खेती प्रणालीमा सुधार

कृषकहरू यतिबेला ‘मानो रोपेर मुरी उब्जाउने’ उक्तिलाई सार्थक बनाउने अभियानमा जुटेका छन् । धमाधम रोपाइँ चलिरहेको छ । किसानहरूलाई धान रोप्ने चटारो छ । खेतहरूमा श्रम र पसिना बगाउँदै छन् । बिहानदेखि साँझसम्म कृषकहरू खेतमै भेटिन्छन् । खेतबारीको कामले भ्याइनभ्याइ छ । आफ्नो रोपाइँ साथसाथै छरछिमेकको परिमा । जे होस् रोपाइँ उत्सवको उत्साह छाएको छ । यद्यपि, यो वर्ष मनसुन ढिला सुरु भयो । मनसुन ढिला सुरु हुँदा रोपाइँ प्रभावित हुन पुग्यो । कृषकले समयमै धानको बीऊ राख्न पाएनन् । पानीको जोहो गरेर बीऊ राखेकाले पनि रोपाइँका लागि पर्याप्त पानी नहुँदा रोप्न पाएनन् । मनसुन भित्रिन ढिलाइ हुँदा रोपाइँमा समेत त्यसको असर परेको हो ।

मध्यअसार लागिसक्दासम्म कर्णाली प्रदेशमा करिब ४३ प्रतिशत मात्रै रोपाइँ भएको छ । जबकी विगतका वर्षहरूमा आधाभन्दा बढी रोपाइँ सकिएको हुन्थ्यो । विगतका वर्षहरूमा असार १५ अर्थात् धान दिवस मनाइरहँदा कर्णालीका अधिकांश क्षेत्रमा धान रोपाइँ सकिने गरेकोमा पछिल्ला वर्षहरूमा भने समयमै मल, बिउ र सिँचाइको उपलब्धता नहुँदा रोपाइँमा ढिलाइ हुँदै गएको छ । प्रदेशकै सबैभन्दा बढी धान खेती हुने सुर्खेत जिल्लामा हालसम्म दश प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा २७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । रोपाइँ नै ढिला हुँदा उत्पादनमा कमी आउने चिन्ता छ कृषकलाई । यद्यपि, साउन पहिलो सातासम्म धान रोप्न उपयुक्त समय भएकाले उत्पादनमा कुनै असर नपर्ने जानकारहरू बताउँछन् । विशेष गरेर सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतहरूमा रोपाइँ सकिएका छन् । अन्य स्थानमा चलिरहेको छ । सिँचाइको पर्याप्त सुविधा नभएका पहाडी जिल्लामा पनि धेरैजसो ठाउँमा धमाधम रोपाइँ भइरहेको छ ।

शुक्रवार देशभर धान दिवस मनाइएको छ । तर बिर्सन नहुने कुरा के छ भने हर्षोल्लासका साथ रोपाइँ गरिए पनि कर्णाली प्रदेश धानमा आत्मनिर्भर छैन । प्रदेशमा हरेक वर्ष खाद्य संकट हुन्छ । प्रदेशमा बर्सेनि झन्डै २६ हजार मेट्रिक टन खाद्यान्न अभाव छ । जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा खाद्यान्न अपुग हुने गरेको छ । कर्णालीमा तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । जब की अहिलेकै अवस्थामा यहाँ तीन लाख ४८ हजार सात सय ३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । यो अवस्थाको अन्त्य गर्न र अनुदान तथा आयाति चामलको आपूर्ति घटाउन धानको उत्पादकत्व वृद्धि गर्नेगरी खेती प्रर्णालीको सुधार र विकास गर्न जरुरी छ ।

प्रकाशित मितिः   १७ असार २०८०, आईतवार ०५:०३