आधारभूत अधिकारबाटै वञ्चित विद्यार्थी

मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्न, ‘यावत समस्याकाबीच कसरी गुणस्तरीय शिक्षा हासिल हुन सक्छ ?’

सुर्खेत: जाजरकोटको शिवालय गाउँपालिका वडा नं. ३ मा रहेको सरस्वति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत मिना रेग्मीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गरेर विद्यालयका समस्याका बारेमा गुनासो गरेकी छन् । उनले विद्यालयमा पर्याप्त भवन नभएको, शिक्षक अभाव, खानेपानी, शौचालय, अपाङ्गमैत्री वातावरणको अभावलगायतको समस्याहरू आफ्नो पत्रमा उल्लेख गरेकी छिन् । चिठीमा लेखेकी छिन्, ‘विद्यार्थी संख्या अनुसारको शिक्षक दरबन्दी छैन । पर्याप्त खानेपानीको व्यवस्था छैन । छात्रछात्रामैत्री र अपाङ्गमैत्री शौचालयको व्यवस्था छैन । अभिभावकको विद्यालयप्रति चासो र चिन्ताको कमी छ । यावत समस्याका बिच कसरी गुणस्तरीय शिक्षा हासिल हुन सक्छ ?’ यसका साथै उनले शिक्षामा उचित बजेटको व्यवस्था गर्न र गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन मुख्यमन्त्रीलाई अनुरोध गरेकी छिन् ।

यस्तै रूकुमपश्चिमकी कक्षा ९ मा अध्ययनरत लक्ष्मी खड्काले पनि विद्यालय भवन, स्वच्छ पिउने पानी, शौचालयको अभाव, विषयगत शिक्षकको कमीलगायतका समस्या रहेको गुनासो गरेकी छिन् । उनले समस्या समधान गर्न मुख्यमन्त्रीलाई अनुरोध गरेकी हुन् ।

मुगुको सोरु गाउँपालिकास्थित जनज्योति माविमा अध्ययनरत कमला नेपालीले मुख्यमन्त्रीलाई लेखेको चिठीमा पनि उस्तै समस्या छन् । उनले पाठ्यपुस्तक समयमै नपुग्दा पढाइमा बाधा पुगेको गुनासो गरेकी छिन् । समयमै पाठ्यपुस्तक पु¥याउन र पर्याप्त कक्षा कोठाको व्यवस्था, शौचालय, खानेपानीको समस्या समधान गर्न अनुरोध गरेकी हुन् ।

उनीहरूका चिठी हेर्दा कर्णालीका बालबालिकाहरू आधारभूत बालअधिकारबाट समेत वञ्चित भएको देखिन्छ । अनेकौं प्रतिकुलताले शिक्षाको अधिकार सुलभ रूपमा पाउनका लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख छ ।

सेभ द चिल्ड्रनको साझेदारीमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेशले बिहीवार कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरूले लेखेको पत्र मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्रीलाई चिठी लेख्ने अधिकांश बालबालिकाले आफूले अध्ययनरत विद्यालयको भौतिक संरचना उपयुक्त नभएको गुनासो गरेका छन् । भवन जीर्ण भएको, चौरमा बसेर पढ्नुपर्ने बाध्यता, खानेपानी र शौचालयको व्यवस्था नभएकोलगायतका समस्याहरू उल्लेख गरेका छन् । तीन सय १२ वटा चिठ्ीमध्ये दुई ७४ वटा चिठीमा यस्ता समस्या उल्लेख गरिएको छ । स्वच्छ खानेपानी र शौचालयको अभाव भएको ७३ दशमलव पाँच प्रतिशतले उल्लेख गरेका छन् ।

कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा शिक्षक अभाव र समयमै पाठ्यपुस्तक नपुग्ने गरेको समस्या दर्शाएका छन् । दरबन्दी अनुसार शिक्षक नभएको, विषयगत शिक्षक नरहेको समस्या उल्लेख गरेका छन् ।

विद्यार्थीहरूले लेखेका समस्याहरूअनुसार समयमै पुस्तक नपाउँदा शिक्षकले पढाएकै भरमा नोट गराएर परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । २८ दशमलव २ प्रतिशतले शिक्षक अभाव रहेको गुनासो गरेका छन् । हाल कर्णाली प्रदेशमा दुई हजार नौ सय ३१ विद्यालयमा १७ हजार तीन सय ८४ शिक्षक दरबन्दी आवश्यक भएपनि अझै पाँच हजार पाँच सय ४९ शिक्षक दरबन्दी अपुग रहेको छ ।

यस्तै विद्यार्थीहरूले छात्राहरूका लागि छुट्टै शौचालय नभएको, महिनावारी भएको समयमा अध्ययनमा बाधा पुग्ने गरेको स्यानिटरी प्याड नहुँदा समस्या हुने गरेको र अपाङ्गमैत्री भौतिक संरचना नभएको गुनासो गरेका छन् । अपाङ्गता भएका विद्यार्थीहरूले विद्यालयमा अपाङ्गमैत्री वातावरण मिलाइदिन छात्रवृत्ति सुविधा गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरेका छन् ।

बालबालिकाहरूले दिवाखाजा नपाएको र पाए पनि न्यून मात्रामा दिइने खाजा गुणस्तरहिन भएको चिठीमा उल्लेख गरेका छन् । विभिन्न कारण शिक्षण सिकाई प्रक्रियाा चुनौती भोग्नु परेको गुनासो गरेका छन् । शिक्षकहरूको व्यवहारगत समस्या, कक्षा कोठामा शैक्षिक समाग्रीको अभाव, तालिम प्राप्त शिक्षकहरूको अभावलगायतका कारण सिकाइ प्रक्रिया जटिल बनेको गुनासो पोखेका छन् । शिक्षा र बालअधिकारका मात्र नभएर अन्य सरोकारका विषय पनि मुख्यमन्त्रीलाई चिठीमा लेखेका छन् । बालविवाह, छाउपडी प्रथा, महिलामाथि हुने हिंसालगायतका सामाजिक विसंगतिको विषयमा बालबालिकाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

शिक्षा पत्रकार समूह कर्णाली प्रदेशले कर्णालीका १० जिल्लाका ५८ वटा पालिकाबाट तीन सय १२ चिठी संकलन गरेको थियो । चिठी पठाउने मध्य एक सय ७८ बालक र एक सय ३४ बालिका रहेका छन् । समूहको कर्णाली प्रदेशका संयोजक कलेन्द्र सेजुवालले कर्णालीका बालबालिकाको शिक्षाको उपभोगको अवस्था बुझ्न, बालबालिकाले विद्यालयमा भोग्नु परेका समस्या र चुनौतीहरूको पहिचान गर्न र बालबालिकाका गुनासो, अपेक्षा, सुझावहरू पत्रमार्फत प्रदेश सरकारसम्म पु¥याउने उद्देश्यले चिठी संकलन गरेर मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको जनाए ।

प्रकाशित मितिः   ३ कार्तिक २०८०, शुक्रबार ०५:०५