लगानी बढाऊ
कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । भेरी र कर्णालीजस्ता ठूला नदी कर्णालीमै छन् । जसबाट पर्याप्त विद्युत उत्पादन गर्न सकिने सम्भावना छ । सम्भावना हुँदाहुँदै पनि विद्युत उत्पादनमा लगानी हुन सकेको छैन । केही प्रस्तावित आयोजनाहरु पनि लामो समयदेखि अलपत्र अवस्थामा छन् । सञ्चालनमा आउन सकेका छैनन् । केही आयोजना भने प्रक्रियामै छन् । सञ्चालनको तयारीमा अघि बढिरहेका छन् । कर्णाली प्रदेशमा प्रस्तावित सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माणका लागि पनि पूर्वसम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको पूर्वसम्भाव्यता (प्रि–फिजिविलिटी) अध्ययनको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको क्षेत्र निर्धारणको काम भने सम्पन्न भएको छ । स्थलगत काम पूरा गरेपछि उक्त विद्युत आयोजनाको क्षेत्र निर्धारणको काम पूरा भएको हो । आयोजनाका लागि प्रभावित क्षेत्र निर्धारण कार्यमा स्थलगत रूपमै पुगेर सरोकारवाला पक्षसँग छलफलसमेत गरिएको हो । क्षेत्रनिर्धारण र कार्यसूची प्रतिवेदन तयार गरेर विद्युत विकास विभागमा पेस गरिएको छ । विभागबाट प्रतिवेदन पास भए वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को अध्ययन सुरु हुनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ असारमा विद्युत उत्पादन कम्पनी लिमिटेडलाई सर्वे लाइसेन्स दिएको थियो । लाइसेन्स पाएपछि २०७५ फागुनबाट कम्पनीले पूर्वसम्भाव्यता अध्ययन सुरु गरेको हो । विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रमुख पाण्डेका अनुसार आयोजनाको कार्यालय बाजुराको बूढीनन्दा नगरपालिका वडा नं. ५ को बिरसैनमा स्थापना गरिनेछ । कार्यालय स्थापनका लागि करिब दुई सय रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । कम्पनीको अस्थायी प्रयोगशाला तथा कार्यालय बाजुराको पिलुचौरबाट सञ्चालन भइरहेको छ । हाल जलप्रवाह र सेडिमेन मापन कार्य भइरहेको छ । आयोजनाको प्रभावित क्षेत्रका लागि कर्णालीका चार र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला गरी पाँच वटा जिल्लाका एक नगरपालिका र ११ वटा गाउँपालिका छनोटमा परेका छन् । आयोजना निर्माण गर्न करिब चार खर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
कर्णाली नदीमा सबैभन्दा माथि निर्माण हुने आयोजना हो, यो । त्यसभन्दा तलतिर अरु आयोजनासमेत पहिचान भएका छन् । मुगु कर्णाली जलविद्युत आयोजना निर्माण सकिए त्यसभन्दा तलका आयोजनाहरूका लागि समेत फाइदा पुग्ने जनाइएको छ । विद्युत उत्पादन र त्यसको उपयोग तथा बिक्रीबाट कर्णाली प्रदेश र सिंगो देशले नै ठूलो आर्थिक लाभ लिन सक्दछ । त्यसैले सम्भावना भएको जलविद्युत उत्पादनमा लगानी गर्न र आयोजना निर्माणमा ध्यान दिन जरुरी देखिन्छ ।
प्रकाशित मितिः ११ असार २०८०, सोमबार ०५:०३
सम्पादकीय ।