वीरेन्द्रनगरको सडक, समस्या र समाधान

दिनेश गौतम
वीरेन्द्रनगर बजारका मुख्य क्षेत्रमा यस क्षेत्रका अधिकांश मानिसहरूले पैदल वा सवारीसहित यात्रा गरेका छन् । उनीहरूको यात्रामा कहिले पैदल यात्रु हुँदा त कहिले सवारी साधनको चालक हुँदा भिन्न भिन्न किसिमका अनुभव हुन सक्दछन् । धेरैले पैदलयात्रु हुँदा वा सवारी चालक हुँदा भिन्न भिन्न दबाबको सामना गरेको हुनुपर्दछ वा केही अप्रिय परिस्थितिको सामना गरेको हुनुपर्दछ । त्यही व्यक्ति पैदल यात्री हुँदा जुन बोली वा व्यवहारको सामना सवारी चालकबाट सुन्नु भोग्नु परेको छ, उ सवारी चालक हुँदा पनि बाध्यतावश त्यही व्यवहार प्रदर्शन गर्न पर्दछ । आखिर यसमा ती दुवै दोषी होइनन् तर पनि उनीहरू एकआपसमा अप्रिय परिस्थिति वा बोलीको सामना गर्नुपर्ने हुन्छ । यस्तो असहज स्थितिको अन्त्य गर्न आवश्यक छ । 
सडक सबैको हो, ‘कसैको’ होइन ।
सडक साझा हितको लागि बनाइएको हो । सडकमा सबैको बराबर अधिकार छ । सडकमा सबैको उपस्थिति स्वीकार्य छ, जो यसको उपभोग गर्न चाहन्छ । तर त्यो उपभोगको पनि दायरा हुन्छ । सडकमा तोकिएको दायरा नाघेर सडकलाई अत्यन्त अप्ठ्यारो बनाउने गरी सडकको छेउछाउका व्यक्तिहरूले निजी प्रयोग गरिदिनु पक्कै पनि जायज होइन । सडकमा आफू हिँड्ने र सवारी साधन हिँडाउने दुवैको बराबर अधिकार छ । सडकमा हिँड्दा हिँड्नेले यो सोच्नु भएन कि यो सडकमा के सवारी मात्रै हिँड्ने हो र ? हामी चाहिँ हिँड्न नपाउनु ? सवारी चलाउनेले यो सोच्नु भएन कि यो सडक मात्रै हाम्रो लागि हो । यी दुवै सोच एक अर्काप्रति राख्ने गलत मनसायले हामीले हिँड्ने सडक र त्यहाँ सवारी चालक तथा पैदलयात्रुबीचको सम्बन्धमा धेरै दरार उत्पन्न गरेको छ । एकले अर्कालाई ‘गाली’ गर्नुपर्ने स्थिति उत्पन्न भएको छ । 
‘पार्किङ्ग व्यवस्थापन’ नमिलेको हो कि ?
मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम, सुर्खेतको एक प्रमुख नगरपालिका वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अन्तर्गत मंगलगढीदेखि गणेशचौकसम्मको सडक बाहेक अधिकांश सडक अन्यन्त साँघुरो छ । त्यस मुख्य सडकमा ट्राफिक व्यवस्थापनको उपयुक्त पहल भएको भए पनि त्यस बाहेकका अन्य सडकमा त्यस्तो पहल भएको देखिँदैन । त्यहाँ भएका पहलमा पनि त्यति प्रभावकारी उपस्थिति देखिँदैन । त्यस्ता नगरको भित्री सडक एक त आफैंमा अत्यन्त साँघुरा छन्, त्यसैमा त्यहाँ व्यापार गर्ने व्यापारी, त्यस क्षेत्रमा रहेका सरकारी वा निजी संस्थामा काम गर्ने कर्मचारीहरूका सवारी साधनको उपयुक्त व्यवस्थापन नहुँदा सडक अत्यन्त अप्ठ्यारो र असहज स्थितिको सृजना गरेको छ । सडकको असुहाउँदो र अनुपयुक्त उपयोगले गर्दा त्यस्ता सडकमा सवारी साधन चलाउने व्यक्तिहरू र त्यही सडकमा पैदल हिँडिरहेका व्यक्तिहरूको बीचमा असहज सम्बन्ध उत्पन्न गरिदिन्छ । यसले सडकमा दुर्घटनाको समस्यालाई निम्त्याँउछ नै, पैदल यात्रु तथा सवारी साधन भएकाहरूलाई पनि सुरक्षाको समस्या उत्पन्न गरिदिएको छ । ट्राफिक प्रहरीको ध्यान पनि मुख्य सडकमा गएको छ तर त्यहाँ भन्दा पनि अझैं मानिसहरूको जमात अधिक हुने बीचबीचका सडकहरूमा उनीहरूको ध्यान दिएका छैनन् वा दिन सकेका छैनन् र यो पनि हुन सक्छ, ध्यान दिन चाहेका छैनन् । 
निर्माण सामग्री सडकमा राख्दिने ?
बजार क्षेत्रमा भवन निर्माणको निमित्त प्रयोग गरिने साधनहरू अधिकांश बजार क्षेत्रमा सडकमै राखिएका हुन्छन् । उनीहरूले करिब करिब आधा बाटो नै अवरुद्ध हुने गरी सामान राखिरहेका हुन्छन् जसले पनि सवारी साधन र पैदल यात्रुबीचको सम्बन्ध असहज बनाउन मुख्य भूमिका खेलेको छ । सडक निकै साँघुरो हुने हुँदा त्यहाँ ठूला ठूला गाडीहरू चलाउँदा वा रोकिँदा बाटो नै जाम हुने स्थिति छ । बालुवा तथा सरिया जस्ता सामान सडकमा राख्नाले सडक अशोभनीय त देखिन्छ नै यसले सवारी आवागमनमा असहजता ल्याउँछ । यसरी घरेलु सामान राख्नका लागि सडक प्रयोग गरिनाले पनि पैदल यात्रु र सवारी चालक बीचको सम्बन्ध खराब हुन पुगेको छ ।
मंगलगढीदेखि वीरेन्द्रचौकसम्म मात्रै ट्राफिक ? 
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा हिँड्दै गर्दा हामी पाउन सक्छौं, ट्राफिक प्रहरी र यसको व्यवस्थापन मात्रै वीरेन्द्रनगरको मंगलगढीचौकदेखि वीरेन्द्रचौकसम्मको मुख्य सडकमा मात्रै निहित रहेको देखिन्छ । अर्थात् यस बाहेकका अन्य बजार क्षेत्र मुख्य त बुद्धपथ, गोदाम लाइन, लक्ष्मी हल लाइन, शनिहललाइन यी क्षेत्रहरूको ट्राफिक व्यवस्थापन पुगेको देखिँदैन । यसका साथसाथै वीरेन्द्रचौकदेखि माथि गणेशचौकसम्मको मुख्य सडकमा पनि ट्राफिक व्यवस्थापनको कुनै अंश देखिँदैन । यसमा पहल भएको देखिँदैन । हुलाकचोक साँघुरो देखिन्छ । गणेशचौकमा ट्राफिक प्रहरी बस्ने गरिएको देखिए पनि त्यही सडक भरी फलाम र यसको मर्मत भइरहेको हुन्छ । मुख्य यहाँ जारी भवन निर्माणका निमित्त प्रयोग गरिने सामानले सडक साँघुरो बनाइदिएको छ । 
सकारात्मक सुरुवात आफैंबाटसडकमा देखिएका विभिन्न समस्याको समाधान गर्नको लागि हामी सबै ट्राफिक प्रहरी वा अन्य जिम्मेवार निकायको भर पर्नु भन्दा पनि आफ्नो पक्षबाट गर्न सकिने हर सकारात्मक प्रयासहरू हामी आफैंले गर्नुपर्दछ । निजी प्रयोगका सरसामानहरू सडक नै असहज बनाउने गरी सडकमा नराख्ने, सवारी साधन पार्किङ्ग तोकिए बमोजिमको क्षेत्रमा मात्र गर्नुपर्ने आवश्यकता छ । यसका साथसाथै ठूलाठूला मालवाहक सवारीबाट सामन झार्दा वा लोड गर्दा सडक मै जाम हुने गरी वा अवरुद्ध गर्ने गरी गर्नुभएन । सडकमा पैदल यात्रु र सवारी चालकहरूबीच उत्पन्न भएका विभिन्न अप्रिय सम्बन्ध नरहोस् भनेर दुवैले एकदम होसियारीको साथ सडकको प्रयोग गरीदिनुपर्दछ । सडकमा हिँड्ने पैदल यात्रुले आफै सचेत भएर सडकको छेउछाउबाट हिँड्ने तथा अत्यन्त होसियार भएर हिँड्नु पर्दछ । यसका साथसाथै सवारी चालकले पनि कसैलाई देखाउनका लागि सवारी साधन चलाउने भ्रम त्याग्नुपर्दछ ता कि यसले गर्दा सडकको सम्बन्धमा सहजता ल्याउन सकियोस् । ट्राफिक प्रहरीले मुख्य बजारको सडकलाई मात्रै आफ्नो कार्यक्षेत्र नमानेर बढी जाम हुने सडकहरूमा पनि आफ्नो सक्रियता देखाउनुपर्ने देखिन्छ । हरेक परिवर्तनको सुरुवात हामी आफैंबाट गर्ने हो नि ।
प्रकाशित मितिः   ३ फाल्गुन २०७२, सोमबार १०:१५