आधा दर्जन सडक र पुल अलपत्र

सम्बन्धित निकायको चरम लापरवाही र ढिलासुस्तीले जाजरकोटका महत्वपूर्ण सडक र पुलहरुको निर्माण कार्य अलपत्र परेको छ । निर्माण शुरु भएको लामो समय वितिसक्दा पनि जिल्लाका विभिन्न आधा दर्जन बढी सडक र पुलको निर्माण कार्यले गति लिन नसक्दा जिल्लावासीको सडक सपना अधुरै बनेको छ ।

निर्माण कार्य रोकिएका सडक र पुलहरु यथाशिघ्र सुचारु गर्न स्थानीयले माग गरेका छन् । जिल्लाका रणनैतिक सडक र पुलमा पर्याप्त बजेट विनियोजन नहुनु, विनियोजन भएको बजेटको पनि सही सदुपयोग नहुनुले आयोजनाहरु अलपत्र परेको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताए । ‘निर्माण कम्पनिको ढिलासुस्ती र उदासिनताले राज्यको रकमको दुरुपयोग भएको छ’ शाहले भने– ‘दशौं वर्ष अघिदेखि निर्माण शुरु गरिएपनि जिल्लाको भविष्यसँग जोडिएका यी सडकको निर्माण कार्य रोकिनु दुर्भाग्य हो ।’

निर्माण शुरु भएको १० वर्ष सम्म पनि गुणस्तरीय काम नहुँदा अलपत्र अवस्थामा रहेको खलंगा–पाँचकाटिया–पैक–ब्याउलीढुङ्गा–जुम्ला, खलंगा–पाँचकाटिया–बारेकोट–जुम्ला र छेडा–चाँदे–जुम्ला सडक जस्ता रणनैतिक सडक अलपत्र अवस्थामा रहेका छन् । सदरमुकाम खलंगामा सडक यातायात पुगेको १० वर्ष वितेपनि सदरमुकाम बाहिरका ग्रामीण भेकमा सडक संजाल जोडिन सकेको छैन । सडक डिभिजन कार्यालयको उदासिनताले जाजरकोटको विकास रोकिएको जिल्ला स्थित नागरिकहरुको गुनासो छ ।

जिल्ला सदरमुकाम आवतजावत गर्न अहिले पनि स्थानिय पैदल हिड्न बाध्य भएको र सडक निर्माणले गतिलिन नसकेपछि सडक सरोकार समिति गठन गरी सम्बनिधत निकायको ध्यानाकर्षण गराएका हुन् । जिल्लाबासीका माग सुनुवाई नभए कडा संघर्षमा उत्रिन बाध्य हुने सडक सरोकार समितिले चेतावनी दिएको छ । बषौं देखी अलपत्र परेका सडक र पुल निर्माणको माग गदै जिल्लाबासीका समितिले रुकुमको चौरजहारी स्थित सडक डिभिजन कार्यालय पुगेर सरकारको ध्यानाकर्षण हो ।  सम्बन्धित निर्माण कम्पनीको लापरवाहीले अलपत्र पारिएका विभिन्न सडक र मोटरेबल पुल यथासिघ्र निर्माण गर्न माग गदै सडक डिभिजन मार्फत सरकारको ध्यानाकर्षण गराईएको समिति जाजरकोटका संयोजक अमरसिंह राठौरले बताए ।

पुलको अवस्था झन विजोग
डोल्पा भेरीकरिडोरको बैरीताल चिसापानी पुल, छिन्चु–जाजरकोट सडकको पासागाड पुल र सिम्ली खोलाको पुल समयमा नबन्दा जिल्लाबासीलाई थप सास्ती भएको छ । पुल नबन्दा सदरमुकाम खलंगा आउन ग्रामिण भेगका बासिन्दा पैदल हिड्नुको विकल्प छैन । ‘सडक निर्माणले गति लिन नसक्दा अधिकांश बासिन्दा पैदल हिड्न बाध्य छन् ।’ लहँ ६ कालीमाटीका हाँसीलाल पन्तले भने– ‘विरामीलाई उपचारका लागि सदरमुकाम लैजान र उपभोग्य सरसमान लिन अहिले पनि डोकोमा बोक्नु पर्ने बाध्यता छ ।’  ‘सदरमुकाम नजिकका बस्तीसम्म सडक निर्माण कार्य भएपनि खोलाहरुमा पुल नबन्दा यातायात संचालनमा आउन सकेको छैन ।’ पन्तले भने– ‘निर्माण भएको सडक पनि कतिपय ठाउँमा भत्किसक्यो ।’

पुल बन्यो, पहुँच मार्ग बनेन
डोल्पा सडकको रिम्ना खण्डमा पुल निर्माण भएको ८ महिना वित्यो । तर, करीव ६ सय मिटरको पहुँच मार्ग नबन्दा नागरिकले सास्ती झेल्नु परेको छ । जाजरकोट, डोल्पा र रुकुमका स्थानीय आवतजावत गर्ने यो सडक खण्डमा कसले पहुँच मार्ग निर्माण गर्ने भन्ने विषयको विवादले पहुँच मार्ग निर्माणको कार्य अलपत्र परेको हो । अनक लुम्बिनी जेभिले दश करोड लगानीमा निर्माण गरेको पुल पहुँच मार्ग नबन्दा प्रयोग विहिन बनेको छ ।

हाल रुकुमको भुभागमा पर्ने छेपारे, जाजरकोटको भूभागमा पर्ने तल्लुबगर र डोल्पाको भूभागमा पर्ने त्रिवेणी सम्म जीप चलेपनि रिम्नामा यात्रुहरुल करिब ६ सय मीटर पैदलबाटो हिड्नुपर्ने बाध्यता छ । दुवै तिरबाट गाडी चल्छन् तर, पहँचु मार्गका अभावले सामाग्री ढुवानी गर्दा मान्छेले बोक्नुपर्ने भएकाले त्यसक्षेत्रमा उपभोग्य सामाग्री समेत महँगिएको सक्ला २ का दिलबहादुर नेपालीले बताए ।

जाजरकोट–डोल्पा सडक अन्र्तगतको जाजरकोट खण्ड नेपाली सेनाले तीन वर्ष पहिले पूरा गरेको थियो । पहुँच मार्ग निर्माणका लागि नेपाली सेना र पुल निर्माण कम्पनीले आफ्नो जिम्मेवारी भित्र नपर्ने भन्दै आलटाल गर्दै आएका छन् । तर पुल देखि पुर्व तर्फ १ सय ५० मिटर दुरी सम्मस सडक खन्नुपर्ने सडक डिभिजन कार्यालय चौरजहारीले बताएको छ ।

स्थानीय आक्रोशित
रणनैतिक महत्वका मुख्य दुई सडकहरु छेडा–चाँदे–जुम्ला र खलंगा–पाँचकाटिया–जुम्ला सडकमा चालु आर्थिक बर्षमा रकम विनियोजन नै नगरेपछि स्थानिय आक्रोशित भएका छन् । अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने भन्दै सडक डिभिजनलाई आशयपत्र पठाएपछि करीव ७÷७ करोडका दुई ओटा टेण्डर भएका थिए । तर, रकम आउने निश्चित नभएको र अन्य प्रक्रिया पनि पुरा नभएको भन्दै ती ठेक्का रद्द भएका छन् । आर्थिक बर्ष शुरु भएको ६ महिना वितिसक्दा पनि जुम्ला जोड्ने रणनैतिक सडकका लागि बजेट नआएपछि डिभिजन कार्यालय र नेताहरुप्रति आक्रोशित बनेको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

जिल्लामा शहरी, क्षेत्रिय र प्रादेशिक गरी चार दर्जन बढी सडक आयोजनामा बजेट विनियोजन गरिएपनि रणनैतिक महत्वका सडकमा बजेट विनियोजन नभएको डिभिजन प्रमुख आशिष थापा मगरको भनाई छ । ‘हामीलाई अर्थले बजेटको लागि आशय पत्र दिएको छ । रद्द भएको सडकको पनि पुनः टेण्डर गर्ने तयारीमा छौ ।’ सडक आयोजना प्रति जनताको चासो र चिन्ता स्वभाविक भएको बताउदै डिभिजन प्रमुख थापाले भने– ‘एउटै कार्यालयले जाजरकोट, रुकुम र डोल्पा हेर्नुपर्ने भएकोले जनशक्ति पर्याप्त पनि छैन । र, ठेकेदार कम्पनीहरुको लापरवाहीले अधिकासं निर्माण कार्य लामो समय देखि हुन नसकेको साँचो हो । अव कुनै हालतमा काम सुचारु गछौ, अन्यथा काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छ ।’

हालको सुर्खेत–दैलेख हुदै जुम्ला जोड्ने कर्णाली राजमार्ग सडक भन्दा जाजरकोट–जुम्ला सडक दुरीको हिसावले निकै छोटो छ । जाजरकोट र जुम्ला जोड्ने रणनैतिक सडक निर्माण भएमा कर्णालीसँगको ढोका खुल्ने र आर्थिक विकासमा महत्वपुर्ण उपलब्धी हुने जिल्लावासीको विश्वास छ । ‘मैले रणनैतिक सडक र पुललाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छु’ डिभिजन प्रमुख थापा मगरले भने– ‘म सरुवा भएर आएको केही महिना मात्र भयो, अब यस क्षेत्रको यातायात विकासमा केही काम देखिने गरी गर्छु ।’

प्रकाशित मितिः   ११ माघ २०७३, मंगलवार १२:०२