कुडा कर्णालीका

कर्णाली नदी प्रणाली

कर्णाली नेपालको सबैभन्दा लामो नदी हो । नदीसँग मानव जीवन जोडिएको हुन्छ । यद्यपि, मानव विकाससँगै नदी प्रणाली खल्बलिएको पाइन्छ । कर्णाली उत्सवको चौथो संस्करणमा कर्णाली नदी र यसको पारिस्थितिकीय प्रणालीबारे छलफल गरिएको थियो । छलफलमा योजनाविद मीनबहादुर शाही, नेपाल सरकारका सहसचिव कलानिधी पौडेल, अभियन्ता मेघ आले तथा दैलेखको आठबिस नगरपालिकाका पूर्व उपप्रमुख दीपा बोहोराले भाग लिएका थिए । छलफलको सहजीकरण जल अभियन्ता नारायण वाग्लेले गरेका थिए ।


कलानिधी पौडेल, सहसचिव, नेपाल सरकार

नेपालमा जलस्रोत व्यवस्थापनका लागि सन् २००२ को राष्ट्रिय जलस्रोत रणनीति तथा २००५ को जल योजना हुँदै अहिले हामी विश्व बैंकको सहयोगमा नदी वेसिन योजना अगाडि बढाएका छौँ । जसमा नदी वेसिन योजनासँगै हाइड्रोपावर मास्टर प्लान पनि बनाउँदै छौँ । आर्थिक तथा सामाजिक विश्लेषण गरेर क्षमता वृद्धि गर्ने पनि भनेका छौँ ।

हामीले विगतमा अध्ययन गरेको वा पढेको के थियो त्यो भने नेपालमा ६ हजार नदीनाला छन् । तिनबाट ८३ हजार मेगावाट बिजुली निकाल्न सकिन्छ । नेपाल ब्राजिल पछिको दोस्रो जलस्रोतको धनी देश हो । आदि वियय अब त्यति महŒवपूर्ण रहेन । अहिले हाम्रो अध्ययनले देखाएको छ कि नेपालमा करिब २३ हजार नदीनाला छन् । आजभन्दा करिब पाँच वर्ष अघिको एक अध्यनले ७२ हजार मेगावाट बिजुली निकाल्न सम्भव देखाएको छ ।
नदी वेसिन योजनाले मुख्यतया गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली गरी पाँच वटा नदी वेसिनलाई महŒवपूर्ण आधार मान्दै यी ठाँउमा नदी वेसिन कार्यालय स्थापना गर्नेतर्फ हामी लागेका छौँ । चार वर्षको प्रयासबाट २०७७ असार २९ गते राष्ट्रिय जलस्रोत नीति आएको छ । जलस्रोत नीतिमै आधारित रहेर जलस्रोत ऐनको तर्जुमा भएको छ ।

अर्को महŒवपूर्ण कुरा नदीकै कारण वन क्षेत्र तथा खेतीयोग्य जमीनको विनाश भयो भन्ने छ । जसका लागि सबै जिल्लामा वन तथा भूमि सुधार कार्यालय छन् । यद्यपि, नदी संरक्षणका लागि एकीकृत पहल भएको छैन । नत त्यसमा धेरैको ध्यान नै पुगेको छ । नेपालमा अहिले नदी संरक्षण सम्बन्धी शक्तिशाली कानुनको अभाव छ र त्यो अभाव पूर्ति गर्नका लागि जल तथा ऊर्जा आयोगले केही काम अगाडि बढाएको छ ।

अर्को विषय एकीकृत जलश्रोत व्यवस्थापन हो । यद्यपि, समन्वयको अभावमा हामीले भनेको समता, समानता, प्रभावकारिता र दिगोपनाले काम गर्न सकेको छैन । जलस्रोत उपयोग, व्यवस्थापन, संरक्षण, नियमन र अनुगमन गर्ने केन्द्रीय निकाय कुन हो वा प्रादेशिक तथा स्थानीय निकाय कुन हो भन्नेमा प्रष्टता छैन । संविधान अनुसार पानी कसले हेर्ने हो भन्नेमा दुविधा छ । अब पानीको उपयोगसम्बन्धी लेखा राख्ने, लेखापरीक्षण गर्ने तथा त्यसका लाग स्रोत व्यवस्थापन गर्नु जरुरी छ । भोलिका दिनमा हिजो जस्तो पानी छ्याप्छ्याप्ती नहुन सक्छ । हामीले त्यसतर्फ पनि विचार पु¥याउनु पर्छ ।

अतः पानी प्रणालीका लागि राजनीति क्षेत्र, कर्मचारीतन्त्र, विज्ञ र कानुनी व्यवस्था प्रष्ट हुनु जरुरी छ । २०२० सालको कानुनले २०८० सालको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन ।


दीपा बोहोरा, पूर्व उपप्रमुख, आठबिस नगरपालिका, दैलेख

हिजो यस क्षेत्रमा भएका सबै बसोबासको मुख्य कारण कर्णाली नदी प्रणाली नै हो । पानीको मुहान अन्यत्र हुँदा पनि पहिलेका मानिसले कर्णालीकै पानी पिउँथे । धमिलो भएपनि त्यो स्वादिष्ट र अद्वितीय थियो रे । बाटाघाटा नहुँदा कर्णाली नदी यातायातको माध्यम पनि थियो । ठूल्ठूला ढुङ्गा र काठ पनि नदीबाटै ओसार्न सकिन्थ्यो । अहले पनि धेरै मानिसको जीविका कर्णाली नदीसँग जोडिएको छ । कतिले माछा मारेर कतिले नदीमा बगेर आएका काठ दाउरा बेचेर जीविका चलाएका छन् ।

यद्यपि, हिजो मैले देखेको जस्तो कर्णाली आज सफा र स्वच्छ छैन । नदीले हामीलाई ढुङ्गा, गिट्टी, बालुवा, माछालगायत धेरैथोक दिएको छ । कर्णाली नदी किनारका बस्तीमा नदी नै चिस्यान केन्द्र हो । तर हामीले नदी सफा राख्ने कुरामा ध्यान दिन सकेका छैनौँ ।

नदी संरक्षणका लागि स्थानीय तहले धेरै काम गर्न सक्छन् । दैलेखको आठबिस नगरपालिकाले सबैभन्दा पहिले जलचर ऐन निर्माण गर्यो र कार्यान्वयन पनि ग¥यो । वातावरण मैत्री सडक निर्माण ग¥यो । त्यसैगरी त्यहाँ दह निर्माण गरेका छौँ र माछा मारेर जिविकोपार्जन गर्नेलाई र्याफ्टिङमा जोडेका छौँ । यसका साथै साना एक औंले वा दुई औंले जाललाई प्रतिबन्ध लगाएका छौँ । नगरस्तरबाट महिनामा एक चोटि सरसफाइ अभियान पनि चलाएका छौँ । हाम्रो मुख्य ध्येय कर्णाली नदी प्रणाली र सभ्यताको संरक्षण नै हो ।


मीनबहादुर शाही, योजनाविद

कर्णाली नदी राक्षस तालबाट उत्पति भएर आएको हुनाले यो धेरै गहिरो खोँच हुँदै बगेर आएको छ त्यसैले सिँचाइलगायत अन्य दैनिक उपभोगका निम्ति प्रयोग हुँदैन भन्ने स्थानीय किंवदन्तीहरू पाइन्छ । तर यसको मतलब पानीको उपयोग नै हुँदैन भन्ने होइन ।

हरेक नदीजस्तै कर्णाली नदी प्रणाली पनि आफैमा एक सभ्यता हो । यहाँ पाइने पत्थरदेखि जलचर सबै महŒवपूर्ण छन् । नदीसँग प्रकृति र संस्कृति पनि जोडिएको हुन्छ । अब हामी नदी प्रणालीसँग जोडिएका सभ्याताको खोजी र विकास गर्नुपर्छ । नदीको संरक्षण हुन नसक्दा मानव सभ्यता पनि जोखिममा पर्छ । योसँगै दीगोपनाको कुरालाई पनि ख्याल गर्नुपर्छ । यद्यपि, बहुआयामिक गरिबीको चपेटामा रहेको क्षेत्रमा हामीले ठूला विकासका केही आयोजनाहरूमा अलिकति हस्तक्षेप नगर्ने हो भने हामीले जुन समृद्धिको परिकल्पना गरिराखेका छौँ, यो क्षेत्रको कल्याणको कुराहरू गरिराखेका छौँ, त्यो प्राप्त नहुन सक्छ ।

यो नदी प्रणालीको कुरा एकदमै जटिल छ । त्यसमाथि पनि हाम्रो भूगोल र क्षेत्रीय सीमाना झनै जटिल छ । पानीको प्रयोग सम्बन्धमा हामीले ति विषयमा पनि विमर्श गर्नु जरुरी छ । पानीको अभावबाट उत्पन्न हुने द्वन्द्व अर्को महŒवपूर्ण विषय हो । नेपालमा पानीको विषय पिउने पानी, बिजुली, सभ्यता र अर्थतन्त्र आदिसँग सम्बन्धित छ । यतिमात्र हैन हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धसमेत ठूला ठूला नदी र तिनको पानीको प्रयोगले प्रभावित छ । यसका लागि हामीले जल सुशासनमा ध्यान दिनुपर्छ ।

कर्णाली नदी प्रणाली सभ्यतासँग जोडिएको कुरा हो । त्यसैले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकास गर्नु जरुरी छ । हामीसँग उपलब्ध स्रोतलाई आर्थिक वृद्धिसँग र आर्थिक वृद्धिलाई जीवनपद्धतिसँग जोडेर मात्रै समृद्धि हासिल गर्न सकिन्छ । यद्यपि, नदी प्राणालीको दोहनमात्रै नभइ संरक्षण र प्रयोगमा पनि ध्यान दिनु जरुरी छ ।


मेघ आले, अभियन्ता

 

कर्णाली‍ सबैभन्दा दुर्लभ र पुरानो नदी हो । जुन तिब्बतको कैलाश क्षेत्रबाट उद्गम हुन्छ । कर्णालीकै महिमाका कारण आजभन्दा २७ वर्ष अगाडि मैले नेपाल नदी संरक्षण संस्था दर्ता गरेको हुँ । हामीले एउटा अभियान पनि सञ्चालन ग¥यौँ । सन् २०१८ मा कैलाश हुँदै कर्णालीको मुहान खोज्न गयौँ । त्यहाँ नेपाली वैज्ञानिकलगायत अमेरिकी वैज्ञानिकहरू थिए । हामी राक्षस ताल हुँदै मानसरोवर कैलाश गयौँ । खोंचभित्र पसेर माप्च्याखवाव–मयुरको मुखदेखि आउने नदी भन्ने मुल रहेछ । त्यो नदीलाई पछ्याउँदै हामी गंगासम्मै गयौँ ।

धेरै धर्मको आस्था कैलाश, कर्णाली र गंगा हो । कैलाशदेखि निस्किएर गंगामा जोडिने नदी एउटा मात्रै कर्णाली हो । यो सभ्यता र संस्कृतिको मुहान पनि हो । कर्णाली भुगर्व, जैविक विविधता र जलवायुको संग्रहालय हो । कर्णाली यति दुर्लभ छ की विश्वसम्पदामा सूचीकृत गर्न लायकको छ । यद्यपि, हामी सुनको कचौरामा भिख मागिरहेका छौँ । नदीको सदुपयोग गरेर राष्ट्र समृद्ध बनाउनेतर्फ ध्यान दिनुपर्छ ।

प्रकाशित मितिः   १७ आश्विन २०८०, बुधबार ०८:००