हिउँमाथि ‘हिरा’को खोजी

जुम्ला: पातारासी गाउँपालिकाको शङ्कर झरनाबाट बग्ने खोला किनारमा भेटिएको सात जनाको समूह पाटन उक्लदै छ । वर्षभरीको घरखर्च जुटाउन जुम्लाका गाउँगाउँबाट यार्सा टिप्न पाटन पुग्नेहरूको लर्को छ । समुन्द्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाईमा पाइन्छ, हिमाली हिरा, अर्थात् यार्सागुम्बा । यहाँका नागरिकको जीविका धान्ने आम्दानीको स्रोत हो, यार्सागुम्बा ।

पाटन भरिँदै, गाउँ रित्तिदै

यार्सागुम्बा आम्दानीको स्रोत त हो, तर यसको संकलन सहज भने छैन । निकै मुस्किलहरूसँगको मुकाबिला गर्नुपर्छ । जति उचाइमा पुग्यो त्यति हिँड्न मुस्किल पर्छ, अक्सिजनको अभावले दम बढ्न थाल्छ । महिनौंसम्म पाटनमै बास बस्नु सजिलो हुने कुरै भएन । तर महिनादिन पुग्ने खाद्यान्न बोकेर उनीहरू पाटन पुग्छन् । घोडा र खच्चरमा खाद्यान्न पाटन लैजाने गरेको स्थानीय धनबहादुर ऐडीले बताए । ‘हामी हिमालका मान्छे, हिमाली हिरा अर्थात् यार्सागुम्बाबाटै जीविका चलाउँछौं, वर्षमा दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ’ उनले भने ।

अनेक अप्ठ्यारा छिचोलेर संकलन गरिएको यार्साको बिक्री भने सजिलै हुन्छ, महँगो मूल्यमा । नेपालको यार्सा चीन, भारत, हङकङ र तिब्बततर्फ निर्यात हुन्छ । एक महिना पाटन बस्न सके वर्षभरीको खर्च जुट्छ । यार्सागुम्बा जडिबुटीमध्येकै महङ्गो वस्तु हो । यार्सा अहिलेको मूल्य अनुसार प्रतिकिलो आठ लाख रूपैयाँसम्म बिक्री हुने स्थानीय अन्दाज थामीले जानकारी दिए । केही वर्षयता यार्साको मूल्य भने घटेको छ । पहिले प्रतियार्सा एक हजार रूपैयाँमा बिक्री हुन्थ्यो, अहिले तीन सयदेखि पाँच सय रूपैयाँमा बिक्री हुने गरेको छ ।

वैशाख अन्तिमदेखि यार्सा संकलनको समय सुरु हुन्छ । स्कुले विद्यार्थीदेखि महिला–युवा सबै पाटन पुग्छन् । यार्सा टिप्नका लागि भिरपाखा चढ्दै र हिउँ छिचोल्दै डुल्नु पर्ने हुन्छ । मौसम प्रतिकूल भएमा निकै जोखिम हुन्छ । तर जोखिम मोलेरै यार्सा खोज्न हिमाल उक्लिछन् । हिँमपहिरो, हावाहुरी, चट्याङ, असिनाको डर हुने स्थानीय निर्माया थामीले बताइन् । यार्सा टिप्न गएकाहरू बेलाखबत हिमपहिरोमा पुरिने गरेका छन् । सबैको जीवन पाटनबाट सकुशल फर्कदैन । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार वैशाख अन्तिम साता मुगु पाटनको हिम पहिरोमा परी जुम्ला पातारासीका तीन जनाको मृत्यु भएको छ ।

जुम्ला लगायत माथिल्लो कर्णालीका नागरिक यतिबेला यार्सा संकलन गर्न पाटन पुगिरहेका छन् । जडिबुटी संकलन गरेर जीविकोपार्जन गर्ने गाउँबस्ती रित्तो बन्दैछन्, पाटन भरिभराउ हुँदैछ । माथिल्लो कर्णालीका जुम्ला, मुगु, डोल्पामा यार्सा पाइन्छ । जुम्लाको पानसय पाटनमा छिमेकी जिल्ला जाजरकोटबाट पनि यार्सा संकलनका खातिर आउने गरेको तातोपानी गाउँपालिका–७ सर्मीका विनोद अधिकारीले बताए । ६ महिना किरा र ६ महिना वनस्पतिका रूपमा प्राण अस्तित्वमा राख्ने जडिबुटी नै यार्सा हो ।

चोरी निकासीले एकातिर राजस्व छली भएको छ, अर्कोतिर मानवीय क्षति समेत हुने गरेको छ । यद्यपि हिमाली जिल्लाका नागरिकका लागि यार्सासहितका जडिबुटी नै आम्दानी र जीविकोपार्जनको प्रमुख स्रोत बन्ने गरेको छ । जुम्लाबाट यार्सा, सेतोचिनी, धुपी लगायतका जडिबुटी गरि सरदर २० टनसम्म निर्यात हुने गरेको वन डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०८०, शुक्रबार ०५:०१