तरकारी खेतीबाट लाखौँ आम्दानी
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ की आशा घिमिरे आधुनिक तरिकाले तरकारी खेतीमा संलग्न छिन् । ३० वर्षीया घिमिरे युवा कृषक हुन् । पाँच वर्षदेखि उनले व्यावसायिक रूपमा तरकारी खेती गरी गतिलो आम्दानी गर्न सफल भएकी छिन् । बारीमा उत्पादित तरकारी बेचेर वार्षिक रूपमा आठ लाख बढी आम्दानी गर्दै आएको घिमिरेले बताइन् । ‘विगतमा परम्परागत तरिकाले तरकारी खेती गर्दा मुस्किलले वर्षमा ५० हजारदेखि ६० हजार मात्रै आम्दानी हुन्थ्यो’ उनले भनिन्, ‘आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा चार गुणाले बढेको छ ।’
एकीकृत कृषि समूहमा आवद्ध भएपछि उनले तालिमसँगै अनुदानमा थोपा सिँचाइसहितको तीन वटा प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेट पाएकी छिन् । कृषि निर्देशनालय सुर्खेतले उनलाई टनेललगायतका सामग्री दिएको हो । तरकारी खेतीका लागि आधुनिक तौरतरिकासँगै कृषि औजार र उपकरण पाएपछि व्यावसायिक खेतीलाई अगाडि बढाउन हौँसिएकी छिन् । दुई बिघा जग्गामा घिमिरेले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएकी छिन् । घिमिरेसँगै एकीकृत कृषि समूहमा आवद्ध ६० जनामध्ये २५ जना किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । अन्य किसान मौसमी तरकारी खेतीमा संलग्न छन् ।
तरकारी खेतीलाई आफूलाई त स्वरोजगार बनाएको छ, सँगै अरुलाई पनि राजगारी सिर्जना भएको छ । घिमिरेले भनिन्, ‘दैनिक चार जनाले बजारमा तरकारी लिएर बिक्री गर्नुहुन्छ । कहिलेकाहीँ तरकारी धेरै हुँदा सात जनासम्मले काम गर्नुहुन्छ ।’ बेमौसमी तरकारी खेतीबाट आम्दानी राम्रो हुनेगरेको घिमिरे बताउँछिन् । उनी भन्छिन्, ‘तरकारी खेती गर्नुअघि परम्परागत रूपमा लगाइने अन्नबालीमा निर्भर थियौँ । त्यसबाट परिवारको खर्च चलाउन निकै धौ–धौ थियो । व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि अनुभव बटुल्दै जाँदा आम्दानी पनि चाहेअनुरूप हँुदै गएको छ ।’
तरकारी खेतीबाट आएको पैसाले घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च चलाउन सहज भएको आशाले बताइन् । बचेको पैसा बैंक र गाउँको सहकारीमा बचत गर्दै आएको भन्दै उनले आर्थिक रूपमा सशक्त बनेको बताइन् । बारीमा उत्पादित तरकारी बेच्नका लागि समस्या नरहेको उनको भनाइ छ । बजार चहार्दै हिँड्नुनपर्ने भएकाले भनेकै मुल्यमा तरकारी बिक्री हुनेगरेको छ । बारीमा लगाइएको तरकारी बेच्नका लागि तयार भएपछि बजारमा चलनचल्तीको दररेटमै बारीबाट तरकारी डोको मार्फत पसलमा लिने गरिएको छ । आधाभन्दा धेरै तरकारी गाउँमै बिक्री हुने गरेको छ । घिमिरेको बारीमा बेमौसमी तरकारीमा करेला, चिचिण्डा, खुर्सानी, लौका, काँक्रा, बोडी, बन्दागोभी, भाण्टा, भेडे खुर्सानीलगायत लटरम्म फलेका छन् ।
यस्तै वीरेन्द्रनगर–३ का श्याम पुरीले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको दश वर्ष भयो । उनी एक सफल कृषक हुन् । उनको बारीमा लटरम्म बेमौसमी तरकारी फलेको छ । करिब दुई बिघा जमिनमा तरकारी खेती गर्दै आएका छन् । जसबाट वार्षिक आम्दानी १५ देखि २० लाख हुन्छ । उनको बारीमा हाल करेला, चिचिण्डा, खुर्सानी, लौका, काँक्रा, बोडी, बन्दागोभी, भाण्टा, भेडे खुर्सानी उत्पादन भइरहेको छ । बजारको समस्यासमेत छैन । उनी भन्छन्, ‘मेरो बारीमा अहिले बन्दा बिक्री भएको छैन । अन्य तरकारी त घरमै लिन आउँछन्, बिक्री गर्न समस्या छैन ।’
पुरीले तीन जनालाई दैनिक रोजगारी दिएका छन् । तरकारी टिप्ने, बजारसम्म पु¥याउने, गोडमेल गर्ने र सिँचाइ गर्नका लागि मासिक तलबको व्यवस्था गरेर काममा लगाएको बताए । सिँचाइको राम्रो प्रबन्ध रहेको उनको बारीमा अन्य ठाउँको तुलनामा दोब्बरले तरकारी फल्ने गर्छ । पुरी भन्छन्, ‘तरकारी खेतिसँगै च्याउ खेती पनि गरेको छु । च्याउमा कालो ढुसीको समस्या देखिएको छ । यो वर्ष राम्रो उत्पादन हुन सकेन । बेमौसमी तरकारी भने राम्रो उत्पादन भइरहेको छ ।’
प्रकाशित मितिः १४ जेष्ठ २०८०, आईतवार ०५:०५
रजनी याेगी ।