विमानस्थलको विजोग
मुगु कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र पनि हो । देशकै सबैभन्दा ठूलो राराताल यहाँको पर्यटक आकर्षित गर्ने मुख्य स्थल हो । रारा ताल आन्तरिकका साथसाथै बाह्य पर्यटकसमेत आकर्षित गर्न सक्ने क्षेत्रको रूपमा स्थापित छ । तर तालसम्मको सहज पहुँच भने विकास भइसकेको छैन । सडक मार्ग सहज छैन । हवाई मार्ग पनि जोखिमपूर्ण छ । मुगुको रारा विमानस्थलमा आवश्यक पूर्वाधार नै निर्माण गरिएको छैन । आवश्यक पूर्वाधारको विकासविना नै विमानस्थल सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा आएको एक दशकभन्दा बढी भइसकेपनि विमानस्थलमा अझै पनि थुप्रै पूर्वाधारको विकास गर्नै बाँकी छ । सुधार हुनै बाँकी छ । स्तरोन्नतिका लागि गर्नुपर्ने काम धेरै नै छ ।
काठको टहरोमा उपकरण जडान गरेर टर्मिनल टावर बनाइएको छ । जीर्ण अवस्थामा रहेको टर्मिनल टावरकै भरमा एक दशकभन्दा लामो समयदेखि विमानस्थल सञ्चालन गरिएको छ । टर्मिनल टावर मात्रै होइन अन्य पूर्वाधारमा समेत सुधार भएको छैन । विमानस्थलमा घेरवार गरिएको छैन । घेराबार नहुँदा पशुचौपाया विमानस्थलमै पस्ने गरेका छन् । पशुचौपाया धपाएर जहाज अवतरण गराउने गरिएको छ । विमानस्थलसम्म पुग्ने सडकको समस्या समस्या छ । नागरिकलाई विमानस्थलसम्म पुग्नका लागि सहज बाटोको निर्माण हुन सकेको छैन । बाटो नहुँदा धावनमार्गबाटै ओहोर–दोहोर गर्नुपरिरहेको छ । सुरक्षा जाँच कक्ष पनि काठको टहरोमा बनाइएको छ । यात्रुहरूको सामान चेकजाँचदेखि, तौल लिने र ट्याग लगाउने काम त्यहीँ टहरामा हुन्छ । यात्रु बस्नका लागि पनि व्यवस्थित संरचना बनाइएको छैन । काठको सामान्य बेन्चमा घण्टौँसम्म बस्नुपर्ने बाध्यता छ । विमानस्थलमा जहाज पर्खन यात्रु आरामकक्ष नहुँदा ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका तथा असहाय यात्रुहरूलाई समस्या हुने गरेको छ ।
पूर्वाधार अभावकैबीच पनि डेढ दशकदेखि विमानस्थल सञ्चालनमा छ । २०३६ सालबाट विमानस्थल निर्माणको काम थालिएको थियो । २०५५ सालमा विमानस्थल निर्माण सम्पन्न भयो । त्यसको पाँच वर्षपछि मात्रै परीक्षण उडान गरिएको थियो । परीक्षण उडान सफल भएपछि २०६३ देखि नेपाल एयरलाइन्सले उडान भर्न सुरु गरेको हो । तर रारा आउने पर्यटकलाई लक्षित गरी बनाइएको विमानस्थलको अवस्था फेरिन सकेको छैन । पूर्वाधार निर्माणको काम अधुँरो हुँदा पटक–पटक जहाज अवतरणमा समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम बढिरहेको छ । टर्मिनल टावर र कन्ट्रोल भवन बनाउन बजेट विनियोजन गरिए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । विमानस्थलको स्तरोन्नतिमा सम्बन्धि निकायको ध्यान पुग्न जरुरी छ ।
प्रकाशित मितिः ३१ जेष्ठ २०८०, बुधबार ०५:०३
सम्पादकीय ।