डाक्टर उत्पादन गर्ने अस्पताललाई नै आर्थिक अभाव

सुर्खेत: डाक्टर उत्पादन गर्ने प्रदेशकै एक मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आर्थिक अभाव झेलिरहेको छ । बजेट अभावका कारण आवश्यक भौतिक संरचना र पूर्वाधार निर्माण हुन सकेको छैन । कतिपय संरचना अलपत्र अवस्थामा छन् ।

पर्याप्त भवन नहुँदा भाडामा भवन प्रयोग गर्नुपरिरहेको छ । १४ वटा घर भाडामा लिएर प्रतिष्ठान सञ्चालन भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजीव शाहले जानकारी दिए । भवन निर्माणका लागि करिब पाँच सय रोपनी जग्गा प्रतिष्ठानको नाममा भएपनि आर्थिक अभावकै कारण काम अघि बढेको छैन । भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिएको तीन वर्ष बितिसकेको छ । तर कहिले बन्ने टुँगो छैन ।

प्रतिष्ठानलाई आवश्यक अन्य संरचना थप्न पनि बजेट अभाव भएको छ । जुम्लाको चेरे चौरमा शैक्षिक भवन, कलेज, होस्टेल, स्टाफ क्वार्टर, प्रशासनिक भवन, आवासीय भवन, स्पोर्ट अडिटोरियमलगायतका पूर्वाधार निर्माणका निम्ति झण्डै साढे ६ अर्ब बजेट आवश्यक पर्ने देखिएको छ । तर बजेट अभावका कारण उक्त योजना पनि अलपत्र परेको छ । निर्देशक डा. शाहले पूर्वाधार अभावका बीच प्रतिष्ठानले विशेषज्ञ सेवा दिइरहेको बताए । सरकारको प्राथमिकता नपर्दा प्रतिष्ठानले अपेक्षित फड्को मार्न नसकेको उनको भनाइ छ । जुम्लामै डाक्टर उत्पादन भइरहेको बताउँदै उनले बजेट अभावले पूर्वाधार पर्याप्त नभएको जानकारी दिए । शाहले प्रतिष्ठानको औचित्यलाई बुझ्दै संघीय सरकारले लगानी बढाउनुपर्नेमा समेत जोड दिए ।

संघीय सरकारले उपेक्षा गरेको प्रतिष्ठान कर्णाली प्रदेश सरकारको पनि प्राथमिकतामा पर्न सकेको छैन । ‘प्रदेशकै जनताले सेवा लिइरहँदा पनि प्रदेश सरकार बेखबरजस्तै बनेको छ’ निर्देशक शाह भन्छन्, ‘संघीय सरकार अन्र्तगतको अस्पताल भनेर प्रदेश सरकार बजेट नियोजन गर्न पछि हट्ने गरेको छ ।’ संघले बजेट घटाएको र प्रदेशले पनि बेवास्ता गरेको उनको भनाइ छ । विगतमा संघीय सरकारले प्रतिष्ठानका कर्मचारीहरूको पारिश्रमिकका लागि वार्षिक ४४ करोड बजेट पठाउने गरेकोमा चालु वर्षमा घटाएर २८ करोड मात्रै कायम गरेको शाहले जानकारी दिए । उनले भने, ‘सेवा सुविधा बढाउनुपर्नेमा सरकारले अझै समस्यामा पार्ने काम गरेको छ । जसले गर्दा प्रतिष्ठानको मनोवल घटेको छ ।’

 

पर्याप्त छन् जनशक्ति

भौतिक पूर्वाधार अभाव झेल्दै आएको प्रतिष्ठानमा जनशक्तिको अभाव भने छैन । प्रतिष्ठान आफैले पनि जनशक्ति उत्पादन गरिरहेको छ । अस्पतालमा चार सय ५० जना जनशक्ति कार्यरत रहेका छन् । जसमध्ये ८९ जना विशेषज्ञ डाक्टर हुन् । ३२ जना मेडिकल अधिकृत कार्यरत छन् ।

प्रतिष्ठान स्थापनापछि कर्णालीका दुर्गमका बिरामीले विशेषज्ञ सेवा पाइरहेका छन् । सुर्खेत, नेपालगञ्ज र राजधानीका ठूला अस्पतालले दिने विशेषज्ञ सेवा जुम्लामै पाउने हुँदा नागरिकलाई ठूलो राहत मिलेको छ । प्रतिष्ठानले कालीकोट जिल्ला अस्पताल, रास्कोट र तिलागुफा नगर अस्पतालमा समेत डाक्टर खटाइरहेको छ । दैलेखको राकममा स्थापना हुन लागेको ट्रमा सेन्टरका लागि पनि जनशक्ति खटाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नै दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको कामपनि बजेट अभावमा रोकिएको छ । संघीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग हुँदा काम अघि बढ्न सकेको छैन ।

विकटको स्वास्थ्य सेवाको परिभाषा बदलेको प्रतिष्ठान यति बेला स्नातक तह र स्नातकोत्तर तहका जनशक्ति उत्पादनमा लागेको छ । प्रतिष्ठानमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । प्रतिष्ठानले हाल एमडी, एमएस, एमबीबीएस, बीएनएस, बीपीएच र बी फर्मालगायतका चिकित्सा शिक्षाका कार्यक्रमहरू चलाइरहेको छ । साविक कर्णालीका सबैजसो अस्पतालमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरसहित अन्य उपकरण सहयोग गरिरहेको छ । तर प्रतिष्ठान आफै भने भौतिक पूर्वाधारको अभावमा छ ।

प्रकाशित मितिः   १५ भाद्र २०८०, शुक्रबार १०:३३