नागरिकका योजना, पालिकाको बजेट

बस्तीस्तरबाट आएका सुझावअनुसार बजेट बनाउँदै स्थानीय सरकार

सुर्खेत: रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्षको योजना र कार्यक्रम तयार गर्न बस्तीस्तरबाट सुझाव संकलन ग¥यो । नागरिकले दिएको सुझावका आधारमा योजना समेटेर आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजन गर्ने तयारी भइरहेको नगरपालिका प्रमुख पुष्प बादीले जनाए ।

उनका अनुसार नगरपालिकाले वैशाखको अन्तिसम्म सबै वडा पुगेर बस्तीस्तरको योजना छनोट सम्पन्न गरेको छ । सुझावकै आधारमा जनताको आयआर्जनसँग प्रत्यक्ष जोडिएका सवाललाई प्राथमिकतामा राखेर योजना बनाउन लागिएको उनले बताए । ‘वडाहरूले नागरिकका आवश्यकताका आधारमा योजना छनोट गरेर पठाएका छन्’ वादीले भने, ‘पालिकाको विषयगत शाखामा छलफल भइरहेको छ ।’

१४ वटै वडाले नागरिकबाट आएका सुझावका आधारमा योजना छनोट गरेकाले नयाँ योजना बनाउन सहज हुने वादी बताउँछन् । ‘यो पटक पूर्वाधार विकासलाई भन्दा सामाजिक रूपान्तरणका कार्यक्रममा जोड दिएका छौँ । चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आउने भएपछि निश्चित समयमा सम्पन्न हुने खालका कार्यक्रमलाई प्राथमिकतामा राखेका हाँै’ उनले भने ।

यस्तै दैलेखको नौमुले गाउँपालिकाले जेठको पहिलो सातामा नै बस्तीस्तरमा योजना छनोट गरिसकेको छ । गाउँपालिकाले स्वरोजगारमार्फत उत्पादन वृद्धि हुने खालका योजनालाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, रोजगारी सिर्जना हुने खालका योजनालाई अघि सारिएको गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदीले बताए । उनका अनुसार आगामी वर्षमा प्रतिफल देखिने खालका कार्यक्रमलाई मात्र प्राथमिकतामा राखिने छ । युवा, महिला, लक्षित वर्गलाई तालिममार्फत स्वरोजगार बनाउने, शैक्षिक क्षेत्रको सवलीकरण, स्वास्थ्य सेवा प्रणालीमा सुदृढीकरण, दिगो भरपर्दो पूर्वाधार निर्माणमा जोड दिइने छ । उनले भने्, ‘बस्तीस्तरबाट योजना छनोट भएर आएका छन् । त्यसैका आधारमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट विनियोजन गरिने छ ।’

बस्ती–बस्तीमा पुगेर वडाले छनोट गरी पठाएका योजनाहरूमाथि अहिले गाउँपालिकाका सम्बन्धित शाखा र उपशाखामा छलफल भइरहेको छ । सुबेदीका अनुसार विषयगत शाखाबाट छलफल भएपछि कार्यपालिका हुँदै गाउँसभामा बजेट लैजाने गरी तयारी थालिएको छ । बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिइएको उनले बताए ।

दैलेखकै नारायण नगरपालिकाले आगामी बजेटमा आयआर्जन र उत्पादनशील कार्यक्रमलाई प्राथमिकतामा राख्ने भएको छ । चालु आर्थिक वर्षमा पूर्वाधारका कार्यक्रमलाई प्राथमिकतामा राखेको पालिकाले आगामी आर्थिक वर्ष नागरिकलाई प्रत्यक्ष लाभ हुनेखालका कार्यक्रमलाई अघि बढाउने भएको हो । नगरपालिकामा ६ सय घरधुरी गरिबीको रेखामुनि छन् । लक्षितवर्ग विशेष कार्यक्रमलाई उत्पादनसँग जोडेर नीति तथा कार्यक्रम र बजेटको व्यवस्थापन गरिने नगरप्रमुख लोमन शर्माले बताए । ‘नगरपालिकाका सबै वडाबाट योजना छनोट भएर आएका छन्’ उनले भने, ‘बस्तीस्तरबाट योजना वडा हुँदै पालिकामा आएका छन् । ती योजनाहरूको विभिन्न विषयगत शाखामा अहिले छलफल भइरहेको छ ।’

नारायण नगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउनेगरी तयारी थालेको छ । स्थानीय आवश्यकताको पहिचान बस्तीकै नागरिकहरूले छनोट गरेर पठाएकाले त्यसैबमोजिम बजेटको व्यवस्था गर्ने उनको भनाइ छ । बस्तीस्तरमा योजना छनोट गर्दा सबै क्षेत्रको समावेशी सहभागिता हुने भएकाले बस्तीस्तरमा नै पुगेर योजना छनोट गर्ने गरिएको नगरपालिकाले जनाएको छ । बस्तीतहबाट आएका मागहरूलाई प्राथमिकरण गरिने उनले बताए ।

सुर्खेतको लेकवेशी नगरपालिका पनि आर्थिक वर्ष २०८०/०८१ का लागि योजना बनाउने कार्यमा जुटिसकेको छ । वडास्तरमा छलफल भएर योजना नगरपालिकामा आइपुगेकाले विषयगत कार्यालयको योजना तर्जुमाको छलफल सुरु गरेको नगरप्रमुख उमेशकुमार पौडेलले बताए । विषयगत कार्यालयबाट आउने योजना र वडास्तरका योजनाका आधारमा नगरपालिकाले समग्र नगरपालिकाको योजना बनाउने भएको छ । वडास्तरबाट खानेपानी, शिक्षा, बाटो, बत्तिको माग आएका छन् । महिला तथा बालबालिका, पर्यटन र कृषिलाई समावेश गर्ने गरी योजना वडाबाटै आइपुगेका छन् । प्रदेशको बजेट विनियोजन भइसकेपछि नगरपालिकाको बजेट बन्ने आधार निर्माण हुने बताउँदै प्रमुख पौडेलले अहिले वडा र विषयगत कार्यालयको योजना तर्जुमा गर्न लागि परेको बताए ।

यतिबेला कर्णाली प्रदेशका अधिकांश स्थानीय तहहरूले बस्तीस्तरका योजना संकलन गरिसकेका छन् । सोहीअनुसार नै नीति तथा कार्यक्रम र बजेट बनाउने तयारी गरेका छन् । पूर्वाधार विकास प्राथमिकतामा पर्ने गरेको स्थानीय सरकारले अब भने सामाजिक रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्ने जनाएका छन् ।

प्रकाशित मितिः   १५ जेष्ठ २०८०, सोमबार ०५:०५