कर्णाली विद्युतीकरण

कर्णालीका नौ जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ । मुगु जिल्लामा विद्युत विस्तार भएसँगै प्रदेशका दशमध्ये नौ जिल्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको हो । यसअघि कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, जुम्ला, कालीकोट, डोल्पा र रूकुम–पश्चिममा राष्ट्रिय लाइन पुगिसकेको छ । अब हुम्लामा मात्र पुग्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणले कालीकोट–जुम्ला ३३ केभी प्रसारण लाइनबाट मुगुसम्म विद्युत पु¥याएको हो । नाग्मामा ट्यापिङ गरेर करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढीसम्म विद्युत पु¥याइएको हो । राष्ट्रिय प्रसारण लाइन पुगेकाले अब विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने भएको छ ।

कर्णाली प्रदेशमा अब हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । यद्यपि, त्यसका लागि पनि प्रक्रिया अघि बढिसकेको छ । राष्ट्रिय प्रसारण लाइनमा पु¥याउन ठेक्का सम्झौता सम्पन्न भएको छ । ठेक्का सम्झौता भइ सर्वेको काम भइरहेको हो । अहिले सर्वेको काम धमाधम भइरहेको हो । आगामी दुई वर्षभित्र कर्णाली प्रदेशलाई नै पूर्ण रूपमा विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको छ । दुई वर्षभित्रमा कर्णाली प्रदेशका दश जिल्लाका बासिन्दाको घर–घरमा विद्युत पु¥याउने गरी काम भइरहेको छ । कर्णाली प्रदेशका दश जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ । तीन नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत पुग्न सकेको छैन । नगरपालिका र गाउँपालिकाका कूल सात सय १८ वडामध्ये तीन सय ९३ मा विद्युत पुगेको छ । कर्णाली प्रदेशको समग्र विद्युतीकरण ६७.५ प्रतिशत छ । भौगोलिक कठिनाइ तथा विकटताले साविक कर्णालीका माथिल्लो भेगका बस्तीहरूमा विद्युतीकरण गर्न समस्या हुने गरेको छ । प्रत्येक जिल्लामा पूर्ण विद्युतीकरण कार्यक्रमका लागि ठेक्का सम्झौता भइ काम सुरु भएको छ । लाइन विस्तारभन्दा पहिला गरिने प्रि–कन्स्ट्रक्सन सर्भेका काम भइरहेको छ ।

योजनाअनुसार पूर्ण विद्युतीकरण कार्यक्रम सुरु भइसकेको छ । कुन ठाउँमा कस्तो सामान प्रयोग हुन्छ, बाटोको अवस्थालगायतको सर्वेको काम भइरहेको छ । तत्कालका लागि राष्ट्रिय प्रसारण लाइन पु¥याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत विद्युतीकरण गर्ने योजना प्राधिकरणको छ । विद्युतको सहज पहुँच नहुँदा कर्णाली प्रदेश औद्योगिक विकासमा पनि पछि परेको छ । कर्णालीमै विद्युत उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि त्यसको सदुपयोग हुन सकेको छैन । सरकारले जलविद्युतमा लगानी बढाउनेतर्फ पनि उत्तिकै ध्यान पु¥याउन जरुरी छ ।

प्रकाशित मितिः   २७ भाद्र २०८०, बुधबार ०५:०३