माइलीको दसैँ

बर्खा सकिएर आकाश फाटेपछि, बारी फाँडेर उघारिलो भएपछि र पहाड तथा क्षितिज छर्लङ्ग खुलेपछि शारदीय मौसममा दसैँ आएको आभास हुन्छ । न गर्मी न जाडो, रात र दिन दुवै प्यारो, वातावरणले नै मन प्रफुल्ल बनाउँछ । उतिबेला दसैँको मुखमुखमा कामको पनि खुबै चटारो हुने ! मकै भाँच्नु, ढोँड काट्नु फेरि हतारहतारमा बारी जोतखन गरीनसक्दै घरमा कमेरो छ्याप्न र रातो माटोले लिप्न भ्याइनभ्याई हुन्थ्यो गाउँले सबैलाई ।

दसैँको दिन बिहानसम्म घरका भित्तामा पुरेनी बनाउन र डोकामा चढेर झ्याल ढोकामा कालो घस्न म व्यस्त हुन्थेँ । आमाले पहिला प्रथम दैलाको निधारमा गोबर टाँसेर टीका र जमरा लगाउनुहुन्थ्यो ।

‘जा त तल्लाघर टीका लगाएकी नाइँ फेरि हेरेर आइज त ।’
घरीघरी मैले तल्लाघर(ठूलीआमाको घर) को अवलोकन गरिरहेको हुन्थेँ ।

‘आमा ! अहिले तल्लाघर टीका लगाउन थालेनी ।’ तल्ला घरको साइत छोपेर आमाले मलाई टीका लगाइदिनुहुन्थ्यो । मेरो निधारमा रातो टीका टाँसिरहँदा आमा प्राय गम्भीर मुद्रामा रहनुहुन्थ्यो । म आमाको सजल आँखामा एकटक हेरिरहन्थेँ चुपचाप चुपचाप ।

त्यतिबेला आमाको मनमा दौडने चिन्ताको लहर सहजै ठम्याउन सक्थेँ । भारतीय सेनामा कार्यरत मेरो पिताजीको अल्पायुमै देहान्त नभएको भए आमा कलिलै उमेरमा विधवा जीवनसँग अभ्यस्त हुनुपर्ने थिएन । म पनि कल्पनाको शोकमा हराउँथे पिताजी भइदिएको भए कति खुसहाल हुँदो हो जिन्दगी ! यस्ता चाडबाडहरू कति रमाइला हुँदा हुन् !

केही सम्झना त कति पीडक हुन्छन् सुखमा पनि बल्झिन आउँछन् र दुखी बनाउँछन् । घरको टीका भ्याएपछि ठूलोबा र ठूलीआमासँग टीका थाप्न हामी दसैँमा सधेँ तल्लाघर जान्थ्यौँ । आमाको लागि तल्लाघर सेतो अक्षताको टीका पहिल्यै प्रबन्ध गरिएको हुन्थ्यो ।

ठूलीआमाले बनाएको भोजन असाध्यै मन पथ्र्यो । खाना खाएर टीका थाप्न हामी फेरि पल्लाघर जानुपथ्र्यो । पल्लाघर अर्थात् आमाको मामाको घर । सापकोटाको घरपरिवार संख्या ठूलो र चेलीबेटी पनि धेरै भएका कारणले पालो पर्खनुपथ्र्यो । हजुरबा र हजुरआमासँग टीका लगाई माग्न आमा र म सँगै बस्थ्यौँ । कुन्नि किन मसँग हजुरआमा मुसुमुसु हाँस्नुहुन्थ्यो ।

‘लडाइँ झगडा नगरेस् जाइने । मास्टरलाई ढुङ्गा नताकेस् जाइने । बदमासी नगरेर राम्ररी पढेस् जाइने । जाइने..जाइने..जाइने…।’ जाइने थेगो मिसाएर टीकासँगै हजुरबाले अर्ती उपदेश र आशीर्वाद दिनुहुन्थ्यो । दक्षिणा त छँदैछ हेरौँला घर पुगेर ।

दैलामा ताल्चा मारेर नेवारेदेखि अब हाम्रो सिधा लक्ष्य हुन्थ्यो आमाको सानीमाको घर, ढोडेखाली । ढोडेखाली अर्थात् कान्छामामा दयाराम न्यौपानेको घर । आफ्नै बारीको केरा, धान भुटेर ढिकीमा कुटेको चिउरा, सेलरोटी र सानो ठेकीमा दही गरुंगै कोसेली बोकेर जान्थ्यौँ । त्यो यात्रामा एउटा खड्गो नकाटी नहुने थियो बाटामा ठूलो खोलो पथ्र्यो । सङ्लो पानी बग्ने त्यो बलियो खोलाले पाडा बाच्छा बगाएको र मान्छेहरू पनि पल्टाएको खबर सुनिन आउँथ्यो । घाट परेको ठाउँबाट खेपसारो गर्दै आमाले कोसेली र जुत्ता चप्पल पारी तारेर वारी आउनु भयो ।

‘फुकाल के फुकाल जाङे फुकाल ।’
‘नाइँ फुकाल्दैन मैले कच्छा लाछैन ।’
‘चिसै जाङे लगाएर जान्छस् ढोडेखाली ?’
‘जाँदाजांँदै सुकिहाल्छ नि ।’
‘नाइँ, पेट ढाडिन्न र ?’
‘जाङे भिजेर कसरी ढाडिन्छ पेट ?’
‘तेरो गाला चड्काइदिम्ला । जान्छस् कि जान्नस् ढोडेखाली हँ ? नभए फर्कि जा घर ।’

बाध्यतामा परेर ईच्छा विपरीतको काम गर्न म विवश हुन्थेँ । आमाले मेरो जाङे मात्र कब्जा गर्नुभएन, कम्मरबाट कमेज पनि माथि खिपेर छातीमा घुसारी दिनुभयो । आमासँग म भुतुङ्गो हात समाउँदै हेलिएँ खोलामा ।

‘खुट्टा दह्रो टेक है दह्रो टेक ।’

‘ल । ल । ल ।’ चिसो पानीले मेरो नाइटोसम्म मुसार्दै बग्थ्यो कन्चन निर्मल इत्रामखोला बटारिँदै छचल्किएर । तरेर पारी पुगेपछि आमाले आफ्नो गुनियोको मुजा निचोर्नुहुन्थ्यो । म जाङे लगाउने तरखर गर्दैगर्दा आमाले फेरि झम्टनुहुन्थ्यो, ‘ए पख पख ।’ हत्केलाले मेरो आङको पानी सोहर्दै पुछेर ओभानो पार्न खोज्नुहुन्थ्यो । मलाई भने कोही कसैले कतैबाट देखेर इज्जतको सत्यानास होलाकी भन्ने ठूलो जलत्राही हुन्थ्यो ।
नेवारे आफ्नो माइत जाने काम भोलिलाई थाँती राखेर ढोडेखालिकी हजुरआमाले हामीलाई पर्खी बस्नुहुन्थ्यो ।

‘अब तेरो दुखका दिन गए माइली । पीर नलिएस बा ! अब त दिनदिन छोरो पनि ठूलो हुँदैछ ।’ टीका लगाउँदै हजुरआमा ले त्यसो भन्दा आमाको आँखा भरिन्थे र परेलाका डिलबाट घपलक्क आँसु लोट्थे । माइतकी माइली छोरी र घरकी पनि माइली बुहारी भएका कारण घर माइती र मावलीमा सबैजना मेरी आमालाई माइली भनी बोलाउँथे । आमा पछि मेरो पालो आउँथ्यो किनकि आमाको र मेरो टीकाको रंग फरक थियो ।

‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी…नवदुर्गाको टीकाले फलिफाफ होस् । धेरै पढेस्, विद्वान बनेस्, आमालाई कत्ति नसताएस् है ?’ हजुरआमालाई मैले हुन्छ भन्ने संकेतमा टाउको हल्लाउँथे ।

टीकाटालो सकेपछि आमाले कोसेली चार–पाँच ठाउँमा भाग लगाउनुहुन्थ्यो । आँगनमै जोडिएको थियोे माइली माइजुको घर अर्थात् नारायण दाइको घर । जेठा मामाको घर सकेर साइँला मामा अर्थात् दिवाकर दाइको घरमा टीका टालो राति नै सम्पन्न हुन्थ्यो । भोलिपल्ट बिहान तातोपानी काइँला मामा अर्थात भाइ कृष्णको घरमा टीका लगाउन जानुपथ्र्यो । कृष्ण मेरो दौंतरी पनि भएकोले आमासँग तुरुन्त घर फर्किनु पटक्कै जाँगर लाग्थेन । यसरी हाम्रो ठूलो दसैँ ढोडेखाली मामाघरतिरै सकिन्थ्यो ।

नेवारेमै आमाको अर्की सानिमा हुनुहुन्थ्यो लामिछाने अर्थात मामा केदार लामिछानेको घर । त्यहाँ पनि आमा र म सँगै टीका थाप्न जान्थ्यौँ । ठूलेमामा(भाइ कृष्ण सापकोटाको घर), साइँला मामाको घर र भक्तडी मामा (रामलाल दाइको घर) उछार र फुर्सद निकालेर प्राय आमा मात्रै जानुहुन्थ्यो । म, हाम्रो घर टीका लगाउन आउने फुपूका छोरा भाइहरूसँग अलमलिनु मै आनन्दित हुन्थेँ । दसैँको भोलि–पर्सिपल्ट नारा पारीकी फुपू बस्ने गरेर आउनुहुन्थ्यो, असाध्यै खुसी लाग्थ्यो । टीका लगाएर खाना खाइसके पछि टुकी बत्ति निभाएर ओछ्यानमा आमा र फुपू गुनगुन लामो बात मारिरहनुहुन्थ्यो । सबै सुनेर म त्यो बातचितमा हराउँथे । राति कति अबेरसम्म कुरा गर्नुहुन्थ्यो आमा र फुपूले ? खोइ के थाहा, समय नाप्ने घडी थिएन कसैसँग ।

बिहा गरेर जागिर खाएपछि दसैँको पहिलो प्राथमिकता प्यारो ढोडेखालीबाट छुटेर ससुराली माइतीतिर मोडियो । ढोडेखालीमा जस्तो बालापनको रमाइलो दसैँ ससुराली गाउँमा कसरी भेटाउनु ! रीति रिवाज संस्कार र संस्कृति मात्र होइन समयसँग भूगोल पनि बदलिँदो रहेछ । चनौटेबाट ओरालो झरेर भावरतिर जाँदै गर्दा इत्राम खोला सुसाएको सुनिन्थ्यो । भावरमा जस्ता विशालकाय सिमलका रूख मैले अन्यत्र देखेको छैन ।

चौगानचौर काटेर गएपछि खोर्केसहित तीनवटा खोला तर्नुपथ्र्यो । कतै खेतको आलिआलिमा पनि हिँड्नु पर्ने हुन्थ्यो । आज कहाँ बिलाए होलान् ती खोला र आलिहरू ! कहाँ हरायो होला अजमरीको त्यत्रो जंगल, सिँउडी घारी र छिनछिनेको दमार ! इत्राम खोलाभरी पल्टेका घर कटेरा जत्रा ती ढुङ्गाहरू कहाँ गए होलान् ! जमाना यसरी फेरिए पनि मेरो बालापनको त्यो सुर्खेत सम्झनामा झलझली छ ।

छोराछोरी जन्मेपछि दसैँको नक्सा फेरि बदलियो । बाहिर फेर अन्यत्र रात बिताउन छोडियो, ज्यादा केटाकेटीकै खुसीमा रमाउन थालियो । दिन हुन्छ फेरि रात हुन्छ समय यसरी नै बितेर जान्छ । छोराछोरी पढे–लेखे–बढे बालिग भए । पालैपालो बिहेदान पनि भयो । समयले उचाल्दै आज हजुरबाको श्रेणीमा पु¥यायो । मेरी आमालाई टीका जमरा लगाएर आशीर्वाद दिने ती प्यारा मान्यजन सबै परमधाम भैसके । माइलीको प्राण पखेरु पनि स्वर्गतिरै उड्यो । कसैले कसैलाई माइली भनेर बोलाएको सुन्दा आमाकै झल्को आउँछ । अब सम्झनामा मात्रै सीमित रहे ती रमाइला पलहरू । जिम्मेवारी उचाल्न र बोक्नुपर्ने हुँदा उमेर र अवस्था अनुसार दसैँका रहर रंग उमङ्ग पनि बदलिँदै जाँदारहेछन् ।

मेरो बालापनको त्यो मिठास लिएर दसैँ कहिल्यै आउने छैन किनकि समय उल्टो फर्कन जान्दैन । समय कहिले शुभ हुन्छ कहिले अशुभ हुन्छ तर दसैँ सालिन्दा आइरहन्छ । दसैँमा आफ्ना परिवार र सन्तानहरू जोडिन्छन् । नातापाताका कुटुम्ब पनि समेटिन्छन् तब त मेलमिलापको चाड भनिएको होला ।

आडम्बर र बडप्पनलाई त्यागेर मान्छेका सफा चित्तमा बस्ने सद्भाव बनिदियोस दसैँ । असत्यमाथि सदा सत्यको विजय हुने भनी विश्वास गरिएको, हिन्दुजनहरूको महान पर्व विजयादशमीको सबैमा मंगलमय हार्दिक शुभकामना !

-उमालाल आचार्य

प्रकाशित मितिः   ४ कार्तिक २०८०, शनिबार ०९:०६