अल्पकालीन आवास

भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरिने भएको छ । अल्पकालीन आवास व्यवस्थापनका लागि सरकारले यस्तो योजना अघि सारेको हो । जसका लागि बजेट विनियोजन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरेको हो । कर्णाली प्रदेशका तीनसहित पाँच जिल्लाका भूकम्पबाट प्रभावित परिवारहरूको लागि एक अर्ब ४१ करोड रूपैयाँ निकासा गरेको हो । उक्त बजेटबाट अस्थायी आवास निर्माण गरिनेछ । तत्कालका लागि बसोबासको व्यवस्थापन गर्न अस्थायी संरचना निर्माण गरिँदैछ । प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूको नाममा उक्त रकम पठाएको हो ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित कर्णाली प्रदेशको जाजरकोट जिल्लाका लागि ५० करोड पठाइएको छ । अर्को प्रभावित जिल्ला रूकुमपश्चिमका लागि पनि ५० करोड नै रकम निकासा गरिएको छ भने सल्यानका लागि दुई करोड छुट्याइएको प्राधिकरणले जनाएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको बझाङका लागि २५ करोड र बाजुराका लागि १४ करोड पठाइएको हो । भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रूपैयाँमध्ये पहिलो किस्ता सोमवार नै निकासा गर्न भनेको थियो । उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत भइसकेको छ । भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रूपैयाँ पाउने प्रबन्ध गरिएको छ । साथै निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रूपैयाँ निकासा हुनेछ ।

भूकम्पले कर्णाली प्रदेशका मात्रै ६५ हजारभन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदनअनुसार जाजरकोट, रुकुमपश्चिम, सल्यानलगायतका जिल्लाहरूमा बढी क्षति भएको छ । यसबाहेक कर्णालीका अन्य जिल्लाहरूमा पनि क्षति भएको छ । तर अन्य जिल्लाहरूमा ठूलो क्षति नभएको हुँदा सरकारले तीन जिल्लालाई प्राथमिकतामा राखेर आवास निर्माणको योजना अघि सारेको छ । मंसिर तेस्रो साता जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले कर्णालीमा ठूलो मानवीय क्षति निम्त्याएको थियो । मानवीय क्षतिका साथै भौतिक क्षति पनि भयो । हजारौँ नागरिक घरविहीन भएका छन् । कैयन्का घर भूकम्पले चर्किएर बस्न नमिल्ने भएका छन् । बढ्दो चिसोका कारण भूकम्पपीडितहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ । त्यसैले पनि जतिसक्दो छिटो तत्कालका लागि अस्थायी संरचना बनाएर भएपनि उनीहरूको बसोबासको व्यवस्थापन गर्न अपरिहार्य भएको छ ।

प्रकाशित मितिः   ६ मंसिर २०८०, बुधबार ०५:०३