‘जाइका’सँग सम्झौताको तयारी
सुर्खेत: जाजरकोटमा निर्माण हुने नलगाड जलविद्युत आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका) तयार भएको छ । लगानीका लागि जाइका तयार भएपछि सम्झौताको तयारी गरिएको छ । अबको एक महिनाभित्रै सम्झौता गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिए ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुन बाँकी नै छ । उक्त कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । डीपीआर तयार हुँदै गर्दा लगानीको सुनिश्चितता पनि हुने देखिएको छ । चार सय १७ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार लगानी जुटाउने प्रयास गरिएको हो । जसमा जाइका सकारात्मक रहेको निर्देशक पौडेलले जनाए । ‘बढीमा एक महिनाभित्रमा सम्झौता गर्नेगरी तयारीमा लागेका छौँ’ उनले भने, ‘जाइकासँगै अन्य दातृ नियकासँग पनि निरन्तर छलफल भइरहेको छ ।’
सुरुवातदेखि नै आयोजनामा लगानी गर्न जापान सरकारले रुचि देखाएको थियो । विभिन्न चरणमा सरकारको तर्फबाट जापानसरकारसँग लगानीका विषयमा छलफल भइरहेको भन्दै निर्देशक पौडेलले लगानी सुनिश्चित हुनेगरी पहिलो प्राथमिकता जाइकालाई दिएको जानकारी दिए ।
अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । (इआइए) स्वीकृत हुने बित्तिकै आयोजना निर्माण प्रक्रियामा लैजाने गरी तयारी थालिएको छ । त्यसका लागि लगानी जुटाउन पहल थालिएको निर्देश पौडेल बताउँछन् ।
नलगाड जलविद्युत आयोजना सम्पन्न गर्न दुई खर्ब लाग्ने अनुमान गरिएको छ । यो जलाशययुक्त आयोजना हुनेछ । जलाशय निर्माणमै बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने अनुमान गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किलोमिटर लामो मुख्य सुरुङ र दुईदेखि तीन किलोमिटरसम्मका तीन वटा सहायक सुरुङ बन्नेछन् । पाँच सय मिटर लम्बाई र दुई सय ४८ मिटर अग्लो ड्याम बन्नेछ । जलासयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुनेछ ।
आयोजनामा चार वटा टरवाइन हुनेछन् भने प्रत्येक टरवाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत् कोहलपुर सवस्टेशनमा जोड्ने योजना रहेको छ । आयोजनास्थलबाट कोहलपुरसम्म एक सय १२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ ।
यसैबीच नलगाडसँगै जोडिएको ७.१ मेगावाट क्षमताको ताक्सुगाड जलविद्युत आयोजनाको अध्ययनको काम सकिएको छ । नलगाड नगरपालिका वडा नं. १० र ११ को सिमानामा बन्ने ताक्सुगाड जलविद्युत आयोजनाको अध्ययनको काम सकिएको हो ।
नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले २०७५ सालमा विद्युत विकास विभागबाट सर्वे अनुमति पाएको थियो । करिब पाँच वर्ष लगाएर पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक पौडेलले बताए । अध्ययनको काम सकेर उत्पादनको लागि लाइसेन्स माग गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । अबको दश दिनमा कम्पनीले निर्माण उत्पादन अनुमति विद्युत विकास विभागकासँग माग गर्नेगरी काम अघि बढाएको छ । उनले भने, ‘अध्ययनका काम सकेका छौँ । आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गरेर दुई वर्षमा आयोजनाको काम सक्नेगरी योजना बनाएका छौँ ।’
आयोजना निर्माणका लागि ६५ किलोमिटर जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको आयोजनाका इन्जिनियर पदमबहादुर थापाले जानकारी दिए । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) एक वर्ष अघि नै बनिसकेका छन् । जलविद्युत आयोजना निर्माणका लागि उपयुक्त स्थान भएको भन्दै छोटो समयमा नै निर्माण गर्न सकिने जानकारी दिए । यो आयोजना निर्माणका लागि एक अर्ब ३० करोड लागत अनुमान गरिएको छ ।
प्रकाशित मितिः ५ श्रावण २०८०, शुक्रबार १३:२८
रजनी याेगी ।