सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

सुर्खेत: वीरेन्द्रनगर–१२ मा रहेको अमरज्योति नमुना माध्यमिक विद्यालयमा गत वर्षको तुलनामा यसपक विद्यार्थी संख्या दोब्बरले वृद्धि भएको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार कक्षा ६ मा मात्र यो वर्ष एक सय ७५ जना नयाँ विद्यार्थी भर्ना भएका छन्, जुन अघिल्ला वर्षको तुलनामा दोब्बर हो ।

यसैगरी कक्षा ७ मा नयाँ शैक्षिक सत्रमा ५० जना नयाँ विद्यार्थी थपिएका छन् । सात कक्षामा जम्मा दुई सय विद्यार्थी छन् । विद्यार्थीको चाप बढ्दा कक्षा कोठाको अभाव हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए । उनले भने, ‘गत वर्षहरूमा २०÷२५ नयाँ विद्यार्थी हुन्थे, यो वर्ष एक सयभन्दा बढी एउटै कक्षामा थपिए । उनीहरूलाई कसरी व्यवस्थापन गर्ने, भवनको अभाव छ ।’

अमरज्योतिमा कक्षा १२ सम्म पढाइ हुन्छ । कक्षा १ देखि १० सम्म अहिले करिब १७ सय विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा स्थायी शिक्षक २५ जना छन्भने करार गरी कक्षा ४५ जना शिक्षक रहेका छन् । विद्यालयमा विद्यार्थीको चाप बढेसँगै भौतिक पूर्वाधारको अभाव छ । प्रधानाध्यापक थापाले एउटै कक्षामा ६०÷६१ जना विद्यार्थी राखेर पढाउन बाध्य भएको जनाए ।

श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममामा विद्यार्थीको संख्या बढेको छ । विद्यार्थीको चाप हरेक वर्ष बढ्दो क्रममा रहेको प्रधानाध्यापक लोकबहादुर खत्रीले बताए । उनका अनुसार यो वर्ष मात्र कक्षा ५ मा ३९, कक्षा ६ मा ४७, कक्षा ८ मा ७० जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यार्थीको संख्या बढेपछि एकातिर कक्षाकोठाको अभाव भएको छ भने अर्कोतर्फ पर्याप्त शिक्षक पनि छैनन् । एउटा कक्षामा धेरै विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको उनले बताए । आएका विद्यार्थीलाई फर्काउन पनि नसकिने, सीमित स्रोत साधनका बीच अध्यापन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक खत्रीको भनाइ छ ।

विद्यालयले प्रत्येक कक्षामा तीन/चार सेक्सनमा पठनपाठन गराइरहेको छ । नयाँ शैक्षिक सत्रमा कक्षा आठसम्म मात्र विद्यार्थी भर्ना लिएको थियो । भवन अभावको कारण कतिपय कक्षामा सेक्सन समेत छुट्याउन नसकिएको प्रधानाध्यापक खत्रीले बताए ।

भौतिक संरचना र पर्याप्त जनशक्ति नभएको भन्दै जन माध्यमिक विद्यालयले यसपटक थोरै संख्यामा मात्रै नयाँ विद्यार्थी भर्ना गर्‍यो । विद्यालयका प्रधानाध्यापक याम श्रेष्ठले भौतिक स्रोत–साधन र जनशक्ति अभावमा नयाँ विद्यार्थी सीमित मात्र लगिएको बताए । नयाँ शैक्षिक सत्रमा बालविकास, कक्षा ६ र ९ मा मात्र बाहिरबाट विद्याथी भर्ना गरिएको उनले बताए ।

भौतिक पूर्वाधार, जनशक्तिको क्षमताका आधारमा भर्ना लिने गरेको श्रेष्ठले बताए । जनमाविमा कक्षा १ देखि १० सम्मका विद्यार्थीको संख्या दुई हजार छ । श्रेष्ठले भने, ‘यही भौतिक संरचनामा अब हामी यो भन्दा बढी विद्यार्थी पढाउन नसक्ने अवस्थामा पुगेका थियौँ । यस वर्ष भर्नाको लागि आएका धेरै विद्यार्थीलाई हामीले फिर्ता गर्नुप¥यो । योभन्दा बढी विद्यार्थी अब विद्यालयले धान्नै नसक्ने अवस्था सिर्जना भएको छ ।’

पछिल्लो समय वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप निकै बढिरहेको छ । सुर्खेतकै ग्रामीण क्षेत्रका साथै कर्णाली प्रदेशका अन्य जिल्लाहरूबाट पनि बर्सेनि ठूलो संख्यामा विद्यार्थी वीरेन्द्रनगर आउने गरेका छन् । अन्यत्रभन्दा सुविधासम्पन्न र शैक्षिक गुणस्तर हुने भन्दै अभिभावकहरू पनि सदरमुकामकै विद्यालय रोज्ने गरेका छन् ।

विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन हुनु, शैक्षिक गुणस्तर राम्रो भएकाले पनि अभिभावकको रोजाइमा सामुदायिक विद्यालय परेको हो । यहाँका अधिकांश विद्यालयमा अहिले अंग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ । गतवर्ष कक्षा ६–१० सम्म अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको इत्राममा यो वर्षदेखि ५ देखि १० सम्म अंग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको छ । शैक्षिक गुणस्तरमा नाम चलेको विद्यालयको रूपमा रहेको जनमाविले कक्षा १ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा पठनपाठन गर्दै आएको छ ।

निजीबाट सामुदायिकतर्फ

सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यममा पढाइ सुरु भएपछि विद्यार्थी संख्या बढ्न थालेको छ । सामुदायिक विद्यालयका शिक्षकहरूले पनि त्यही अनुसार मेहनत गर्दै गएका छन् । प्रधानाध्यापकले आफ्नो भूमिका कसिलो बनाउँदै लगेका छन् । अहिले विद्यालयको अवस्था फेरिएको छ । विद्यालयमा विद्यार्थी संख्या बढेर दोब्बर पुगेको छ । सामुदायिक विद्यालयका कक्षा कोठामा विद्यार्थी संख्या थामिनसक्नु भएपछि कक्षा–कक्षामा चार–पाँच वटा सेक्सनमा पढाइ हुने गरेको छ ।

सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढ्दै गएको शिक्षाका लागि राष्ट्रिय अभियानका कर्णाली प्रदेश संयोजक भूपेन्द्र कँडेलले बताए । उनका अनुसार बोर्डिङ स्कूल छोडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको लर्को ठूलै देखिएको छ । यो शिक्षा क्षेत्रमा आएको परिवर्तन भन्न सकिन्छ । राजधानीको नगरपालिका भित्रका सामुदायिक विद्यालय भएकाले, शिक्षाको गुणस्तरमा अभिभावकको विश्वास, विद्यालयको सिकाइप्रति अभिभावक र विद्यार्थीको सन्तुष्टी लगायतका कारणले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद लम्सालले बताए । अघिल्ला वर्षको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप उच्च रहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   ९ जेष्ठ २०८०, मंगलवार ०५:०५