देशमा बस्ने कि विदेश जाने ?

 

संसारको सबैभन्दा महान काम हो समयमै सही प्रश्न गर्नु । अर्जुनले प्रश्न गरेरै भागवत गिता जस्तो महान ग्रन्थको जन्म भयो । त्यसैले प्रश्न नै उत्तरसम्म पुग्ने माध्यम हुन् । उत्तर पनि सबै आफू अनुकूल छन् कि छैनन् भन्नेले फरक पार्दछ । उदाहरणका लागि भागवत गितामा अठार अध्याय छन् । जसमा कर्म योग, ज्ञान योग र भक्ति योग जस्ता विषयमा पनि व्याख्या गरिएको छ ।

व्यक्तिको स्वभाव अनुसार कुनै व्यक्ति कर्म गर्नका लागि बनेको हुनसक्छ । कर्मप्रति पे्रम हुनसक्छ । कुनै व्यक्ति कर्म गर्न भन्दा सिक्न, ज्ञान आर्जन गर्नमा रुचि हुनसक्छ । उक्त व्यक्ति ज्ञान योगको लागि बनेको हुन्छ । र, कुनै व्यक्तिको स्वभाव कर्म र ज्ञान योग नभई प्रमात्माको आस्थामा जीवन समर्पण गर्ने पनि हुनसक्छ । यस्तो व्यक्तिहरू कर्म र ज्ञान योगको मार्ग नभइ भक्ति योगको मार्गतर्फ अगाडि बढ्दछन् ।

यद्यपि मानिसले आफ्नो जीवनलाई बचाई राख्न कर्म भने गर्नु नै पर्ने हुन्छ । अझ भनौं सत्कर्म नै मानिसको धर्म हो । जसले यस संसारलाई झनै सुन्दर बन्न सघाउँछ । त्यसैले व्यक्तिले आफ्नो स्वभावको पहिचान समयमै गर्नुपर्दछ । यो लेखको सुरुमा नै प्रश्नको सन्दर्भबाट किन उठान गरिएको होला ? तपाईलाई यस्तो पनि लाग्न सक्छ । लागिसक्यो होला ? यसको सहज जवाफ नै यो लेख लेख्नुको उद्देश्य हो । तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ ? तपाईंको वरिपरि कति धेरै जान्ने मान्छे छन् ? भनाई नै छ, सल्लाह नपमागे पनि पाईन्छ । सहयोग माग्नुस्, कयौ व्यक्तिलाई भनेपछि केही कमैले गर्दछन् ।

तपार्इं र म कुनै चोकको चिया पसलमा छौँ । सुरुमै पुगेर हामी दुई वटा चिया अर्डर गरौँ । तपाईं उताको कुर्सीमा बस्नुस् म यताको कुर्सीमा बस्छु । बस्दा ख्याल गर्नुस् है, कुर्सी भाँचिएको पनि हुनसक्छ । कुर्सीको चेकजाँच सकियो भने बस्नुहोस् । सुरुमै म तपाईलाई सुरुसुरुमा सुरु गरेको पत्रकारले जसरी प्रश्न सोध्छु, देश किन बनेन वा कति बनिसक्यो ? तपाईं भन्न सुरु गर्नुस्, बीचमा म कत्ति पनि बोल्ने छैन । हजुर, हजुर हजुर, हजुर…!

अब म यो जवाफ सुनिसकेपछि अर्काे प्रश्न सोध्दैछु, देश विदेश जाँदैछ भन्ने सम्बन्धमा हल्ला त सुन्नु नै भएको होला ? देशलाई विदेश जान नदिन के गर्न सकिन्छ ? फेरि पनि म तपाईंलाई कत्ति डिस्टर्ब गर्नेछैन, भन्नुस् । हजुर, हजुर हजुर, हजुर … !

अब म तपाइलाई तेस्रो प्रश्न सोध्न गइरहेको छु, भ्रष्टाचार, गरिबी र बेरोजगारी हटाउन वा नियन्त्रण गर्न कसरी सकिन्छ ? म रत्तिभर तपाईंलाई बीचमा बोलेर डिस्टर्ब गर्नेछैन, आफ्ना भनाई मजाले अभिव्यक्त गर्नुस् । हजुर, हजुर हजुर, हजुर… !

चिया आइपुग्यो ! चिया खानुस् । यसपछि बाँकी पढ्नुस् ।

कुरामा न देश बन्छ, न देश विदेश जान रोकिन्छ, न भ्रष्टाचार, गरिबी र बेरोजगारी हट्छ ? कर्म मात्र त्यो महाअस्त्र हो, जसले समृद्धि र विकासका सुनौला ढोकाहरूलाई खोल्न सक्छ । कर्म कोरा कागजमा होइन, कार्यान्वयनमा । कर्म आवाजमा होइन, आवश्यकतामा । कर्म समस्या सिर्जना गर्नमा होइन, समस्या समाधान गर्नमा । कर्म आफन्तमा होइन, असल समाज निर्माणमा । कर्म कार्यकर्ता रिझाउनमा होइन, असल नेतृत्वको उदाहरण दिनमा । कर्म भ्रष्ट हुनमा होइन, इमानदार बन्नमा आदि आदि ।

देश किन बनेन भन्ने सवालमा स्पष्ट हुन जरुरी छ । बारबार हामीले गाली गरिरहेको र दोषारोपण गरिरहेको शिक्षा प्रणालीमा सुधार गरिएन भने मुलुकको विकास र समृद्धि कल्पनामा मात्र सिमित हुनेछ । नेपालको शिक्षण सिकाई र समग्र शिक्षा क्षेत्रमा परेको प्रभावका बारेमा त हामी जानकार नै छौँ । समयमै पढे अनुसार काम पाउने भए वा शिक्षाले आफै केही गर्न लायक बनाएको भए वा सरकारले त्यस्ता अवसरहरू सिर्जना गरिदिएको जान्छ विदेश ? मलाई भनिदिनुस्, आफू जन्मेको, हुर्केको, बढेको, पढेको देशको र माटोको माया कसलाई लाग्दैन ? आफ्नै देशमा काम गर्न को चाँहदैन र ?

राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकमा काम गर्न सक्ने उमेर समूह १५–६४ को संख्या कुल जनसंख्याको झन्डै ६५ प्रतिशत छ । दश वर्ष वा सो भन्दा बढी उमेरका ८९ लाख ७५ हजार व्यक्ति कुनैपनि आर्थिक काममा आवद्ध भएको देखिदैन । त्यसमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ । त्यसपछि अन्य कारणहरूमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, वृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, असक्त/बिरामी २.५ प्रतिशत, पेन्सन÷आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य÷स्वयम्सेवा ०.३ प्रतिशत रहेको छ ।

यो तथ्याङ्कका अनुसार करिब तीन करोड जनसंख्या भएको देशमा ४६.९ प्रतिशत विद्यार्थीहरू पढ्दैछु भन्ने नाममा केही गरिरहेका छैनन् । हाम्रो देशको पढाई अन्त्यमा कि बेरोजगारीमा रोकिन्छ कि विदेशीएर टुँगिन्छ । पढेर कि विदेश कि बेरोजगार हुनुपर्ने हो भने त्यो पढाईको के अर्थ छ ? के सरकारले पढाइ र काम सँगै लिन सक्दैन ?

अब विदेश जानेहरूको तथ्याङ्क हेरौं । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा कामका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन् । त्यस्तै गत वर्ष एक लाख दश हजार नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेशिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क छ । यो सानोे संख्या होइन । देशका १६ देखि ४० उमेर समूहका युवाहरूको सात प्रतिशत हो ।

सरकार बेरोजगार मान्छे कहिलेसम्म बाआमाको पैसाले चिया खाइरहन्छ ? कहिलेसम्म बाँचिरहन्छ ? के तपाईं जागिर गरिहनुभएको छ ? हो यसको उत्तर हो भने के तपाईंले गरेको जागिरले तपाईंका आवश्यकताहरू परिपूर्ति हुन्छन् ? यदि हुन्छन् भने हरेक नेपाली त्यो रहस्य जान्नलाई उत्सुक छन् । यदि होइन भने जागिर गरेर, देशमै केही गरेर बाँच्नलाई हम्मेहम्मे हुन्छ भने किन नजाने विदेश ? जसलाई देशलाई भित्र बाहिर खोक्रो बनाईसके उनीहरूले विदेश नजान भनेर हुन्छ ? यो प्रश्न सबैभन्दा जटिल प्रश्न हुन सक्छ । त्यही भएर सुरुमै लेखेको छु । समयमै सही प्रश्न गर्नु महान काम होे ।

आफ्नो स्वभाव पहिचान गरेर स्पष्ट हुने समय आएको छ । तपार्इं यो देशका लागि नबनेको मान्छे पनि हुनसक्नु हुन्छ । र, तपाईं यो देश बनाउने मान्छे पनि हुन सक्नुहुन्छ । यो स्पष्ट हुने समय हो । के गर्ने के नगर्ने ? के बन्ने के नबन्ने ?

प्रकाशित मितिः   १० आश्विन २०८०, बुधबार ०५:०५