‘मृत्यु जितेर बाँच्ने रहर पलायो’

1सुर्खेत, ६ माघ ।
हातमा फोका उठे । खुट्टामा घाउ आए । केही गरे निको नभएपछि आफन्त र गाउँलेले धामीलाई देखाए । विस्तारै उनका हात खुट्टामा रहेका घाउ ठूला भए । सबैले पूर्व जन्मको पाप भन्दै उपचारमा ध्यान दिएनन् । लामो समयसम्म निको नै नभएपछि गाउँलेले उनलाई छोइछिटो गर्न थाले । यही पीडाले गर्दा उनको बाँच्ने रहर म¥यो ।
समयमा नै उपचार नपाउँदा रुकुम झुलागाउँकी कौशिला जैसी कुष्ठरोगले थला परिन् । हात र खुट्टाका औंला नै काटेर फालियो । जीवनसँगै हार खाएकी उनलाई उपचारका लागि सुर्खेत ल्याइयो । लामो समयदेखि उपचार गराइरहेकी उनै कौशिलालाई हिजोआज भने धेरै बाँच्ने रहर पलाएको छ । उनी भन्छिन्, ‘गाउँमा त बाँच्ने रहर मरिसकेको थियो, कोही नजिक आउँदैनथे । हिँड्डुल गर्नै मुस्किल हुन्थ्यो, तर अहिले त मलाई धेरै वर्ष बाँच्न मन लागेको छ ।’
वीरेन्द्रनगरस्थित आईएनएफको पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेकी कौशिला आफ्नो विगत सम्झेर अहिले पनि टोलाउँछिन् । ‘धामीले त निको हुँदैन भन्थे, गाउँलेले पनि पाप गरेकाले यस्तो अनर्थ भयो भने’ आफ्नो निको हुँदै गरेको घाउ देखाउँदै उनले थपिन्, ‘औषधिले निको हुने रहेछ, पहिले नै अस्पताल आएको भए मेरा हातखुट्टा यस्ता हुने थिएनन् । अब त निको हुन लागेको छ, गाउँमै गएर आफन्तसँग सुख–दुःख गर्ने हो ।’ उनले बोलिरहँदा उनको मुहारमा खुशी झल्कन्थ्यो । कुष्ठरोगका कारण कौशिलाको हात र खुट्टाको औंला नै काटेर फालिएको छ । तर पनि वैशाखीको सहारामा आउजाउ गर्दै आएकी उनले अझै धेरै बाँच्ने अठोट गरेकी छन् । गाउँमा फर्केर यो रोग निको हुन्छ भन्ने सन्देश दिने उनको इच्छा छ । उनले आफ्नो आउँदो सुन्दर भविष्यको सपना बुनिरहेकी छन् ।
जाजरकोटका रतन टमाटाले पनि धेरै वर्षसम्म आफ्नो समस्या लुकाए । गाउँलेले हेला गर्लान् भन्ने पिरले रोग लुकाउँदा झन् बल्झियो । आफन्तले धामीझाँक्रीको भरमा उपचार गरेनन् । विस्तारै गाउँलेले थाहा पाए, र उनको नजिकसमेत परेनन् । गाउँलेहरू आफूलाई देखेर भाग्न थालेपछि उनलाई बाँच्नुको कुनै अर्थ छैन जस्तो लाग्यो । ‘परिवारलाई अनावश्यक झमेला, गाउँलेले पनि हेला गरे’ उनले भने, ‘त्यो बेलाको पीडा सम्झँदा त अहिले पनि शरीरमा काँडा फुल्छ, कसको लागि बाँच्नु जस्तो लाग्थ्यो । तर भगवान पनि रहेछन्, ढिलै भए पनि अस्पतालमा आउने मौका पाएँ ।’ अहिले नियमित औषधि सेवन गर्दै आएका उनी बेलाबेलामा गाउँ पनि जान सक्ने भएका छन् । रोग विस्तारै निको हुन थालेपछि उनमा आत्मबल बढेको छ । अब त परिवार र आफन्तका लागि भए पनि बाँच्नुपर्छ उनले भने ।
कुष्ठरोगले छोएपछि अछामका मनिराम उपाध्यायले पनि जीवन नै समाप्त भएको ठानेका थिए । आफ्नै जीवन आफैलाई भारी भए जस्तो लाग्थ्यो उनले भने, ‘सुरुमा त समाजमा मुख देखाउनै सकिन, सबैले हेलाको दृष्टिले हेरे ।’ जीवनदेखि निराश भएका मनिराम जब उपचारका लागि भर्ना भए, तब उनले जीवनको अर्को रूपरेखा देखे । ‘गाउँलेले निको हुँदैन भनेपछि बाँच्ने आश मारेको थिएँ’ उनले भने, ‘अहिले त नयाँ जीवन पाएको छु, अब त म केही गर्नसक्छु ।’ माथि उल्लेखित पात्रहरू त केवल प्रतिनिधि मात्र हुन् । मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका कुष्ठरोगले थलिएपछि जीवनसँगै हार खाएका बिरामीहरूमा अहिले बाँच्ने रहर पलाएको छ । अन्धविश्वासका कारण समयमा नै उपचार नगराउने र रोग लुकाउने संस्कारका कारण यो रोगका बिरामीहरू बढ्दै गएका हुन् । अर्कोतर्फ बिरामीले समयमा नै उपचार नपाउने समस्या रहेको छ ।
आईएनएफ सुर्खेतका अनुसार मध्यपश्चिमको सुर्खेतमा सबैभन्दा धेरै नौ जना व्यक्तिहरूमा कुष्ठरोगको संक्रमण देखिएको छ । यसक्षेत्रका अन्य जिल्लामा गरी जम्मा २१ जना कुष्ठरोगका बिरामीहरू भेटिएका छन् । आईएनएफ सुर्खेतका क्लिनिक इन्चार्ज मंगल थारुले वीरेन्द्रनगरमा रहेको आईएनएफको पुनस्र्थापना केन्द्रमा हाल ६७ जना बिरामी उपचार गराइरहेको जनाए । उनले भने, ‘पुनस्र्थापना केन्द्रमा आएपछि बिरामीको उपचार हुन्छ, निको भएपछि मात्र उनीहरू फिर्ता हुन्छन् ।’ कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रा नामको सुक्ष्म किटाणुबाट सर्ने गर्दछ । कुष्ठरोग वंशाणुगत या दैवी अभिशाप नभएको बताउँदै उनले थपे, ‘नियमित औषधि सेवन गर्दा यो रोग निको हुन्छ ।’ उनले शरीरको कुनै भागमा लाटो फुस्रो दाग देखिएमा, पसिना नआएमा, रौंहरू झर्दै गएमा, गिर्खा देखिएमा, शरीरका पाँच ठाउँभन्दा बढीमा दाग देखिएमा र हातका औंलाहरू लाटो हुँदै गएमा कुष्ठरोगको लक्षण हुनसक्ने बताए ।

प्रकाशित मितिः   ७ माघ २०७३, शुक्रबार १६:५८