बिरामीले रोग लुकाउँदा बल्झिदैं

1सुर्खेत,बिरामीले रोग लुकाउँदा कुष्ठरोग निवारणमा चुनौती थपिएको छ । सामाजिक त्रास र पारिवारिक अपहेलनाका कारण रोग लुकाउने र समयमा नै उपचार नगर्ने प्रवृत्तिले कुष्ठरोग थप बल्झिदैं गएको हो । सरकारी तथा गैरसरकारी निकायले यो रोग निवारणका लागि विभिन्न प्रयास जारी राखेको भए पनि बिरामी नखुल्दा समस्या भएको हो ।
सरकारले आउँदो सन् २०२० सम्म कुष्ठरोग निर्मूल गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिदैं आएको छ । तर मध्यपश्चिमका जिल्लाहरूमा भने बिरामीले रोग लुकाउँदा निवारणमा कठिनाइ भइरहेको स्वास्थ्यकर्मीले बताएका
छन् । यो क्षेत्रमा कुष्ठरोगका बिरामीहरूले रोग लुकाउने गरेका कारण समयमा नै उपचार हुन नसक्दा थप बल्झिन पुगेको उनीहरूको भनाइ छ । अन्धविश्वास र समाजको त्रासले गर्दा बिरामी लुक्ने गरेको भन्दै स्वास्थ्यकर्मीले अब उनीहरूको खोजी गर्नुपर्ने बताएका हुन् ।
मध्यपश्चिममा सबैभन्दा बढी कुष्ठरोगको जोखिममा बाँके र बर्दिया रहेका छन् । यस्तै सुर्खेतमा पनि यो रोगको जोखिम उत्तिकै रहेको छ । कुष्ठरोगको निवारणका लागि काम गर्दै आएको आईएनएफ सुर्खेतका अनुसार बिरामीले नै रोग लुकाउँदा समस्या भएको हो । आईएनएफ सुर्खेतका क्लिनिक इञ्जार्ज मंगलबहादुर थारुले भने, ‘हामीले लामो समयदेखि काम गर्दै आएका छौं, तर गाउँमा बिरामी खुल्न चाहँदैनन् । परिवार र समाजले हेला गर्ने त्रासले बिरामीले रोग लुकाउँछन्, समयमा नै उपचार नहुँदा यो रोग भित्रभित्रै बल्झिदैं गएको छ ।’ उनले अब यो रोग निर्मूल पार्नका लागि गाउँ–गाउँमा कुष्ठरोगका बिरामी खोज्दै उपचार गर्नुपर्ने बताए । पूर्वजन्मको पाप र निको नहुने भ्रमका कारण पनि यो रोगका बिरामीले उपचार नगर्ने गरेकाले निवारणमा चुनौती थपिएको उनको भनाइ छ । अब आफूहरूले लुकेर रहेका बिरामीलाई खोजेरै उपचार गर्ने उनले जनाए ।
अघिल्लो वर्ष सुर्खेतमा २७ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए । आईएनएफका अनुसार हरेक वर्ष जिल्लामा २५ देखि ३० जनासम्म यो रोगका बिरामीहरू फेला पर्ने गरेका छन् । यो आर्थिक वर्षको साउन यता मध्यपश्चिममा २७ जना नयाँ बिरामी भेटिएका छन् । जसमध्ये सुर्खेतका १० जना छन् । यो संख्या हेर्दा सुर्खेतमा पनि कुष्ठरोगको जोखिम बढ्दै गएको छ । वर्षेनी नयाँ संक्रमित फेला पर्नेक्रम घट्नुको साटो बढ्दै गएपछि यो रोग निवारणमा चुनौती देखिएको हो । बिरामीको संख्या वर्षेनी बढ्न थालेपछि स्वास्थ्यकर्मीहरूले अब सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका कुष्ठरोग अधिकृत गणेशभक्त गौतमले रोग निवारणमा जनचेतना नै प्रमुख हतियार भएको बताए । उनले भने, ‘उपचार र औषधि नभएर होइन, बिरामीहरूले रोग लुकाएर बस्दा समस्या बल्झिएको
छ । हाम्रो प्रयासले मात्र रोग निर्मूल हुन मुस्किल छ, रोग लुकाएर बसेका बिरामीलाई खोजेर उपचारमा भर्ना गर्न आवश्यक छ ।’ उपचार गरेमा रोग निको हुन्छ भन्ने चेतना फैलाउन सकेमा यो रोग निर्मूल पार्न सहज हुने उनको भनाइ छ ।
मध्यपश्चिमका पहाडी जिल्लाहरूमा यो रोगका बिरामीहरूले रोग लुकाउने गरेका छन् । यो रोग लागेका बिरामीलाई आफन्त र गाउँलेले नै घृणा गर्ने र नजिकसमेत नपर्ने प्रवृत्तिका कारण पनि रोग बल्झिदैं गएको हो । कुष्ठरोग लागेमा छुन नहुने र पूर्वजन्मको पाप भन्दै घरदेखि टाढा राख्ने प्रचलन अहिले पनि कायमै छ । जसको कारण बिरामीले समयमा उपचार नपाउने समस्या छ । उपचार नहुँदा बिरामीको शरीर नै अङ्गभङ्ग हुने गरेको छ । बिरामीले रोग नलुकाएर समयमा नै उपचार गरेमा यो रोग निको हुन्छ । यसका लागि बिरामीले नियमित औषधि सेवन गर्नुपर्दछ । आईएनएफ सुर्खेतले आवासीय सुविधासहित यो रोगका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ । वीरेन्द्रनगरमा रहेको आईएनएफको पुनस्र्थापना केन्द्रमा हाल ६७ जना बिरामी उपचार गराइरहेका छन् । शरीरको कुनै भागमा लाटो फुस्रो दाग देखिएमा, पसिना नआएमा, रौंहरू झर्दै गएमा, गिर्खा देखिएमा, शरीरका पाँच ठाउँभन्दा बढीमा दाग देखिएमा र हातका औंलाहरू लाटो हुँदै गएमा कुष्ठरोगको लक्षण हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित मितिः   १६ माघ २०७३, आईतवार १२:११