रकम अभावले औद्योगिक ग्राम निर्माण सुस्त

सुर्खेत: औद्योगिक ग्राम निर्माण कार्य सुस्त देखिएको छ । संघीय सरकारले अघि सारेको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन सकेको छैन । बजेट अभावमा औद्योगिक ग्राम निर्माणको काम सुस्ताएको हो ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ५ स्थित मायातालमा निर्माण थालिएको औद्योगिक ग्रामको काम रोकिएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट निर्माणको काम थालिएको थियोे । दश विगाह जग्गा छुट्याएर औद्योगिक ग्राम निर्माण थालिए पनि हालसम्म घेरबार, शौचालय र प्रशासनिक भवन मात्रै निर्माण भएको छ । अन्य निर्माणको काम अघि बढ्न सकेको छैन ।

बजेट अभावले बाँकी काम हुन नसकेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को नीतिअनुसार संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा उक्त औद्योगिक ग्राम निर्माणका लागि एक करोड बजेट पठाएको थियो । जसमध्ये ८५ लाख बजेटमा घेरबार, शौचालय निर्माण गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा बाँकी कामका लागि भन्दै संघीय सरकारले नै ८५ लाख बजेट पठाएको थियो । उक्त बजेटले एउटा प्रशासनिक भवन निर्माण गरिएको छ । पछिल्ला दुई आर्थिक वर्षमा संघीय सरकारले बजेट नपठाउँदा ग्राम निर्माणको काम रोकिएको हो ।

संघ, प्रदेश र स्थानीय तहको सहभागितामा औद्योगिक ग्राम निर्माण थालिएको हो । ग्राम निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्न बाँकी नै छ । यसका लागि पनि बजेट अभाव भएको जनाइएको छ । पर्याप्त बजेट नहुँदा औधोगिक ग्राम निर्माणमा समस्या भएको पालिका अध्यक्ष विकले जनाए । उद्योग सञ्चालनका लागि पानी, विद्युतजस्ता पूर्वाधारको तत्काल आवश्यक पर्ने भएपनि ग्रामसम्म अहिलेसम्म विद्युत विस्तार हुनसकेको छैन ।

पश्चिम सुर्खेतकै पञ्चपुरी नगरपालिकाको वडा नं. ८ मा पनि औद्योगिक ग्राम निर्माणको काम भइरहेको छ । संघीय सरकारले आ.व. २०७७/०७८ मा ९२ लाख बजेट ग्राम निर्माणका लागि पठाएको थियो । बाँकी काम पूरा गर्नका लागि आ.व. २०७९/०८० मा ९२ लाख बजेट संघीय सरकारले नै पालिकामा पठाएको छ । घरेलु तथा साना उद्योगहरूसमेत ग्रामभित्रै सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ । तर ग्राम स्थापनाका लागि बजेट अभाव भइरहेको नगरप्रमुख लालवीर भण्डारीले बताए । उनका अनुसार प्रशासनिक चारकोठे भवन, चमेना गृह, शौचालय निर्माण गरिएको छ । औद्योगिक ग्रामका लागि भित्रि बाटो निर्माण भएको छ । बत्ती, खानेपानी र तल्लो क्षेत्रमा घेरबारलगायतका काम बाँकी रहेको उनले जानकारी दिएका छन् । नगरप्रमुख भण्डारी भने, ‘बजेट नै अभाव छ । विद्युत खानेपानी पु¥याउन सकिएको छैन । संघीय सरकारबाट आउने बजेट अपुग हुनेगरेको छ ।’

यस्तै पूर्वी सुर्खेतको भेरीगंगामा पनि औद्योगिक ग्राम निर्माणमा बजेट अभाव देखिएको छ । नगरपालिकाको वडा नं. ११ रामघाटमा औद्योगिक ग्राम निर्माणको काम थालिएको छ । रकम अभावले कार्यान्वयनमा सुस्तता आएको नगरप्रमुख यज्ञप्रसाद ढकाल बताउँछन् । उनका अनुसार औद्योगिक ग्राम निर्माणका लागि १८ करोड रूपैयाँ खर्च लाग्ने छ । यद्यपि, भेरीगंगा नगरपालिकालाई हालसम्म आ.व. २०७६/०७७ मा ९२ लाख र आ.व. २०७९/०८० मा ५० लाख रूपैयाँ संघीय सरकारबाट प्राप्त भएको छ । औद्योगिक ग्रामका लागि तयार भएको डिपीआर पूरा गर्न बाँकी रकम जुटाउन नगरपालिकालाई समस्या भएको नगरप्रमुख ढकालले बताए । हाल जग्गा घेर्ने, तार लगाउने काम भइरहेको भेरीगंगा नगरपालिकाका इन्जिनियर विजयकुमार खत्रीले जानकारी दिए । डिपीआरले निर्दिष्ट गरेका बाँकी कम्पोनेन्ट निर्माण गर्न रकम अभाव भएको उनको भनाइ छ ।

आवश्यक विद्युत, खानेपानी, शौचालय, पालिकालाई केन्द्रले उपलब्ध गराउने अनुदानबाट स्थानीय सरकारहरूले पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्नेछन् । त्यसअन्तर्गत सीमा पर्खाल, तारबार, पहुँचमार्ग, प्लट, विद्युत प्रसारण, वैकल्पिक ऊर्जाको प्रयोग, गोदाम घर, पानीको आपूर्ति, फोहोर व्यवस्थापनजस्ता पूर्वाधार विकास गर्नुपर्ने मापदण्ड छ । तर डिपीआर अनुसारको बजेट अपुग हुँदा औद्योगिक ग्राम निर्माणको कार्यान्वयनमा सुस्तता आएको छ । संघीय सरकारले तोकेर पठाएको बजेट अपुग हुनेगरेको स्थानीय सरकारको भनाइ छ । आवश्यक विद्युत, खानेपानी, शौचालय, सडक, प्रशासनिक भवनको निर्माण गर्न रकम अभाव भएको बताइएको छ ।

प्रकाशित मितिः   २१ भाद्र २०८०, बिहीबार ०५:०५