हिमाली सहर योजना

हिमाली क्षेत्रबाट बसाइँ सर्नेहरूको संख्या बढ्दो छ । पहाड हुँदै सुगम मानिने तराइतिर झर्नेहरू बढिरहेका छन् । जसले गर्दा कर्णाली प्रदेशका हिमाली क्षेत्रका गाउँ र बस्ती रित्तिदै गएका छन् । सुविधा र सहज जीवनयापनको खोजीमा मानिसहरू बसाइँ सर्ने गर्दछन् । अवसर र रोजगारीको खोजीमा शहरी क्षेत्रतिर छिर्छन् । रोजगारीको खोजीमा होस् या व्यापारका लागि पनि अधिकांशको रोजाइ शहरी क्षेत्र हुने गर्दछ । त्यसमाथि सरकारले अवलम्बन गरिरहेको विकाको ढाँचा नै शहर केन्द्रित छ । यसले गर्दा पछिल्लो समय हिमाली बस्ती पातलिन थालेका छन् । यही अवस्थालाई रोक्नका लागि सरकारले नयाँ सहर निर्माण योजना अघि सारेको छ । हुम्लाको हिल्सा र डोल्पाको जुफालमा आधुनिक हिमाली सहर निर्माण योजना यसैको उदाहरण हो ।

हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ५ र ६ लाई नयाँ हिमाली नमुना सहर बनाउने काम अघि बढाएको छ । निर्माण गरिने सहरले पर्यटन विकास गर्ने तथा छरिएर रहेको बस्तीलाई एकीकृत गरी सहरीकरण गर्ने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको हो । हिमालबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०७९/०८० मा सरकारले ल्याएको योजना अन्तर्गत हिल्सामा नयाँ सहर निर्माणको काम थालिएको हो । पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकारले योजना अघि सारेको थियो । हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने पर्यटकका लागि लक्षित गरी सडक तथा भवन निर्माण भइरहेका छन् । सरकारले आर्थिक वर्ष २०७९/०८० मा दुई करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये एक करोड बजेट खर्च भएको छ । हिमाली सहर आयोजनाको काम सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले गरिरहेको छ । यस्तै संघीय सरकारले ‘नयाँ हिमाली सहर’ निर्माणका लागि डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालमा काम थालेको छ । हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली सहर बनाउने योजनासहित काम सुरु भएको हो । आर्थिक वर्ष २०७९/०८० बाट जुफालमा काम थालिएको छ । सरकारले हिमाली सहर निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । जुफालमा हिमाली सहर अन्तर्गत बाटो निर्माणका काम गरिनेछ ।

तराई झर्ने प्रवृत्ति घटाउने र थप सम्भावनाको खोजी गर्न नयाँ सहर निर्माणको योजना सरकारले अघि सारेको हो । यसले विकासको विस्तार हुनेछ । सुविधाका लागि तराइ नै झर्नुपर्ने अवस्थाको अन्त्य हुने छ । गाउँमै रोजगारीका अवसर सिर्जना हुनेछन् भने हिमाली क्षेत्रमा निर्माण गरिने आधुनिक नयाँ सहरले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सक्दछ । व्यवस्थित बस्ती विकाससँगै स्थानीय सम्भावनालाई उजागर गर्दै स्थानीय स्तरमै उद्यमशीलता र रोजगारी विकास गर्ने उद्देश्यमा यो योजनाले मद्दत पु¥याउन सक्दछ ।

प्रकाशित मितिः   ३१ भाद्र २०८०, आईतवार १६:५०