विद्युत उत्पादनमा व्यवधान
कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाटको फुकोट–कर्णाली जलविद्युत आयोजना निर्माणको काम वातावरणीय प्रभाव मूलयांकन (इआइए) मै अल्झिएको छ । विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन उक्त मन्त्रालयले स्वीकृत गरेको छैन । इआइए स्वीकृत नहुँदा अध्ययनका सबै काम सकेर पनि आयोजनाले ‘जेनेरेसन लाइसेन्स’ पाउन सकेको छैन । विद्युत उत्पादन कम्पनीले इआइए प्रतिवेदन स्वीकृतिका लागि करिब नौ महिना अघि ऊर्जा मन्त्रालय पठाएको थियो । ऊर्जाले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाएको दुई महिना पुगिसकेको छ । वन मन्त्रालयले स्वीकृति दिएपछि प्रतिवेदनले अन्तिम रूप पाउने छ ।
आयोजनाको विस्तृत डिजाइन र अध्ययन पूरा भइसकेको छ । २०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागले अनुमति दिएको थियो । कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चार वर्ष लगाएर तयार भइसकेको छ । सन् २०२२ मै डीपीआरको काम सकिएको थियो । डीपीआर र इआइएको काम सम्पन्न भएको आयोजना प्रमुख हिरामान वाइबाले बताए । तर इआइए प्रतिवेदन मन्त्रालयमा अड्किएको छ । प्रस्तावित आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ३ मा पर्छ । बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका वडा नं. ११ मा रहनेछ । मुख्य बाँधको उचाइ जगदेखि एक सय ६० मिटर तथा नदीको पिधको स्तरबाट एक सय नौ मिटर हुनेछ । बाँधको माथिल्लो भाग (क्रेस्ट) को लम्बाइ तीन सय १३ मिटर र चौडाइ दश मिटर हुनेछ । आयोजनाका केही पूर्वाधारका काम भने भइरहेका छन् । कार्यालयको भवन निर्माण, गेष्ट हावस निर्माण, वाल निर्माण र पहुँच मार्ग विस्तारलगायतका काम धमाधम भइरहेका छन् । पावर हावस भने यसअघि नै निर्माण गरिसकिएको छ । आयोजना प्रमुख वाइबाका अनुसार इआइए स्वीकृत हुने वित्तिकै ‘जेनेरेसन लाइसेन्स’ का लागि विद्युत विकास विभागमा अनुमतिका लागि निवेदन पेस गर्नेगरी काम भइरहेको छ ।
कालीकोटको सानीत्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा पाँच सय २० मिटरको परीक्षण सुरुङ खनेर एक सय ६० मिटर अग्लो बाँध निर्माण गरी १३.५ किलोमिटर सुरुङबाट सानीको भौतेगाडामा निर्माण हुने विद्युत आयोजनामा जोड्ने योजना छ । निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा गरिने छ । विद्युतको अधिकतम् माग हुने समयमा सञ्चालन गर्ने उद्देश्यका साथ यो आयोजना निर्माण गर्न लागिएको हो । जलविद्युत उत्पादनमा देखिदै आएका अनेक व्यवधान समाधान गरी आयोजना सञ्चालनमा ध्यान दिन आवश्यक छ ।
प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार १९:५०
सम्पादकीय ।