महामारीको सङ्केत

मौसम परिवर्तनसँगै दैलेखमा केही दिन यता बालबालिकाहरूमा नयाँ रोगको संक्रमण देखा परेको छ । अघिल्लो वर्ष जाजरकोटमा पनि मौसमी रोगको संक्रमणले महामारीको रूप लिएको थियो । हरेक वर्ष मध्यपश्चिमका केही जिल्लाहरूमा केही न केही प्रकोप देखिने गरेको छ । कहिले झाडापखाला तथा हैजाको प्रकोप त कहिले स्वाइनफ्लूबाट ग्रस्त हुन्छन् यस क्षेत्रका जिल्लाहरू । समयमा नै ध्यान नदिदा यसअघि यी जिल्लामा थुप्रै व्यक्तिले ज्यान गुमाएका छन् । सामान्यतया मौसम परिवर्तन र वर्षायाममा त्यस्ता रोगहरूले संक्रमणको लागि उपयुक्त वातावरण फेला पारे पनि विभिन्न कारणले हुने यो रोगले कुनै पनि समयमा भीषण स्वरूप लिने खतरा रहन्छ । गत वर्ष स्वाइनफ्लूको महामारीले आकार लिएको जाजरकोटको सीमावर्ती जिल्ला दैलेखमा यसपटक झाडापखाला जस्तै लक्षण देखिएको रोगले आक्रामक स्वरूप लिइसकेको छ र समयमा त्यसलाई नियन्त्रित गर्न नसकेमा उसले महामारीकै आकार लिने देखिन्छ । हालसम्म रोगको पहिचान हुन सकेको छैन । शंका र लक्षणको आधारमा उपचार भइरहेको छ । पाँच वर्ष मुनीका बालबालिकाहरू मात्र बिरामी भएका छन् । 
अहिलेसम्म दुई शिशुहरूको मृत्यु भइसकेको छ तोलीजैसी गाविसमा र अन्य दुई दर्जन बढी बालबालिकाहरू सिकिस्त छन् । अस्पताल सुविधाको न्यूनता छ र पर्याप्त मात्रामा औषधी उपलब्ध नहुने खतरा बढ्दो छ । त्यसैले अहिले सिकिस्तमध्ये केहीलाई नेपालगन्ज अस्पताल पु¥याइएको छ । दुई शिशुको ज्यान गइसकेको अवस्थामा सम्भवतः फेरि सरकारले शुद्ध र प्रदूषणरहित पेय जलको सहज र सुलभ वितरणलाई समयबद्ध हिसाबले सुनिश्चित गर्नु आवश्यक छ, यद्यपि त्यसमा केही समय लाग्नेछ । तर महŒवपूर्ण कुरा तत्काल प्रभावितहरूलाई विना कुनै ढिलाइ प्रभावकारी उपचार प्रदान गर्नु र प्रभावितहरूको संख्या बढ्न नदिनु या रोग संक्रमित हुन नदिनु हो । यो रोग संक्रमित हुने र ब्याक्टेरियाबाट फैलिने हुँदा तत्काल त्यसको स्रोत पत्ता लगाई रोग संक्रमण नियन्त्रण गर्नेतर्फ सरकार नलागे त्यसले महामारीको आकार लिने सम्भावना बढ्छ नै । त्यसैले तत्काल स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन र स्वास्थ्य केन्द्रहरूबीच प्रभावकारी समन्वय गरी निरोधात्मक र उपचारात्मक रणनीति निर्धारण गर्नु आवश्यक देखिन्छ । काठमाडौं तथा अन्य क्षेत्रीय अस्पतालहरूबाट डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूसँग पर्याप्त औषधि, सलाइन आपूर्ति सहज गराउने काम अहिलेसम्म भएको छैन । यसमा निजी अस्पतालको भूमिका र योगदान पनि अपेक्षित हुन्छ ।
अर्को, केही अपवाद छोडेर नेपालका राजनीतिक नेताहरू आम जनताका समस्याप्रति उदासीन नै छन् । जाजरकोटमा गत वर्षको महामारीमा अपवादस्वरूप नै कांग्रेसका सांसद राजीव शाहले आफ्नै स्रोतबाट बिरामीलाई भरपर्दो सहयोग पु¥याएका थिए । अहिले कांग्रेसले आफ्ना शीर्षस्थ नेता सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जली र महाधिवेशनको तयारी एक किसिमले समानान्तर रूपमा अगाडि बढाइरहेको छ । त्यो अवस्थामा सामान्यतया उपेक्षित एउटा जिल्लाका केही गाउँमा फैलिएको संक्रमणबारे सोच्न के कांग्रेसका ती नेताहरूसँग समय होला ? जनप्रतिनिधिहरूको चासोले प्रशासन संवेदनशील हुन र महामारी रोकथामका लागि आवश्यक कारबाही दक्षताका साथ उठाउन दबाब बन्नेछ । स्वास्थ्यकर्मीहरूको त्यसतर्फको यात्रासँगै दुर्गम दैलेखबाट बढी सुगम क्षेत्रमा बिरामीको ओसारपसार सहज भएको छ । यी सबै अनुकूल परिस्थितिलाई ध्यानमा राख्दा थप आक्रान्तहरूको मृत्यु प्रशासनिक उदासीनता र लापरबाहीबाट भएको भन्ने नकारात्मक सन्देश जनमानसमा फैलिन सक्छ । तसर्थ सबै हिसाबले यो रोगलाई तत्काल नियन्त्रित गर्न र प्रभावितहरूको ज्यान बचाउन सरकार र प्रशासनले तत्काल वाणी र व्यवहारबाट सबैलाई आश्वस्त गर्न सक्नुपर्दछ ।