सिमकोट विमानस्थल: दोस्रो पटक स्तरोन्नति हुँदै
सुर्खेत: हिमाली जिल्ला हुम्लाका लागि यातायातको मुख्य माध्यम नै हवाई सेवा हो । सहज सडक पहुँच नभएकाले अन्य जिल्लाहरूसँग हवाइमार्गले नै जोड्दै आएको छ । तर विमानस्थल पूर्वाधारसम्पन्न नहुँदा हवाई सेवा पनि सुरक्षित र भरपर्दो हुन सकेको छैन । जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था कायमै छ ।
विगत चार दशकदेखि हुम्लामा हवाई सेवा सञ्चालन हुँदै आएको छ । सदरमुकाममा रहेको सिमकोट विमानस्थल २०३६ सालबाट सञ्चालनमा आएको छ । २०३४ सालमा निर्माण थालेर २०३५ सालमा परीक्षण उडान गरिएको हो । त्यसको अर्को वर्षदेखि नियमित उडान थालिएको हो । सञ्चारमा आएको ४४ वर्ष भइसक्दा पनि विमानस्थलमा आवश्यक पूर्वाधारको निर्माण भने भएको छैन । पूर्वाधार विकाससहित सिमकोट विमानस्थल स्तरोन्नतिको पर्खाइमा छ ।
नियमित सञ्चालनमा आइसकेपछि २०६८ सालमा पहिलो पटक विमानस्थलको स्तरोन्नति गरिएको थियो । हिउँ परेको समयमा उडान अवरुद्ध हुन थालेपछि बाह्रै महिना सञ्चालनका लागि योग्य बनाउन स्तरोन्नति गरिएको हो । त्यसयता विमानस्थल नियमित रूपमा सञ्चालन भइरहेको छ । यद्यपि, अझै पनि थप स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको छ ।
यात्रुको चाप हुने विमानस्थलमा भौतिक संरचना जीर्ण अवस्थामा छन् । टर्मिनल टावरसमेत जीर्ण अवस्थामा रहेको विमानस्थल प्रमुख मोहन गिरीले बताए । उनका अनुसार हेलिकोप्टर पार्किङका लागि पनि पर्याप्त ठाउँ छैन । हेलिकोप्टरको संख्या वृद्धि हुँदा खाली जग्गामा पार्किङ गर्नुपर्ने बाध्यता रहेको गिरी बनाउँछन् । उनले भने, ‘जहाज पार्किङ गर्ने ठाउँ आधा भासिएको छ । अन्य संरचना पनि जीर्ण अवस्थामा छन् । हाल नयाँ एप्रोन निर्माणको काम भइरहेको छ । अब भने केही सहज हुनेछ ।’
विमानस्थलमा नयाँ एप्रोन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जहाज राख्ने ठाउँको रूपमा नयाँ एप्रोन निर्माण गर्न लागिएको हो । नागरिक उड्डयान प्राधिकरणको १५ करोड लगानीमा २०७५ सालदेखि नयाँ एप्रोन निर्माणको काम थालिएको हो । हाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार वटा जहाज राख्न मिल्नेगरी एप्रोन निर्माण गरिएको सिमकोट विमानस्थल आयोजनाका फिल्ड इन्चार्ज ईन्जिनीयर विद्यानन्दकिशोर शाहले जानकारी दिए । उनका अनुसार नयाँ एप्रोन निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । आउँदो असार मसान्तसम्म सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको शाहले बताए ।
सिमकोट विमानस्थलमा यात्रुको चाप देखेर नै स्तरोन्नतिका योजनाहरू एकसाथ निर्माणका क्रममा रहेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाले जनाएको छ । कैलाश मानसरोवरका लागि पर्यटकको चाप बढ्दा सिमकोट विमानस्थल भरीभराउ हुने गर्दछ । सिजनमा हवाई जामको समस्या समधान गर्ने विकल्पका रूपमा नयाँ एप्रोनलाई लिइएको छ । हाल सञ्चालनमा रहेको एप्रोनमा नियमानुसार तीन वटा जहाजलाई पार्किङ गर्नु पर्नेमा पाँच वटासम्म जहाज पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । त्यो सँगै अर्को हेलिकोप्टरको एप्रोनमा दशदेखि बाह्र वटा हेलिकोप्टर पार्किङ हुनेगरेको छ । असारमा नयाँ एप्रोनको काम सम्पन्न भए विमानस्थलमा तीन वटा एप्रोन हुनेछन् ।
त्यसैगरी विमानस्थलमा नयाँ घेरबारको काम पनि भइरहेको छ । पुरानो घेरबार जीर्ण भएको बेला नयाँ घेरबारको निर्माण कार्यले विमानस्थललाई सुरक्षा प्रदान गर्न सहज हुनेछ । पर्यटकीय सिजनमा दैनिक ४५ वटासम्म हवाईजहाजले नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने गरेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लामा दैनिक चार वटा जहाजले उडान गर्ने गरेका छन् । विमानस्थलको स्तरोन्नतिले हवाई सेवा सहज हुने विमानस्थल प्रमुख गिरी बताउँछन् ।
यसैबीच सहज रूपमा हेलिकोप्टर अवतरण गराउन हेलिप्याड बनाउने योजना अघि सारिएको छ । बाढीपहिरो, चट्याङ र अन्य विपद्का बेला आपतकालीन रूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याडको अवधारणा अघि सारिएको ईन्जिनीयर शाहले बताए । उनले भने, ‘आउँदो आर्थिक वर्षमो यो काम अघि सारिनेछ । त्यसका लागि तयारी भइरहेको छ ।’
प्रकाशित मितिः ३१ जेष्ठ २०८०, बुधबार ०५:०५
रजनी याेगी ।