प्रधानमन्त्रीको राजीनामा !
यही असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा ‘मलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटक पटक दिल्ली धाउनुभयो’ भन्ने एउटा अभिव्यक्तिले पुष्पकमल दाहाल प्रचण्डलाई विवादमा तानेको छ । ‘ढाँटे कुरा काटे मिल्दैन’ भनेझैं यसलाई टालो हाल्न पछिल्लो पटक दिएको स्पष्टीकरणको आसय पनि दिल्ली तिरै बगेको देखिन्छ । उनी गलतलाई झुटले ढाक्न खोज्छन् र दुनियाँ सामु झन उदाङ्ग हुन्छन् । यही विषयलाई लिएर दाहालको सर्वत्र आलोचना बढिरहेको छ । के निउँ पाउ कनिका बुकाउँ भनिरहेको प्रतिपक्षीले राजीनामा मागेर संसद्समेत अवरुद्ध पारेको छ सायद उसको यो धर्म पनि होला । संसद् अवरुद्ध भएका कारण मिटरब्याज पीडित सम्बन्धी विधेयक अलपत्र परेको छ । यसको दोष विपक्षको थाप्लोमा हाल्ने मौका मिल्यो दाहाललाई ।
अनिवार्य राजीनामा दिनुपर्छ भन्ने र राजीनामा दिएर देशलाई अन्योलमा हाल्नु हुँदैन भन्ने वादविवादमा समाज विभाजन हुन थालेको छ । यसैबीच प्रतिपक्ष कित्ताका कोही सांसद नैतिकताको प्रश्न उठाउँदै सामाजिक सञ्जालमा चर्को चिच्याइरहेका छन् । जसको भ्रष्ट आचरणबारे सार्वजनिक रूपमा छताछुल्ल भएको श्रव्यसंवादले नाङ्गेझार पारे पनि पार्टीले उचालेर काँध हाल्दा सुनपानीले पखाल्दा दुनियाँले ताज्जुब मान्नु परेको थियो । तर विडम्बना आलोचित त्यस्ता व्यक्तिले लज्जाबोध त्यागेर अग्रसर हुँदै अरुलाई नैतिकताको पाठ पढाइरहेका छन्, ज्ञान बाँडिरहेका छन् । यहाँ सत्ता लिप्साको दाउपेचले नैतिकता खर्लप्पै निलेको छ ।
भावनामा आउँदा दायाँबायाँ नसोचि प्याच्च बोलेर फुर्सदमा पछुताउने द्धैध चरीत्रको छवि भएका प्रधानमन्त्री दाहालले यस्ता विवादित अभिव्यक्ति विगत कालमा पनि पटकपटक दिइरहेका छन् । जसका कारण उनी अदालतसम्म पनि तानिने गरेका छन् । भलै सत्ताको रापतापले मुद्दा निष्क्रिय भएको होला । प्रितम सिंहका कारण दिल्लीले प्रधानमन्त्री बनाइदियो भन्ने किसिमको निकृष्ट अभिव्यक्ति दिइरहँदा पनि समर्थनमा ताली बजाउने जमात तैनाथ थियो त्यहाँ । मानौं त्यो जमात पार्टीको दास हो जसलाई आफ्नो देशको स्वाभिमानका बारेमा केही लिनुदिनु छैन । आफ्नो बुद्धि विवेक मालिकका चरणमा चढाएर दासता स्वीकार गरेका छन् । उनीहरू ताली बजाउनका लागि मात्र जन्मेका हुन र बाँच्नका लागि मासु भात र मदिरामा निर्भर छन् । ताली बजाउन र समाजमा भ्रम फैलाउन खप्पिस यस्ता प्रलम्वी दासहरूलाई सबै पार्टीले लालनपालन गरेका देखिन्छन् ।
परिवार र नातागोताको मोहमा चुर्लुम्म डुबेर आफ्नै पार्टी लाई तहसनहस पारेका, कथनी र करनी फरक गरेर समाजको मन दुखाएका दाहालले राजीनामा दिएपछि पनि देशलाई राहत हुनसक्ने अवस्था देखिन्न । राजेन्द्र लिङ्देन, रवि लामिछाने, सिके राउत जस्ता नयाँ अनुहारहरूले सत्ताको नेतृत्व गरि नयाँ ढंगको काम गर्न पाउने सम्भावना पनि छैन । असक्षमको बात लागेका, स्वास्नीहरूलाई समानुपातिकको कोटाबाट तानेर सत्तामा हुल्ने कोसिस गरेका, रेल र पानी जहाजका कुराले जनता भुल्याउने, भ्युटावरको विकासले जीवनस्तर उठाउँछ भन्ने मान्यता राख्ने तिनै पुराना व्यक्ति दोहोरिने हुन् अवश्य । पार्टी सत्तामा गए हात थाप्न पाइन्छ भन्ने केही कार्यकर्तालाई त आशा होला, तर पटकपटक परिक्षण भैसकेका अनुहारहरूबाट जनतालाई न आशा न भरोसा ।
हाम्रो समाजमा भ्रष्टाचारको मुद्दा छिटो बिक्री हुन्छ किनकि भ्रष्टाचारले देश जर्जर छ जनजीवन आक्रान्त छ । कारण र प्रमाणबाट अपराधको बात लागेका व्यक्तिलाई कारबाही गर्न भनी सञ्चार माध्यमले निरन्तर खबर प्रसारण गरिरहे पनि सत्ताले छाडा छोडिदिने गर्छ । सत्ताकै ठाडो हस्ताक्षपमा न्यायीक निकायले एक दुइचोटी मात्र होइन, अनगिन्ती चोटि पेशी सारिदिन्छ । विगतका दृष्टान्त यस्तै छन्, त्यसकारण हैरान जनताका मनमा यस्तो व्यवस्थाप्रति नै वितृष्णा भरिएको छ । पछिल्लो पटक नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा केही गतिलो काम हुन खोजेको जनताले महसुस गरेका छन् । भलै दाहालको सत्ता लम्बाउने खेल होला, खेलमा ठूला माछा भनिएकाहरूलाई उम्काउने चालबाजी पनि होला । त्यो अन्दाजको कुरा भयो तर भ्रष्टाचारको बारेमा हुँदै नहुनु भन्दा सादृश्यमा केही कुरा त भइरहेकै देखिन्छ । हिजो सत्तामा रजगज गर्ने राजनीतिज्ञ सरकारी जग्गा हिनामिना गरि टुक्राटुक्रा पार्ने भूमाफियाहरू, तिनलाई उचालेर धन आर्जन गर्ने व्यवसायी आज खोरमा थुनिएका छन् । भ्रष्टाचारको बात लागेका र नीतिगत निर्णयको छाता ओढेर जोगिने कोशिस गरेका ती ठूला भनिएका व्यक्तिहरूलाई नाम पोलेर दसी प्रमाण र कैफियत व्यहोरा छरपस्ट पार्दै प्रायः दैनिकी रूपमा मिडियाहरूले खबर प्रसारण गरिरहेका छन् । बदनामीको कारणले समाजमा मुख देखाउन गाह्रो परेको मात्रै होइन तिनको जनाधार पनि दिनप्रतिदिन खिइँदै गैरहेको छ । कर फछ्र्योट्को मामिलामा देशलाई अर्बौं रकम ठग्ने ठगहरूलाई र आयल निगमको जग्गा खरिद काण्डमा चलन चल्तीको दरभाउ भन्दा ५÷६ गुणा महँगोमा खरिद गरि पहुँचको ध्वाँसमा जोगिएका ध्वाँसेलाई कानुनले फन्दाम पारेको छ । देशको लागि यो पनि खुसीकै खबर हो । ढिलै भएपनि राम्रो कामको सुरुआत भएको छ, निश्पक्ष भएर राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ, उपलब्धि मान्नुपर्छ । तर दिल्लीको समर्थनमा प्रधानमन्त्री भएको भन्ने ढंगको आपत्तिजनक अभिव्यक्ति सर्वथा गलत हो, गलत नै भन्नुपर्छ । प्रशन्न मुद्रामा दिएको त्यो विवादित अभिव्यक्तिले देशको शिर निहुरिएको मात्र होइन, दाहालले आफ्नो निधारमा आफै दिल्लीको दलाल भन्ने कलंक पनि टाँसेका छन् ।
यो अभिव्यक्तिका कारण प्रधानमन्त्री दाहाल यतिखेर चर्को संकटमा छन् । ठूला पार्टीको आपसी बेमेलले गर्दा संकटलाई निल्दै–पचाउँदै पनि आएका छन् । बजेट पास होला कि नहोला भन्ने एउटा तरङ्ग थियोे, अब त्यसको अन्त्य भएको छ भनी यही असार १६ गते कास्की पोखरामा दाहालले दिएको अभिव्यक्ति हो यो । उनको यस्तो अभिव्यक्तिले हिजो सत्ता जोगाउनका लागि हतियारका रूपमा ललिता निवास प्रकरण उठाएका हुन् भनी आमसञ्चारमा आएका कुरालाई सम्पुष्टी गर्छ । बजेट पक्षपातीपूर्ण छ संशोधन नभए कुनै पनि हालतमा पास गरिन्न भन्ने अडान लिएको एकीकृत समाजवादी त्यतिखेर कर्कलो झैं गल्यो, बजेट पास गर्न लतारिएर समर्थन गर्न बाध्य भयो ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा सिंगापुरबाट फर्केपछि नक्कली भुटानी शरणार्थी काण्डमा कांग्रेसकी समानुपातिक सांसद तथा शेरवहादुर देउवाकी पत्नी आरजु देउवा र कांग्रेसका पूर्वगृहमन्त्री कृष्ण सिटौला तानिदैछन् भन्ने ढंगको समाचारले सामाजिक सञ्जालमा निकै खैलाबैला मच्चायो । यो कतै हावा नचली पात मात्रै हल्लेको अवश्य पनि थिएन । सभापति देउवाको निन्द्रा बिगार्ने त्यस्तो खबरको पछाडि पनि अर्को हतियार देखाइ तर्साइएको रहेछ भनी बलियो अड्कल काट्न सकियो, किनकि बजेट प्रष्ट बहुमत बाट पारित भएको थियो । सिंगापुरबाट फर्किएलगत्तै जापान जानू आरजु देउवाको निजी काम पनि हुन सक्छ, तर उनी आफ्नो टाउको जोगाउन जापान भाग्नु प¥यो भनी तुरुन्तै सामाजिक सञ्जालमा आएका अनेक टिप्पणीबाट शंकाको सुविधा अवश्य मिल्यो किनभने हावा चल्नु र रुख ढल्नु सँगसँगै भएको थियो ।
सरकार आज ढल्छ भोलि ढल्छ, बजेट पास हुन सक्दैन तब अनिवार्य ढल्छ भनी भविष्यवाणी गरेको प्रतिपक्षी दल पनि बजेट पास हुँदा मौनव्रत बस्यो । सत्ताको रापतापले दबाइएका भ्रष्टाचारहरूका कुनै काण्डमा आफ्ना आज्ञाकारी पात्रहरू जाकिन्छन कि भन्ने भय छँदैछ । यसरी सत्ता पक्ष गठबन्धन र प्रतिपक्षका मनमा त्रास हुलेर सत्ता सहज पारिरहेका छन् दाहालले । सत्तामा हुँदा कसैले श्रीमतीको हालीमुहालीबाट बेहिसाब रकम असुली गरेर होस या कसैले नियोजित पूर्वक नीतिगत निर्णय गरेर किन नहोस वा कसैले बाङ्गो काम गर्ने आफ्ना हर्ताकर्तालाई ओतेर होस यो देश लुट्ने अपराध गरिरहेका हुन । त्यही कमजोरीमा लगाम लगाएर दाहाल निष्कणटक हिँड्न खोज्दैछन् ।
हिजो नक्कली भुटानी शरणार्थी सम्बन्धी अनुसन्धानको दायरा फराकिलो हुँदै जाँदा होस या पशुपतिको जलहरीको प्रसंग उठ्दा होस् तीन पार्टीका शीर्ष नेताको बालुवाटारमा पटकपटक गोप्य भेटघाट चल्यो । भेटघाटबारे संचारकर्मीको जिज्ञासामा समसामयिक विषयमा छलफल भएको हो भन्ने जवाफ दिइएको थियो । समय परिस्थिति हेर्दा आसन्न संकटबाट जोगिन र जोगाउनका लागि गोप्य भेटघाट थियोे भनी जनताले अड्कल काट्नु अस्वभाविक पनि होइन ।
वर्तमान परिप्रेक्ष्यमा पनि प्रधानमन्त्री दाहालको विवादित अभिव्यक्तिमा राजीनामा दिनुपर्ने कि नपर्ने पार्टीका शीर्ष नेताहरू त्यसैगरी बसेर त्यसरी नै टुङ्याउँदा उपयुुक्त हुन्छ । होइन भने स्वार्थ मिल्दा मिल्ने र नमिल्दा चिल्ने परिपाटीले फेरि भुमरीमा रिँगाउँछ । राजीनामाको विषय उठाएर कार्यकर्तालाई उचाले पनि संसद् अवरुद्ध गरे पनि जनता उरालेर आन्दोलनका नाममा सडकमा जात्रा गर्ने खेलोमेलो बन्द गरिनुपर्छ । अब आफ्नो काम धन्दा छोडेर कसैलाई सत्तामा चढाउन र कसैलाई झार्न जनतालाई सरोकार छैन, फुर्सद पनि छैन ।
प्रकाशित मितिः २३ असार २०८०, शनिबार १९:५९
उमालाल आचार्य ।