भेरीको पानी उपत्यकामा ल्याउन प्रक्रिया थालिने

सुर्खेत उपत्यकामा खानेपानीको संकट टार्नका लागि थप वैकल्पिक स्रोतबाट पानीको जोहो गर्न लागिएको छ । वर्षौंदेखिको खानेपानीको समस्या समाधानका लागि विभिन्न स्रोतबाट उपत्यकामा पानी ल्याइने भएको हो । उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भेरी नदीको पानी ल्याउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लागेको हो ।

भेरी नदीको पानी पम्पिङ्ग गरेर उपत्यकामा ल्याउनका लागि यो आर्थिक वर्षभित्रै आवश्यक काम थालिने भएको हो । झुप्रा खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले उपत्यकामा हाल दैनिक ४५ लाख लिटर पानी अपुग रहेको भन्दै त्यसका लागि भेरीको पानी ल्याउनुपर्ने बताए । उनले यो आर्थिक वर्षमा नै भेरीबाट पानी ल्याउनका लागि उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गरी डिटेल प्रोजेक्ट रिपोर्ट तयार पारिने जानकारी दिए । संस्थाको सोमवार सम्पन्न १६ औं वार्षिक साधारणसभामा अध्यक्ष देवकोटाले भने, ‘खानेपानीको दीर्घकालीन समाधान खोज्दैछौं, त्यसका लागि भेरीको पानी ल्याउने प्रक्रिया थाल्नेछौं । भेरीको पानी आएपछि पानीको आपूर्ति सहज हुनेछ ।’

सुर्खेत उपत्यका सम्भावित प्रदेशको राजधानी भएको र यहाँको खानेपानी समस्या समाधानका लागि वैकल्पिक स्रोतको जोहो गर्न लागिएको संस्थाले जनाएको छ । खानेपानीको आपूर्ति सहज बनाउन खरीखोला र बोरीखोला आयोजनाको निर्माण कार्य तीव्र पारिएको भन्दै संस्थाले आउँदो फागुनभित्र यो आयोजनाको पानी उपभोक्ताको धारामा खसाल्ने प्रतिबद्धता जनाएको छ । संस्थाका अनुसार यो आयोजनाको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यो आयोजना निर्माण सम्पन्न भएपछि खानेपानीको आपूर्ति केही सहज हुने दाबी गरिएको छ । यस्तै बुलबुलेको मुहान सञ्चालन, भसना बाँध र पातलगंगामा रहेको पानीको स्रोतलाई पनि प्रयोग गरिनेछ । अर्कोतर्फ ईत्राम र खोर्केखोलाको मुहानमा पनि मर्मत गरेर उपत्यकामा पानीको आपूर्ति सहज बनाउने योजना संस्थाले बनाएको छ । यसले हालको पानीको संकट टर्ने र उपत्यकामा खानेपानीको सहजता हुने संस्थाले जनाएको हो ।

यस्तै संस्थाले खानेपानीको आपूर्तिलाई सहज बनाउनका लागि चुहावट नियन्त्रणको कामलाई कडाइका साथ अगाडि बढाउने रणनीति बनाएको छ । हाल चुहावटको मात्र २८ प्रतिशत रहेकोमा आउँदो वर्षभित्र यसलाई १५ प्रतिशतमा झार्ने तयारी संस्थाले गरेको छ । चुहावट र जथाभावी प्रयोगका कारण पनि पानीको समस्या बढेको भन्दै संस्थाले अब भेरीको पानी ल्याउनुको विकल्प नभएको उल्लेख गरेको छ । हाल संस्थामार्फत् १४ हजार भन्दा बढी धाराहरू जडान भएको छन् । यस्तै तीन हजार ६ सय धारा जडानको सूचीमा रहेका छन् । उपत्यकाको जनसंख्या बढ्दै गएको र पानीको मुहानमा स्रोत घट्दै गएका कारण पानीको अभाव भइरहेको छ । यो समस्या समाधानका लागि संस्थाले विभिन्न योजनाहरू अगाडि सारेको छ । साधारणसभाको अवसरमा संस्थाले पानीको आपूर्ति सहज बनाउने, वैकल्पिक स्रोतको जोहो गर्ने, चुहावट रोक्ने, पानीको सही प्रयोगबारे जनचेतना जगाउने, उपभोक्तालाई महसुल बुझाउन सहज सुविधा प्रदान गर्ने, संस्थाको कार्यालय भवन स्तरोन्नति गर्ने र अन्य सुधारका योजनाहरू अगाडि सारेको छ ।
साधारणसभामा सांसद सीता नेपालीले उपत्यकाको खानेपानी आपूर्तिलाई सहज बनाउन सबैको साझा पहल आवश्यक हुने बताइन् । खानेपानी व्यक्तिको अधिकार भन्दै उनले पानीको संकट समाधानका लागि समयमा नै सोच्नुपर्ने उनको भनाइ छ । वैकल्पिक स्रोतको पहिचान गर्दै थप पानी उपत्यकामा ल्याउनका लागि आफूले आवश्यक सहयोग र पहल गर्नेसमेत उनले प्रतिबद्धता जनाइन् । साधारणसभामा संस्थाका पूर्व अध्यक्ष बालाराम शर्मा, स्थानीय विकास अधिकारी अमृत लम्साल, पूर्व सभासद् नरबहादुर विष्ट, पूर्व जिविस सभापति गोविन्दबहादुर मल्ल र जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीहरूले दीर्घकालीन समस्या समाधानका लागि भेरीको पानी ल्याउनेतर्फ पहल थाल्न आग्रह गरे । साथै खानेपानीमा अनावश्यक राजनीति नगर्न आग्रह गर्दै उनीहरूले यसलाई साझा मुद्दा बनाउन सुझाव दिए ।

प्रकाशित मितिः   ११ माघ २०७३, मंगलवार ११:५२