कर्णालीमा ४३ प्रतिशत रोपाइँ
सुर्खेत: वीरेन्द्रनगर–२ की गोमा गिरीको चार कट्ठा खेत छ । जसमध्ये आधा रोपाइ सकिएको छ भने आधा बाँकी नै छ । विगतमा मध्यअसारसम्म रोपाइ सकिन्थ्यो । तर यस वर्ष पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेन । ‘खडेरीका कारण कुलोमा पानी आउन सकेन, बोरिङबाट तानेको पानीले जेनतेन बिउ राखे पनि रोपाइँ गर्न सकिएन’ उनले भनिन्, ‘यसपटक अघिल्ला वर्षमा भन्दा ढिला भयो ।’
समयमै मल नपाउने समस्या भोग्दै आएका किसानले यसपटक धान पनि प्रतिकूल मौसमका कारण समयमै रोप्न पाएनन् । वीरेन्द्रनगर–२ कै मिलन थापाले गतवर्षहरूमा यतिबेला रोपाइँ गरिसक्थ्ये । तर, यसवर्ष भने बल्ल रोपाइँ सुरू गरेका छन् । उनको दश कठ्ठा खेतमा मध्येअसारसम्म आधा मात्र धान रोपाइँ भएको छ । गएको वर्ष धान दिवस मनाइरहँदा उनले खेतमा धान रोपिसकेका हुन्थे । वर्षा ढिला हुँदा बल्ल रोप्न सुरू गरेको थापाले बताए । नजिकै नहर र कुलो भएका क्षेत्रहरूमा पनि कुलोको पानी खेतसम्म पुग्न नसकेको उनको अनुभव छ ।
वीरेन्द्रनगरका गोमा र मिलनको मात्रै होइन यस वर्ष कर्णाली प्रदेशभरका कृषकले विगतमाभन्दा ढिला रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिन ढिलाइ हुँदा रोपाइँमा समेत त्यसको असर परेको हो । मध्यअसार लागिसक्दासम्म कर्णाली प्रदेशमा करिब ४३ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायाका अनुसार गतवर्षको तुलनामा कम क्षेत्रमा धान रोपाइँ भएको हो । अधिकांश जमिनमा सिँचाइ सुविधा नभएको बताउँदै उनले मनसुन पनि ढिला प्रवेश गरेकोले कम रोपाइँ भएको उल्लेख गरे । मनसुन सुरु भएसँगै सुर्खेतका विभिन्न क्षेत्रमा रोपाइँ सुरु भएको उनको भनाइ छ । उनले भने, ‘गतवर्ष यो समयमा कर्णाली प्रदेशभर ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । यो वर्ष ढिलागरी रोपाइँ सुरु भएको छ ।’
विगतका वर्षहरूमा असार १५ अर्थात् धान दिवस मनाइरहँदा कर्णालीका अधिकांश क्षेत्रमा धान रोपाइँ सकिने गरेकोमा पछिल्ला वर्षहरूमा भने समयमै मल, बिउ र सिँचाइको उपलब्धता नहुँदा रोपाइँमा ढिलाइ हुँदै गएको छ । प्रदेशकै सबैभन्दा बढी धान खेती हुने सुर्खेत जिल्लामा हालसम्म दश प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा २७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । ढिलागरी मनसुन सुरु भएकाले धान रोपाइँ सोचेअनुसार हुन नसुकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए ।
रोपाइँ नै ढिला हुँदा उत्पादनमा कमी आउने चिन्ता छ कृषकलाई । वीरेन्द्रनगर–२ की बालसरा शर्मा मल र सिँचाइको अभावले समेत कृषकलाई समस्यामा पारेको बताउँछिन् । ‘धान रोपेर खेत हरियो बन्नुपर्ने बेलासम्म बल्लतल्ल रोपाइँ सुरु भयो’ शर्मा भन्छिन्, ‘जेठको अन्त्यसम्ममा रोपाइँ सकिन्थ्यो । अहिले मध्यअसार भइसक्दा समेत रोपाइँ सकिएको छैन ।’ ढिलागरी रोपाइँ हुँदा उत्पादन घट्ने पिरलो बालसरालाई छ । यद्यपि, साउन पहिलो सातासम्म धान रोप्न उपयुक्त समय भएकाले उत्पादनमा कुनै असर नपर्ने जानकारहरू बताउँछन् । यसवर्ष ढिलो गरी मनसुन सुरू भएपनि मनसुन सुरू भएपछि भने धमाधम रोपाइँ भइरहेको छ ।
यसैबीच कर्णाली प्रदेश सरकारले ‘अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस मनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि क्षेत्र विकास कार्यक्रमको आयोजना तथा साना किसान कृषि सहकारीको समन्वयमा दिवस मनाइएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. २ को दुवाली खेतमा बाजागाजासहित धान रोपेर दिवस मनाइएको हो ।
दिवसको अवसरमा बोल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले धान उत्पादन वृद्धिका लागि सरकारले विभिन्न अनुदानका कार्यक्रम राखेको बताइन् । सिँचाइ तथा नहर निर्माणका लागि कृषक, समूह र सहकारीलाई विशेष अनुदानमार्फत सेवा दिइरहेको उनको भनाइ छ । पछिल्लो समय जलवायूपरिवर्तनको चपेटामा कृषि क्षेत्र परेको भन्दै उनले यसका लागि विशेष योजनाका साथ सरकार अघि बढेको बताइन् । सिँचाइ पुगेको अवस्थामा मात्र उत्पादन वृद्धि गर्न सकिने भएकाले पहिलो प्राथमिकता सिँचाइलाई दिनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मितिः १६ असार २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।