो मुकुन्दजी यो ? आफ्नै बाबुको क्रियामा खेताला राख्न मिल्ने बदल्न मिल्ने यस्तो पनि हुँदोरहेछ त मृत्युसंस्कार ?’
‘ढोंगको खेती । सुन र पैसा जति पनि हजम गर्न मिल्ने तर आफ्नै बाबुको क्रिया गर्न नमिल्ने । समाज भत्काउने एउटा कुचेष्टा । सबैले बुझ्न जरुरी छ अब धर्म मास्ने बिधर्मीलाई नाङ्गेझार बनाउनु पर्छ हामी सबैले ।’
‘अनि डमरुजीलाई यो काम बापत केही सहयोगको कुरा भएको थियो कि थिएन पहिला ? मतलब कुनै जिन्सी नगदी दिने सर्त अथवा सरकारी जागिर लगाइदिने आश्वासन… ?’
‘धेरै कुरा केही भएन पाँच लाख नगद दिने भन्ने कुरा भएकै हो । आजसम्म कसैले नाकमुख देखाएका छैनन्, अब दिन्छन् जस्तो पनि लाग्दैन ।’
‘दिन्छु भनेर आश्वासन दिने काम सकिएपछि फर्केर नहेर्ने । यसरी भुइँमान्छेको चित्त दुखाउन पाइन्छ ? यसमा तपाईं के भन्नुहुन्छ मुकुन्दजी ?’
‘धर्म नभएको नास्तिकले पाप र पूण्यको मर्म कहिल्यै बुझ्न सक्दैन । यहाँ कसैको चित्त दुखे पनि नदुखे पनि आफ्नो दुनो सोझ्याउन पाए पुग्यो । यो काममा डमरु दाइको केही रकम त अवश्य खर्च भयो । एकले थुकी सुकि सयले थुकी नदी । त्यो खर्च पुर्तालका लागि हामीले पनि केही सहयोग गर्नुपर्ने हुन्छ भन्ने लागेको छ मलाई ।’
‘तपाईंले ठाउँठाउँमा सहयोग गर्दै पनि आउनुभएको छ । डमरुजीलाई पनि सहयोग गर्ने विचार गर्नुभएको छकि ?’
‘त्यति ठूलो रकम त मसँग छैन । सानोतिनो गर्जो टार्नका लागि पैंतीस हजार रूपैयाँसम्म सहयोग हुन्छ म बाट आज ।’
‘मुकिन्दजीलाई के भन्न चाहनुहुन्छ त ? डमरुजीको मनका कुरा के के छन खुलस्त पार्नुस न ?’
‘मुकुन्दलाई धन्यवाद र जय जय होस् भन्न चाहन्छु । मेरा मनका कुरा त के भने…..।’ लामो अन्तरवार्ता चल्दाचल्दै घाम ओरालो झ¥यो । कार्यक्रम सकिएपछि सामान समेट्दै उनीहरू अनौपचारिक कुराकानीमा हाँस्न थाले ।
‘कन्टेन्ट राम्रो आयो कि के भयो हँ गोपाल ?’ मुकुन्दले सोध्यो ।
‘गजब गजब भयो । डमरु दाइ हामी चिया खान लाग्दैनौ अर्को कार्यक्रम भेट्नु छ । तपाईंको यो अन्तरवार्ता हाम्रो युटुबमा च्यानलमा हेर्नुहोला । अब हामी जान्छौँ नमस्कार ।’ ती युटुब पत्रकारहरू बिदाबादी भएर गए ।
घडी हेर्दै समय कुर्दै घाम डुबेपछि मोबाइल फोन समाएर डमरुले मुकुन्दको नम्बर खोज्न थाल्यो । पत्रकारहरू गैसके पछि बातमार्दै चिया खाएर मात्र फाटेका थिए डमरू र मुकुन्द । अन्तवार्तामा बोलेको पैंतीस हजारको प्रसंग कोट्याउँदा नगद आफुसँग नभएको र चेक सटही गर्न आफन्त कोही बैंकमा गैसकेको हुँदा फोन गरेर रकम लिन आउनका लागि मुकुन्दले भनेका कारण फोन गर्नुपरेको थियो ।
‘हेल्लो ! ल भन्नुस् त ।’
‘मुकुन्दजी म डमरु बोलेको के ।’
‘ए ए ! खाना खानुभयो त डमरु दाइ ? छैन होला है ?’
‘छैन छैन । फोन गरेर मात्र आउनुहोला भन्नुभएको थियो तपाईंले । त्यही भएर फोन गरेकोनी ।’
‘ए ! पर्दैन पर्दैन दुःख नपाउनुहोला ।’
‘दुख नपाउनुहोलारे ? नाइँ किन ? पैसा दिउँला भनेको होइनर तपाईंले ? अहिले त नआउनु भन्ने गाँठे !’
‘फन्डा होके डमरुजी यो सबै फन्डा हो । कस्तो नबुझेको !’
‘फन्डा ? धत्तेरी यस्तो धोका दिन पाइन्छ ? तपाईंलाई मर्न पर्दैन ? स्वर्ग कसरी जानुहुन्छ तपाईं भन्नुस त ?’
‘स्वर्ग जाने टिकट काटेकै छैन दाइ कसरी जानू हा हा हा हा । त्यसको बारेमा पनि फेरि हामी भेटेर गफ गरौँलानी, हुँदैन ?’
‘मेरा सबै कुरा थुतेर लाने अनि यसरी धोका दिने ? अब यत्रो गरिन्छ गफ घरीघरी यस्ता धोखेबाजसँग ।’ फोनको सम्बन्ध काट्दै मोबाइल पाकेटमा हाल्यो, रिसले फत्फताउँदै सराप्यो ।
तँलाई दैवको लठ्ठी, तेरो उँधो सिरान, तँ कालो मसान….।
मनमा बैराग पसेपछि भोक तिर्खा पनि हराउन खोज्दोरहेछ आजभोलि त्यस्तै भएको छ डमरूलाई । भोकले भन्दा पनि भान्सा उतार्ने कारणले खाना खानु परेको छ । खाना खाएर ओछ्यानमा पल्टँदा नपल्टँदै अस्ट्रेलियामा भएको छोरासँग भिडियो कल फोनमा कुरा गर्दै आइन् श्रीमती ।
‘यी लिनुस फोन छोरासँग कुरा गर्नुस अरे ।’
‘बाबु ! सुतेको छैनस् अँझै ?’
‘निन्द्रा लागे पो सुत्नु जबरजस्ती कसरी सुत्नु त !’
‘किन ? के भयो र बाबु ?’
‘तपाईंले कसलाई दिनुभएको त्यस्तो अन्तर्वार्ता ? हेर्नुस त सामाजिक सञ्जालमा कत्रो बेइज्जत भएको छ ! दुनियाँले धिक्कारेका छन् । तपाईंलाई यस्तो बुद्धि कसले सिकाउँछ बुवा ? किन तपाईं एक पछि अर्को गर्दै हामीलाई नङ्गयाइ रहनु भएको छ ? के पुग्याछैन तपाईंलाई ?’
‘दुई तीन जना मान्छे आएर अन्तर्वार्ता मागेका थिए । मैले त राम्रै होला भनेर त्यसो भनेको …।’
‘तपाईंको बुद्धि विवेक छैन ? जसले जे भन्यो उसैका पछि दौडिने ? अब कति सम्झाउनु तपाईंलाई ? मलाई तपाईंको कारणले घर आउन पनि मन लागेको छैन बुझ्नुभो ?’
‘ए जेसुकै गर । ल अब तेरि आमासँग कुरा गर त्यसोभए ।’
‘पुग्यो मलाई तपाईंहरूसँग कुरा गर्न ।’ यसो भन्दै अस्ट्रेलिया वालाले फोन काट्यो ।
‘नाइँ, आज फेरि के उद्योग गरेर साध्य लडाइयो ?’
‘…….।’
‘नाइँ किन पिंडालु अड्कियो मुखमा ? फेरि के बबण्डर मच्चाइयो आज ?’
‘मलाई शान्तिले मर्न पनि नदिने भए !’
‘थुइया लाक्षी ! यस्तालाई अँझ शान्ति ! न साइनोपात पर्ने न थर गोत्रले भेट्ने अर्काको मरिमराउ आफ्नो घरमा कोरा बारेर क्रिया बस्ने । दुनियाँले छि छि र दुरदुर मात्रै भनेको छ आज । बाहिर मुख देखाएर हिनिसक्नु छैन …।’
‘म के गरुँ त प्राण सेरेर मोरुँ ? न उठि सुख न बसि सुख । कति कचकच गर्न सकेको !’
‘ठूलो स्वर नगर है ! यस्तो काम नगर भनेर त्यत्रो भाँतिबिन्ती गर्दा भविष्य सुध्रिन्छ भनेका हैनौ लाक्षी ? खोइ कता सुध्रियो भविष्य… ?’ झगडाको बीचमा फोनको चर्को घण्टी बज्यो ।
‘हेलो !’
‘तपाईं डमरू शर्मा हो ?’
‘अँ हो । तपाईं कोहो र ?’
‘….म मन्त्रीज्युको सचिवालयबाट बोलेको !’
‘ए ! म त घरै छु केरे हजुर …।’ उत्सुकता पूर्वक बोल्यो ।
‘भए नभएका कुरा मिडियामा बोलेर कसैको मानहानी गर्ने अधिकार कहाँ छ तपाईंलाई हँ ?’ फोनमा आवाज अड्किंदै आयो ।
‘को मानेलाई कसले हान्यो, कहाँको अधिकारी हो फेरि ? मलाई के थाहा तनि ?’
‘क्रिया बसेपछि पाँच लाख दिने भनेर कसले भन्यो तपाईंलाई त्यो भन्नुस पहिला ?’
‘ए नदिए नदिनुस तनि । फोनमा यसरी के नाप्न चर्किन पर्छर ? मलाई जातिबित्ती अखानो नगर्नु । म तलमाथि भएँ भने थाहा होला फेरि !’
‘केरे ? चर्किने मात्रै होइन अब तपाईंलाई कारबाही गरिन्छ । केटाकेटीको खेल ठान्नु भएको छ तपाईंले ?’
‘कारबाही ? एउटा खुकुरी ल्याएर मलाई च्वाट्ट काट्नुस अनि मासु बाँडेर खानुस, आनन्दै हुन्छ ।’ यसो भन्दै उसले फोन कुनामा मिल्कायो ।
‘कसले के भन्यो फेरि ? हँ ?’
‘…….।’
‘किन हो नबोल्ने ? कसले कहाँबाट के कारणले फोन गरेको हो भनेको के ?’
‘तेरो बाउले फोन ग¥यो स्वर्गबाट, घाँटीमा पासो लाएर चाँडै आउ ज्वाईं भन्दैछ ।’
‘हे भगवान ! यस्ता असतीसँग मेरो कसरी जिन्दगी चल्ला !’
‘नचले जा फस्की ।’ यति भन्दै उता फर्केर सुत्यो । ओढ्नेले आँफुलाई ग्वाम्म ढाक्यो ।
प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार ०५:०४
उमालाल आचार्य ।