मलमा सहजता
कर्णालीमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले आवश्यक मात्रामा मल सञ्जय गरेको छ । भदौ महिनासम्मका लागि चाहिनेजति मल गोदाममा रहेको कार्यालयले जनाएको छ । विगतमा धानखेतिको समयमा बर्सेनि मलको अभाव हुने गरेको थियो । भदौसम्मलाई पुग्नेगरी गोदाममा आइसकेको र आउने क्रममा समेत रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने भएको हो । हाल युरिया एक सय २० टन, डिएपी एक सय ५० टन, पोटास ४४ मेट्रिक टन र कृषि चुन ११ टन गोदाममा रहेको छ ।
गोदाममा मौज्दात रहेको मल भदौ तेस्रो सातासम्मका लागि पुग्ने र भदौको तेस्रो साता नै थप मल आउने जनाइएको छ । खरिद प्रक्रियामा रहेकोले मल सबै आयो भने गहुँ बालीलाई पनि धान्न सक्ने देखिन्छ । धानखेतीको मुख्य सिजन असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुन्छ । त्यसका लागि जिल्ला–जिल्लामा मल पठाइएको छ । रासायनिक मल अभाव हुन नदिन थप मल आपूर्तिको प्रक्रियामा छ । कम्पनीले प्रदेशका चार जिल्लामा मल वितरण गर्दै आएको छ । सुर्खेत, दैलेख, कालीकोट र जाजरकोट जिल्लामा दर्ता भएका सहकारी संस्थामार्फत् मल वितरण हुने गरेको हो । कर्णालीमा युरिया मल बढी खपत भइरहेपनि साविक कर्णाली अञ्चलका जिल्लाहरूमा भने रासायनिक मलको प्रयोग कम हुने गरेको छ । प्रदेशमा कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ्ग कर्पोरशनले ३० प्रतिशत मल वितरण गर्दै आएका छन् । अहिले पनि विभिन्न समूह, सहकारीमार्फत् मल धमाधम बिक्री वितरण भइरहेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म कर्णालीमा एक सय ६५ टन युरिया मल, ३० टन डिएपी, पोटास ६ टन र कृषि चुन १० टन खपत भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १४ सय ५५.३ टन युरिया, आठ सय ४९.३५० टन डिएपी र ६८.७ टन पोटास खपत भएको थियो ।
मल समयमै पाउँदा यस वर्ष धान रोपाइँमा पनि सहज भएको छ । कर्णालीमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ४४ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतले दिएको जानकारीअनुसार कूल ४५ हजार तीन सय ८७ हेक्टर क्षेत्रफलमध्ये ४४ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमा अहिलेसम्म धान रोपिएको हो । अब बाँकी आठ सय ८२ हेक्टर क्षेत्रफलमा पनि रोपाइँ भइरहेको छ ।
प्रकाशित मितिः २८ श्रावण २०८०, आईतवार ०५:०३
सम्पादकीय ।