सहिदको सपना र नेतृत्वको दायित्व
आज सहिद दिवस, सहिदलाई सम्झने दिन । हाम्रो देशको विगतदेखि वर्तमानसम्म सुनौलो दिनको आशा जगाउने व्यक्ति, कुनै स्वार्थ नराखेर देश र जनताको भलोको लागि प्राण त्याग गर्ने व्यक्ति, आफ्नो ज्यान हत्केलामा राखेर मुक्तिको लागि लड्ने व्यक्ति । यी र यस्तै जे जस्तो नामले सहिदलाई सम्झिँदा पनि सायद त्यो कमी नै हुन जान्छ । तर हिजा र र आजमा सहिदप्रति गरिएको अपमान र सम्मानका बीचमा हामी हिँडिरहेका छौं । हिजोका प्रथम सहिद लखन थापादेखि गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीहरू लोकतन्त्रका आधार स्तम्भ भएर उभिए र त्यहाँदेखि आजसम्मका सहिदहरूले हाम्रो शासन प्रणालीलाई परिस्कृत पार्न आफ्नो प्राण आहुति दिए । त्यही विद्रोह र क्रान्तिको बलमा सामन्त र तानाशाही शासकहरूले राज्यसत्ता गुमाए भने राजनीतिक दलहरू सत्ताको बागडोर सहाल्न पुगे ।
सपना सुनौलो बिहानीको थियो, अँध्यारा दिनहरूको अन्त्यको लागि थियो । जसको भ¥याङ बनेर शासक र राजनीतिक दलहरू सत्ताको वागडोरमा पुगे उनीहरू कहिल्यै पनि सहिदको सपनालाई पुरा गर्नतर्फ लागेनन् । लागे त केवल झिनाझम्टी र अदुरदर्शी खेलतर्फ । हिजो एक दशक अगाडि सहिदहरूले देखेको सपना अझै पनि पूरा हुन सकेको छैन । विभेद, असमानता, पछ्यौटेपन, गरिबी र कु–संस्कार, कु–राजनीतिक परिस्थितिका विभिन्न रूपहरू समाजमा जारी छन् । यो एक आइसवर्ग जस्तो भइरहेको छ, जसको नौ भाग पानीमुनी र एक भाग पानी माथि । हिजो सामन्तवादको नायिके भनिने राजतन्त्रको अन्तपछि मानिसहरूले सोचेका थिए, अब सामन्तवादका विभिन्न रूपहरूको अन्त्य हुनेछ । यसैका लागि जनयुद्ध र जनआन्दोलनमा हजारौंको वलीदानी भएको छ । तर एक रूपको अन्त्य हुँदैमा अर्को रूपबाट छुट्टै सामन्तवादको विकास भइरहेको देखिन्छ । सपना बेच्ने नौलो तरिका, विभिन्न शब्द जाल र अपारदर्शी व्यवहार यहाँभित्रका नयाँ सामन्तवादका रूपहरू बनेर भित्रिएका छन् । सायद आज यस्तो नयाँ रूपमा नयाँ शोषणका रूपहरू जन्मदा हुन त हिजोका सहिदहरूले आफ्नो ज्यान आहुती गर्दैनथिए होला ।
परिस्थिति सकारात्मक रूपमा अगाडि बढ्नु पर्ने हो । सहिदको सपनालाई केही मात्रामा नै भए पनि पछिल्लो पिंढीले सम्झिनुपर्ने हो । तर जसले उनको सपनाको भ¥याङ चढेर सत्ता र शासनको वागडोर सम्हाले उनीहरूले नै सम्मान गर्न हिचकिचाएको देखिन्छ । भाषण र बोलीमा विभिन्न तरिकाबाट सहिदलाई सम्झने र उनैको बाटो हिँड्ने प्रण गरिन्छ तर व्यवहारतह त्यसको ठ्याक्कै विपरित । यहाँ सहिदलाई बुझ्ने र त्यसको निश्चित मापदण्ड बनाउनेमा सरकार र नेतृत्वकर्ता नै चिप्लिएको देखिन्छ । सहिदको परिभाषालाई आफ्नो राजनीतिक स्वार्थ र प्रयोग अनुसार परिभाषित गरिएको छ । देशको सुनौलो भविष्यको लागि आफ्नो ज्यान आहुति दिनेहरू बाहेक अकालमा मृत्यु भएकालाई समेत सहिदको पगरी गुथेको देखिन्छ । जसले गर्दा अन्य सहिदहरूप्रति अपमान गरिएको नठहरिएला भन्ने आधार भेट्न सकिदैन । यस्तो हर्कत, सायद ती सहिदको आत्माले देखेको हुँदो हो त, आज उनीहरूको आत्मा रोइरहेको होला । भनिरहेको होला किन यी नेतृत्वकताृहरू हामीलाई खोला त¥यो लौरो बिर्सियोको व्यवहार गरिरहेका छन् ?
अब सहिदको सपनालाई साकार बनाउन लाग्ने व्यक्तिहरूको जमात बढ्नु आवश्यक छ, जसले सहिदका सपनालाई साकार तुल्याएर देशलाई सही दिशा निर्देश गर्न सकोस् । यहाँ नेतृत्वकर्ताको दायित्व यो हो कि हामी कुन धरातलबाट यहाँ आयौं । जो जसको बलिदानको सफलताबाट आफूले खुड्किलो उक्लिएको विश्वास
गर्छन् । उनीहरूले एक दिन, टुडिखेल अथवा अन्त कतै गएर एक मिनेट मौन धारणा र एउटा माला गलामा लगाउँदैमा आफ्नो दायित्वबाट उम्कियो भन्ने सोचेका छन् भने त्यो उनीहरूको भूल हो । सहिदको सम्मान मौनधारण र मालाले मात्र हुँदैन । यो त उनीहरको सम्झना गर्ने एउटा प्रक्रिया मात्रै हो । सहिदहरूको सम्मान तब हुन्छ जब उनीहरूले देखेको सपना साकार हुन्छ ।
हिजो एक दशक अगाडिका प्रायः विभेद, शोषण, दमन, अत्याचारका विभिन्न रूपहरू जारी छन् । तिनीहरूले आज साइज बदले होलान्, रूप वदले होलान् तर सोच बदलिएको छैन । त्यसैले आज सहिदलाई सम्झने पक्रियामा नै परिवर्तन गर्नतर्फ सोच्न लाग्ने कि भन्ने मत पनि बढी देखिन्छ । हिजो जुनबेला जुन परिस्थितिमा जसले देशको उज्यालो पक्षको लागि बाजी लगाए उनीहरूलाई राज्यले उचित रूपमा सम्झनु आवश्यक छ र नेतृत्वकर्ताहरूको ध्यान त्यतातर्फ जाँदा नै उपयुक्त हुन्छ । उनका आश्रित परिवारलाई भरणपोषण र शिक्षा दिक्षा तथा उनीहरूको योगदानको उचित मुल्यांकन पनि आजको आवश्यकता हो ।
सहिद सबैका सहिद हुनुपर्दछ, त्यो एक क्षेत्र जाति भाषा लिङ्गको सहिद नभएर समग्रमुलुककै सहिद हुनुपर्छ । यहाँ कसैले फरमाइस गर्दैमा सहिद भइहालिने पनि होइन तर तलाई यति रूपैयाँ दिन्छु भनेर गरेको विज्ञापनबाट भएका सहिदलाई पनि सहिदको पगरी गुथ्दा केही अप्ठ्यारो पर्छ कि, त्यसैतर्फ जिम्मेवार नेतृत्वले ध्यान दिँदा ठीकै होला ।
अन्त्यमा, देश विभिन्न नेतृत्वकर्ताबाट सञ्चालित छ । शासनलाई सहिदको वलिदानीबाट प्राप्त गरेको पनि भनिन्छ तर उनको वलिदानीबाट प्राप्त उपलब्धिलाई नामेट पार्ने प्रयास कहींकतैबाट भयो भने खबरदारी गर्नु आवश्यक छ । त्यसतर्फ तपाईं हामी लागौं र साथै नेतृत्वकर्ताहरूले आफ्नो दायित्वलाई बिर्सने वातावरण भन्दा उपयुक्त हुने विश्वासका साथ सहिप्रति हार्दिक श्रद्धासुमन ।
साझा बिसौनी संवाददाता ।